दाहालसँग परराष्ट्रमन्त्री रुष्ट

57
  •  
  •  
  •  

काठमाडौं ३ साउन ।
भारत भ्रमणमा रहेका एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले त्यहाँको उच्च नेतृत्वसँगको भेटमा नयाँदिल्लीस्थित नेपाली राजदूत दीपकुमार उपाध्यायलाई सहभागी नगराएपछि उच्च राजनीतिक नेतृत्वले पालना गर्नुपर्ने कूटनीतिक आचारसंहिताबारे नेपालमा बहस सुरु भएको छ ।

प्रमुख प्रतिपक्षी दलका नेता तथा पूर्वप्रधानमन्त्री दाहालले भारतीय राष्ट्रपति प्रणव मुखर्जी, प्रधानमन्त्री नरेन्द्र मोदी र गृहमन्त्री राजनाथ सिंहसँग अलगअलग भेटे । तर ती कुनै भेटमा नेपाली राजदूत या दिल्लीस्थित नेपाली नियोगका प्रतिनिधिलाई सहभागी गराएनन् ।

‘ती भेटहरूअघि पूर्वप्रधानमन्त्रीज्यूसँग मेरो कुरा भएको थियो । उहाँले शान्तिप्रक्रियासँग जोडिएका कतिपय कुरामा म एक्लै भारतीय नेतृत्वसँग भेट्छु भन्नुभएअनुसार म सहभागी नभएको हुँ’, राजदूत उपाध्यायले नयाँदिल्लीबाट अन्नपूर्णसँग टेलिफोनमा भने । उपाध्यायले नेपालका राजनीतिक नेताहरूमा बिस्तारै सुधार आउन सक्ने भन्दै व्यंग्यसमेत कसे ।

सबै उच्चस्तरीय भेटमा दाहाल पत्नी सीता भने सहभागी थिइन् । उच्च भेटमा भारतीय राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभल, विदेशसचिव एस जयशंकर, काठमाडौंस्थित भारतीय राजदूत रन्जित रे, भारतीय विदेश मन्त्रालयमा नेपाल डेस्क हेर्ने सहसचिव अभय ठाकुरलगायत भारत सरकारका उच्च पदस्थ अधिकारी सहभागी थिए ।

भेटहरूपछि दाहालले राजदूत उपाध्यायसँग भेटबारे सामान्य चर्चा गरेका थिए । उपाध्यायका अनुसार दाहालले उच्च नेताहरूसँगको भेटपछि आफूलाई असहज भएको बताएका थिए ।

‘सबै भारतीय अधिकारीहरू भेटहरूमा सबै बस्ने तर हाम्रो तर्फबाट म एक्लै बस्दा मलाई अप्ठ्यारो महसुस भयो,’ दाहाललाई उद्धृत गर्दै उपाध्यायले भने । दाहालले भारतीय विदेशमन्त्री सुष्मा स्वराज र नेताहरू केसी त्यागी, शरद यादव, डीपी त्रिपाठीलगायतसँगका भेटमा भने राजदूत उपाध्यायलाई सहभागी गराए ।

परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेले एमाओवादी अध्यक्ष दाहालले दिल्लीका उच्च भेटमा राजदूत उपाध्यायलाई सहभागी नगराएकामा आक्रोश पोखे ।

काठमाडौंमा पत्रकारहरूसँग परराष्ट्रमन्त्री पाण्डेले भने, ‘अर्को मुलुकमा गएर त्यहाँको कूटनीतिक परम्परा पूरै पालना गरेर भेटघाट गर्न हाम्रा नेताले मुलुकभित्रचाहिँ कूटनीतिक मर्यादाको ख्याल नगर्ने प्रवृत्ति ठीक होइन । पाण्डेले कूटनीतिक मर्यादा सबैभन्दा धेरै राजनीतिक नेतृत्वले मिचेको बताए ।

दिल्लीस्थित नेपाली दूतावासले दाहालको मंगलबार सुरु भएको भ्रमण कार्यक्रमको जानकारी सोमबार राति फ्याक्समार्फत पाएको थियो । भ्रमणबारे दाहालले परराष्ट्रलाई लिखित जानकारी भने गराएका थिए । राजदूत उपाध्यायलाई भारतीय विदेशमन्त्रीसँगको बैठकपछि लन्चमा मात्र बोलाइएको थियो ।

‘राष्ट्रपति, प्रधानमन्त्रीदेखि कुनै पनि राजनीतिक दल र सार्वजनिक पद धारण गरेका व्यक्तिले कूटनीतिक आचारसंहिता अनिवार्य रूपमा पालना गनुपर्छ,’ परराष्ट्रमन्त्री पाण्डेले भने । कूटनीतिक मर्यादाविपरीत अहिले पनि राजनीतिक नेतृत्वले विदेशी राजदूत र कूटनीतिक प्रतिनिधिहरूलाई भेटिरहेकोमा मन्त्री पाण्डेले रोष व्यक्त गरे ।

‘विगतमा जारी कूटनीतिक आचारसंहिता थप परिमार्जनसहित जारी गर्न लागिएको छ,’ मन्त्री पाण्डेले भने । नयाँ आचारसंहिताले राजनीतिक दलहरूलाई समेत आफ्ना कूटनीतिक गतिविधि सञ्चालन गर्दा मर्यादित बनाउने विश्वास मन्त्री पाण्डेको थियो । अबका दिनमा दलका नेताहरूसँग मन्त्रालयले कूटनीतिक आचारसंहिताबारे छलफल गर्ने उनले बताए ।
अन्नपूर्णपोष्टबाट


  •  
  •  
  •