काठमाडौं १६ भदौ ।
सत्तापक्ष र आन्दोलनकारी शक्तिका बीचमा देखिएको तिक्तता मेटाई संविधान निर्माणमा देखिएको सकस फुकाउन प्रमुख प्रतिपक्षी दल एमाओवादीले मध्यस्थताको भूमिका निर्वाह गर्ने प्रयास थालेको छ।
संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा, थरुहट-थारूवान संयुक्त संघर्ष समितिका पदाधिकारी र सत्तापक्षका कांग्रेस-एमालेसँग छुट्टाछुट्टै वार्ता गरेर एमाओवादीले यस्तो प्रयास थालेको हो। आन्दोलनकारी र सत्तापक्षका नेतासँग छुट्टाछुट्टै छलफल गरी संविधान निर्माणमा देखिएको सकस फुकाउन प्रयत्न गरिएको एमाओवादीका एक नेताले बताए।
तराईमधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरसँग मंगलबार अपराह्न वार्ता गरेका एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले वरिष्ठ नेता बाबुराम भट्टराईसहित साँझ प्रधानमन्त्री सुशील कोइरालासँग छलफल गरेका छन्। आफ्ना पार्टीका शीर्ष नेतालाई मंगलबार आफ्नै निवास लाजिम्पाटमा बोलाएर दाहालले संविधानसभाबाट संविधान घोषणा गर्ने एजेन्डा विफल हुने खतरा बढेको बिश्लेषण गर्दै सत्तापक्ष र आन्दोलनकारीका बीचमा छलफल गर्ने रणनीति बनाएका हुन्।
‘राष्ट्रिय समस्या समाधान गरेर संविधानसभाबाट संविधान घोषणा गराउन मधेसवादी दल र थारू आन्दोलनकारी नेतासँग छलफल गरी कांग्रेस-एमालेसँग गम्भीर वार्ता गर्ने निर्णय गरेका छौं,’ एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले अन्नपूर्णसँग भने। पाँच दिनभित्र आन्दोलनकारीसँग छलफल गरेर उनीहरूका गुनासा सम्बोधन गरी संविधान निर्माण प्रक्रियामा अधिकतम सहमति जुटाउने प्रयास दाहालले थालेका हुन्।
सात प्रदेशको सीमांकनपछि तराईमधेसमा भइरहेको हिंसात्मक आन्दोलनका विषय सम्बोधन गरेर संविधानसभाबाट संविधान घोषणा गराउन अर्को सहमतिको आवश्यकता परेको एमाओवादीको ठम्याइ छ।दाहालले तराईमधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष ठाकुर र संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवसँग टेलिफोन वार्ता गरेर उनीहरूलाई काठमाडौं बोलाएका हुन्।
ठाकुरले मंगलबार अपराह्न दाहालसँग भेटेर तराईमधेसमा भइरहेको आन्दोलन, आन्दोलनकारीले उठाएका विषय र विगतमा भएका सहमति स्मरण गराउँदै कांग्रेस-एमालेलाई सहमतिमा ल्याउन दबाब दिनुपर्नेमा जोड दिएका थिए। फोरम अध्यक्ष यादव सोमबार नै वार्ताका लागि काठमाडौं आइपुगेका छन्।
अन्नपूर्णपोष्टबाट