चिनियाँ राष्ट्रपतिलाई प्रचण्डको पत्र

118
  •  
  •  
  •  

काठमाडौं १० चैत ।
मुलुकमा संघीयता विवाद पेचिलो बन्दै गएका बेला यसबारे चिनियाँ नेताहरूसँग परामर्श गर्न एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल सोमबार अपराह्न चीन गएका छन्।दाहालले तीन महिनाअघि राज्य पुनर्संरचना अर्थात् संघीयताबारे चिनियाँ राष्ट्रपति सी जिनपिङलाई लेखेको पत्रबारे त्यहाँ छलफल गर्ने स्रोतले बतायो।

पत्रमा दाहालले नेपाल जातीय पहिचानसहित संघीयतामा जाँदा छिमेकीलाई कुनै सुरक्षा चुनौती नआउनेमा आश्वस्त पार्न खोजेका छन्। चीन पहाडमा धेरै र मधेसमा थोरै प्रदेशको विपक्षमा देखिँदै आएको छ।

चिनियाँ अधिकारीहरूले उत्तर-दक्षिण जोडिने थोरै प्रदेशका पक्षमा विभिन्न राजनीतिक दलका नेताहरूसमक्ष मत रा दै आएका छन्। एमाओवादी नेतृत्वको विपक्षी गठबन्धनले जातीय पहिचानसहित १० प्रदेशको संघीय संरचना बनाउन खोजेको छ। सत्तासीन दल कांग्रेस-एमाले एमाओवादीको यो अवधारणासँग सहमत छैनन्। दलहरूबीच यसमा कुरा नमिल्दा संविधान जारी हुन सकेको छैन।

दाहालले पत्रमा जनताबाट प्रत्यक्ष निर्वाचित राष्ट्रपति रहने शासकीय स्वरूप र विभिन्न जनजातिको पहिचान झल्किने गरी प्रदेश बनाउँदा राष्ट्रिय एकता बलियो हुने व्यहोरा उल्लेख गरेको स्रोतको दाबी छ।

काठमाडौंबाट पत्नी सीता र पार्टी महासचिव कृष्णबहादुर महरालाई लिएर चीनको दक्षिणपश्चिम युनान प्रान्तको कुनमिङ लागेका दाहालले त्यहाँ राष्ट्रपति सीका प्रतिनिधिसँग छलफल गर्नेछन्।

‘दाहालसँगको छलफल सकारात्मक भए उनलाई त्यहाँबाट बेइजिङ लगेर राष्ट्रपति सीसँग भेट गराउने सम्भावना छ’, स्रोतले भन्यो, ‘व्याख्या सकारात्मक नलागेको अवस्थामा दाहाल कुनमिङबाटै स्वदेश फर्कने अवस्था पनि हुनसक्छ।’

दाहालले दुई महिनाअघि काठमाडौं आएका चिनियाँ विदेशमन्त्री वाङ यीसँग पनि आफूले राष्ट्रपति सीलाई पठाएको पत्रबारे छलफल गर्न चाहेका थिए। तर वाङले त्यतिबेला दलका नेताहरूसँग छुट्टाछुट्टै भेट गरेनन्।

संघीयताबारे चिनियाँ कूटनीति बुझेर एमाओवादीले पहिलो संविधानसभामा हिमाली क्षेत्रका भोटे र लामाका लागि प्रस्तावित जडान प्रदेश दोस्रो संविधानसभामा आउँदा हटाएको छ। दाहालको पत्रमा दक्षिणी छिमेकी भारतबारे केही उल्लेख छैन। तर राष्ट्रपति सीलाई उनले पठाएको पत्रबारे भारतीय अधिकारी जानकार छन्।

स्रोतका अनुसार एक मधेस एक प्रदेशका पक्षमा वकालत गरिरहेका मधेस केन्द्रित दलसँग सहकार्य गरिरहेका दाहालसँग चिनियाँ अधिकारीले ‘धेरै बुझ्ने र थोरै बोल्ने’ रणनीति अवलम्बन गर्न सक्छन्।

चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागको निमन्त्रणामा दाहाल चीन गएका हुन्। उनले चीन जानुअघि विमानस्थलमा पत्रकारसँगको कुराकानीमा आफूले राष्ट्रपति सीलाई लेखेको पत्रबारे भने केही बताएन्।

संविधान निर्माणबारे चिनियाँ चासो तपाईंले बुझ्ने र नेपालको अवस्था तपाईंले बुझाउने काम त होला नि? भन्ने जिज्ञासामा उनले भने, ‘यताको स्थितिका बारेमा हामीले यथार्थ जानकारी गराउने कुरा हो। उहाँहरूका सुझाव पनि होलान्। ती सुझाव हामीलाई सही लाग्यो भने लिने हुन्छ, गलत लाग्यो भने नलिने हुन्छ।’

आफू चार दिनका लागि कुनमिङ जान लागेको दाहालले बताए। उनको भ्रमण लम्बिने वा त्यतिमै सीमित रहने कुनमिङमा हुने छलफलले निर्धारण गर्ने स्रोतले जनायो। ‘त्यहाँ सामान्यत: दुई देशका पार्टी र दुई देशको सम्बन्ध, नेपालको वर्तमान राजनीतिक परिस्थितिबारे छलफल हुनेछ।

यसले सम्बन्ध थप विस्तार र नेपालको संक्रमणकालबारे एकअर्काको धारणा बुझ्ने र यसलाई सफल पार्ने वातावरण बनाउन पनि सहयोग पुग्छ भन्ने अपेक्षा छ। त्यही अपेक्षाका साथमा हामी जाँदैछौं’, त्रिभुवन विमानस्थलमा दाहालले भने।

चिनियाँ राष्ट्रपति सीसँग भेटवार्ता हुन्छ कि भन्ने जिज्ञासामा उनले भने, ‘राष्ट्रपतिसँग भेट हुँदैन। कुनमिङ मात्रै जाने हुनाले सरकारी भेटघाट हुँदैन। पार्टीगत भेटघाट नै बढी हुन्छ।’ राष्ट्रपति सी चिनियाँ क युनिस्ट पार्टीका महासचिव पनि हुन्।

नेपालको राजनीतिको गाँठो चीनमा गएर फुक्छ त? भन्ने अर्को जिज्ञासामा दाहालले भने, ‘त्यो होइन, नेपालको राजनीतिको गाँठो नेपालीले नै फुकाउनुपर्छ तर पनि यसमा हाम्रा दुवै छिमेकी (चीन र भारत) को सहयोग अपेक्षित छ। त्यो सहयोग जुटाउनु हाम्रै दायित्व हो। छिमेकीहरूको सद्भाव र हुन सक्ने सहयोग जुटाउने पनि हाम्रो कर्तव्यभित्रै पर्छ।’

नेता बाबुराम भट्टराई भारतबाट फर्किएलगत्तै तपाईं चीन जानुको केही अर्थ छ कि? भन्दा दाहालको जबाफ थियो, ‘बिल्कुल सामान्य संयोग परेकोमात्रै हो, केही अर्थ छैन।’

कांग्रेस-एमाले राज्य पुनरर्संरचनामा लचिलो हुनेबित्तिकै सहमतिमा संविधान निर्माण हुने दाहालले बताए। उनले भने, ‘माघ ५ गते हामीले शासकीय स्वरूपको एउटा ठूलो गाँठो फुकाएकै हौं।

शासकीय स्वरूपमा हामीले प्रक्रियामा जान सहमति दिएकै थियौं। राज्य पुनर्संरचनामा कांग्रेस-एमालेबाट केही लचकता अपेक्षा गरिएको थियो। त्यसो भइदिएको भए सहमति प्रक्रिया त्यहींबाट सुरु हुन्थ्यो।

अहिले पनि त्यो सम्भावना छ। सहमतिको विकल्प छैन।’ दाहालले सोमबार बिहान राजनीतिक परिस्थिति र आफ्नो चीन भ्रमणबारे राष्ट्रपति डा. रामवरण यादवसँग कुरा गरेका थिए। अन्नपूर्णपोष्टबाट


  •  
  •  
  •