चिनियाँ नेताको दाहालसंग ‘विशेष’ भेट

185
  •  
  •  
  •  

prachandaकाठमाडौं २ पुस ।
नेपालको भ्रमणमा रहेका चिनियाँ कम्युनिस्ट पार्टी अन्तराष्ट्रिय बिभागका उपमन्त्री छन फङ्गसिङले एमाओवादी अध्यक्ष पुष्पकमल दाहालसंग ‘विशेष’ भेट गरेका छन् । दाहाल निवास लाजिम्पाटमा बिहान साढे ८ बजे पुगेका छनले करिब साढे दुई घण्टा लाजिम्पाटमा बिताए ।

उनले दाहालसंग राजनीतिक र दुई देशको सम्बन्धका बारेमा मात्र कुरा गरेनन्, दाहालको दैनिकीबारे पनि गंभीर चासो राखे । दाहालसंगको भेटमा छन निकट नातेदारको रुपमा प्रस्तुत भएका थिए । चिनियाँ राष्ट्रपति सी जिनपिङको सन्देश लिएर आएका छनले दाहाललाई ‘असल मित्र’ को रुपमा हेरेको बताएका थिए । त्यसकारण उनी दाहालसंग पुरै अनौपचारिक रुपमा प्रस्तुत भएको लाजिम्पाट स्रोतले जनाएको छ ।

उपमन्त्री छनले बेलाबेला चर्चामा आइरने लाजिम्पाटस्थित दाहाल निवासको पुरै अवलोकन गरे । उनले दाहालको सयनकक्ष, भान्सा, खाने कोठा, पुस्तकालय, बैठक कोठाको पनि अवलोकन गरेका थिए । उनी दाहालको निवासका छतमा पुगेर तस्बीर खिचे । यसकासाथै उनले दाहालले नियमित खेल्ने टेबुल टेनिस, करेसाबारी, कुखुरा पालेको क्षेत्रको पनि अवलोकन गरे । दाहाल निवासका कोठाका भित्तामा युद्ध र शान्ति प्रक्रियापछि टांगिएका चित्र, तस्बीरबारे उनले जिज्ञासा रोखे । दाहालले उपमन्त्री छनलाई ‘जनयुद्ध सचित्र’ नाम पुस्तक उपहार दिएका थिए ।

‘विशिष्ठ भावानात्मक सम्बन्ध विकास गर्न तपाईको निवासको अवलोकन गर्ने विचार गरेको हु’ उपमन्त्रीले दाहाललाई धन्यवाद दिंलै भने, ‘तपाईको निवास अवलोकन गर्ने मौका दिनुभएकोमा मलाई असाध्यै खुशी लागेको छ ।’ चिनियाँ अधिकारीहरु बढी औपचारिकतामा समिति भएको बेला उनले दाहालसंग भने खुलेर कुराकानी गरे । ‘अध्यक्षको कार्यशैलीबारे उपमन्त्रील जान्न खोज्नुभयो, अध्यक्षले पनि खुला हृदयले स्वागत गर्नुभयो’ दाहालका स्वकीय सचिब चूडामणि खडकाले भने ।

उपमन्त्री छनले भेटको धेरै समय दुई कम्युनिस्ट पार्टीको सम्बन्धबारे खर्चेका थिए । एमाओवादीको सांगठनिक ढाँचा, पार्टी संचालनको कार्यशैली र अगामी बाटोबारे उपमन्त्री छनले जिज्ञासा राखेका थिए । दुई कम्युनिस्ट पार्टीको सम्बन्ध सुदृढ गर्न दाहाल र छनबीच लामो कुराकानी भएको छ । दुई नेताबीच आगामी दिनमा राजनीतिक र वैचारिक बहस गर्ने कुरा भएको छ । ‘सैद्धान्तिक र राजनीतिक विषयमा दुई पार्टीबीच बहस छलफल गर्ने कुरा पनि भयो’ भेटमा सहभागी महासचिब कृष्णबहादुर महराले भने, ‘त्यसका लागि गोष्ठी, छलफल र भ्रमण आदानप्रदान गर्ने कुरा भयो ।’ दाहालले चिनियाँ कम्युनिस्ट पार्टीको कार्यशैली र नेतृत्व विकासबारे आफ्नो गहिरो रुची भएको उल्लेख गर्दै आफूले पनि एमाओवादीको त्यो विधि र प्रणालीको विकास गर्न चाहेको बताए । छनले एमाओवादी ठमेल इकाइ समितिको समेत अवलोकन गरेका थिए । महराले दुई नेताबीच खुलेर कुरा भएको जानकारी दिए ।

‘हामीले चिनियाँ कम्युनिस्ट पार्टीबाट संगठन संचालन, नेतृत्व विकासबारे सिक्नुपर्छ’ दाहालको भनाइ थियो, ‘दुई पार्टीबीच यसबारे अनुभव आदानप्रदान गर्न जरुरी छ ।’ २०६७ कात्तिकमा चीन भ्रमणका क्रमम चिनिया कम्युनिस्ट पार्टी (सीपीसी) र एमाओवादीबीच सैद्धान्तिक सहमति भएको थियो । सि जिपिङ राष्ट्रपति भइसकेपछि एमाओवादी र सीपीसीबीच सम्बन्ध थप विकसित गर्न छनले दाहालसंग छलफल गरेका हुन् । छनले दाहाललाई चीन भ्रमणको निम्तो दिनुका साथै दुई पार्टीबीच हुने सम्बन्धले ठूलो अर्थ राख्ने बताएका थिए । उपमन्त्री छनले सीको छिमेकी नीतिबारे जानकारी दिंदै एमाओवादीले दुई देशको सम्बन्ध सुदृढ गर्न महत्वपूर्ण भूमिका खेल्ने बिश्वास व्यक्त गरेका थिए । ‘छिटोभन्दा छिटो संविधान बनोस् भनेर उपमन्त्रीले शुभकामना दिनुभयो’ महराले भने, ‘सहमतिका आधारमा संविधान निर्माण गर्ने पहल भइरहेको अध्यक्षले जानकारी दिनुभयो ।’

एमाले नेतासंग पनि छलफल

यसैगरी उपमन्त्री छन र एमाले नेताहरुबीच पनि कुराकानी भएको छ । एमाले महासचिब ईश्वर पोख्रेलका अनुसार एमाले र सीपीसीको सम्बन्ध विस्तारका साथै दुई देशका सम्बन्धबारे पनि सोमबार कुराकानी भएको छ ।

‘वार्तामा अध्यक्ष ओलीले चीन र नेपालबीच शदियौं पुरानो मित्रवत् सम्बन्ध एवं नेकपा -एमाले र चिनियाा कम्युनिष्ट पार्टीबीच तीसौं बर्ष पुरानो भाइचारा सम्बन्धको स्मरण गर्दै चिनियाँ कम्युनिष्ट पार्टीको नेतृत्वमा चीनले क्रान्ति तथा समाजवाद निर्माणमा प्राप्त गरेको सफलताप्रति खुसी तथा बधाई व्यक्त गर्नुभयो’ पोख्रेलद्वारा जारी विज्ञप्तीमा उल्लेख छ, ‘चिनिया समाजवादको सफलताले सोभियत सङ्घको विघटनपछि रक्षात्मक अवस्थामा धकेलिएको अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनमा आशा र विश्वास जगाएको, समाजवाद नै समृद्धि प्राप्तिको सही बाटो भएको पुनर्पुष्टि गरेको पनि बताउनुभयो ।’ अध्यक्ष ओलीले संविधान निर्माणका लागि भइरहेका पछिल्ला प्रयाशका बारेमा जानकारी गराउदै एमाले माघ ८ भित्रै संविधान निर्माण गरेर मुलुकलाई स्थायित्व, शान्ति र समृद्धिका दिशामा अगाडि बढाउन दृढ रहेको कुरामा जोड दिएका थिए ।
कान्तिपुरबाट


  •  
  •  
  •