प्रचण्ड र विजय गच्छदारको सँगै यात्रा, सँगै बास

133
  •  
  •  
  •  

हेटौडा, १८ कात्तिक ।
सिंहदरबारमा संवैधानिक समितिको बैठकका कांग्रेस एमालेको साझा प्रस्तावविरुद्ध पड्किएका एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) मधेशी जनाधिकार फोरम(लोकतान्त्रिक)का अध्यक्ष विजयकुमार गच्छदारसँगै विराटनगर आइपुगेका छन्।

प्रचण्ड र गच्छदार बुद्ध एयरको विमानमा सँगै विराटनगर विमानस्थलमा उत्रेका थिए। संचारकर्मीसँगको भेटमा दुवै कांग्रेस एमालेविरुद्ध निकै आक्रमक शैलीमा खनिए। कांग्रेस एमाले संघीयता भाड्ने षडयन्त्रमा लागेको आरोप लगाए।संचारकर्मीसँगको छोटो कुराकानीपछि प्रचण्ड र गच्छदार गाडीमा झापातर्फ लागेका थिए।

आजै इलाम पुग्ने कार्यक्रम रहे पनि सुरुंगास्थित एमाओवादी कार्यकर्ता राम मैनालीको घरमा प्रचण्ड र गच्छदार बस्ने कार्यक्रम रहेको सुरक्षा स्रोतले बतायो।भोली इलाम पुगेर दुर्घटनामा मृत्यु भएका परिवारलाई भेट्ने र समावेदना व्यक्त गर्ने कार्यक्रम छ। पाँचथरमा मंगलबार २२ दलीय मोर्चाले आयोजना गर्ने विरोध सभामा प्रचण्ड तथा गच्छदार सहभागी हुन कार्यक्रम छ।

विराटनगर विमानस्थलमा प्रचण्डले एमाले र काँग्रेस २०४७तिर फर्किएर संघीयता भाँड्ने दिशामा अग्रसर भएको आरोप लगाए। दुवै पार्टीले संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिमा प्रस्तुत गरेको संघीयता, शासकीय स्वरुप, निर्वाचन र न्याय प्रणालीको प्रस्ताव कुनै हालतमा मान्य नहुने पनि बताए। प्रचण्डले भने,‘उहाँहरुले विगतको सहमतिलाई लत्याउँदै हाम्रो नाडी छाम्न प्रस्ताव ल्याएजस्तो छ । हामी जनताका माझ गएर जवाफ दिन्छौं ।’

उनले धेरै बलिदान गरेर स्थापित गरेको संघीयताको एजेन्डालाई धरासयी पार्न नदिने बताए। ‘संघीय गणतन्त्र बनाउने सहमति नै लत्याउने दुस्साहस हुँदैछ,’प्रचण्डले भने,‘उनीहरु २०४८ तिर गए हामी २०५२ तिर जान्नौं बरु जनतासमक्ष गएर परिवर्तनको विरोध कसले गरेको हो भन्ने बुझाउँछौं।’ साबिकको १४ अञ्चललाई ७ अञ्चल बनाउने र ५ विकास क्षेत्रलाई बढाएर ७ प्रदेश बनाउने खेलमा एमाले काँग्रेस लागेको बताउँदै प्रचण्डले भने,‘उनीहरुको प्रस्ताव कुनै हालतमा मान्य छैन् । ५ विकास क्षेत्रलाई ७ बनाउँदैमा संघीयता हुँदैन्।’

बाइस दलीय मोर्चाको आन्दोलन हिसांत्मक नभई शान्तिपूर्ण हुने बताउँदै प्रचण्डले प्रक्रियाको धम्की दिएर मात्र राजनीतिक परिवर्तनको यत्रो ठूलो उपलब्धि संस्थागत हुन नसक्ने बताए । उनले भने,‘संघीयता जनताको माग भएकोले यसलाई जनताले नै टुंगो लगाउनु पर्छ । संविधान सभा भित्र सहमति नभए बाहिर जनताले सहमति गर्ने छन्।’

मधेशी जनाधिकार फोरम(लोकतान्त्रिक)का अध्यक्ष विजयकुमार गच्छदारले सहमतिको आधारमा माघ ८ मै संविधान आउनु पर्ने बताउँदै एमाले र काँग्रेसले प्रक्रियामा जाने भन्दै धम्की दिनुको अर्थ नरहेको बताए । उनले भने,‘रोक्न अधिकार हामीलाई छैन् तर यस्तै अडानले मुठभेडको अवस्था आउन सक्छ।’ २२ दलीय मोर्चा सहमतिको आधारमा संविधान आउनु पर्ने पक्षमा रहेको गच्छदारले स्पष्ट गरे । एमाले र काँग्रेसले सम्वाद समितिमा साझा रुपमा ल्याएको प्रस्ताव मान्य नभएको बताउँदै उनले भने,‘प्रस्ताव प्रस्ताव मात्रै हो यसलाई मान्नै पर्छ भन्ने छैन्। हामी यसलाई मान्दैनौं।’ अन्नपूर्णपोष्टबाट


  •  
  •  
  •