काठमाडौं २६ असार (ओएनएस) : माओवादी स्थायी समिति बैठकले नेता बाबुराम भट्टराईले पार्टी विभाजन गर्न खोजेको निष्कर्ष निकाल्दै तत्काल पार्टी जोगाउन मध्यमार्ग खोज्ने निर्णय गरेको छ।
भट्टराई पक्षले समानान्तर कमिटी बनाएको विषयमा छानबिन गर्ने र भट्टराईसँग निरन्तर संवाद गर्न अध्यक्ष पुष्पकमल दाहाल, उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, पोस्टबहादुर बोगटी र कृष्णबहादुर महरा रहेको उच्चस्तरीय समिति बनाउने निर्णय बैठकले गरेको छ। ‘सकेसम्म पार्टीलाई एकताबद्ध बनाइराख्न लचकताका साथ प्रयास गरिँदैछ,’ स्थायी समिति सदस्य लोकेन्द्र बिष्टमगरले भने, ‘एम्बुसको बीचबाट अघि बढ्नुपर्ने अवस्था छ।’
कोषाध्यक्ष हरिबोल गजुरेलका अनुसार मध्यमार्गी बाटो खोजेर अगाडि बढ्ने र आगामी नीति योजनाका बारेमा शुक्रबार बस्ने स्थायी समिति बैठकले निर्णय गर्नेछ। उनले भने, ‘अध्यक्षले बाबुरामजीसँग भएका कुराकानी जानकारी गराउनुभयो। तत्कालका लागि मध्यमार्गी बाटो खोजेर अगाडि बढ्ने भनेर उठियो।’
भट्टराई पक्षले जिल्लादेखि केन्द्रसम्मका सबै कमिटी हेरफेर गर्नुपर्ने मागसहित समानान्तर कमिटी बनाउन थालेपछि स्थायी समितिको औपचारिक बैठक स्थगित गरी अनौपचारिक छलफल गर्न थालिएको थियो। भट्टराई पक्षसँगको अनौपचारिक छलफलले पनि कुनै समझदारी बनाउन नसकेपछि दाहालले बुधबार औपचारिक बैठक राखेका हुन्। ‘प्रचण्डको मृत्युमा आफ्नो जीवन देख्ने र बुर्जुवा वितण्डा देखाएर बाबुराम कमरेड पार्टी फुटाउने कसरतमा लागिरहनुभएको छ, त्यसबाट क्रान्तिका उपलब्धि संस्थागत हुँदैन’, बैठकमा सहभागी स्थायी समिति सदस्य गोपाल किराँतीले अन्नपूर्णसँग भने, ‘जनयुद्धका सहिदको रगतमाथि बाबुराम कमरेड खेलवाड गर्दै हुनुहुन्छ, हामी त्यसबाट उहाँलाई रोक्न चाहिरहेका छौं। उहाँ रोकिनु भएन भने उहाँले कम्युनिस्ट आन्दोलन पनि छोड्नुहुन्छ, पार्टी पनि फुटाउनुहुन्छ।’ स्थायी समितिमा समानान्तर कमिटी बनाउन दिन नहुने र बनाएमा कारबाही गर्नुपर्ने आवाज सदस्यहरूले उठाएका छन्।
भट्टराईले राष्ट्रिय सम्मेलनको विरोध गरेको, मधेसवादी, संघीय समाजवादी र नेकपा-माओवादीसहितका दलसँगको कार्यगत एकतालाई नरुचाएको, अन्तरसंघर्ष सञ्चालनसम्बन्धी आठबुँदे विधि नमानेको, आन्तरिक लोकतन्त्रको कुरा गरेर पार्टीभित्र गरिएको लोकतन्त्रको अभ्यासलाई नस्वीकारेको, पार्टीका प्रशिक्षण छोडेर हिँडेको आरोप पनि किराँतीले लगाए। ‘बाबुराम कमरेड कम्युनिस्ट रहनु हुन्न, पार्टीलाई बुर्जुवाकरण गरेर दोस्रो एमाले बनाउन चाहनुहुन्छ। बुर्जुवा पार्टी बनाउन नसके पार्टी छोडने कसरतमा लाग्नुभएको छ’, किराँतीले भने, ‘हामी पार्टीका निर्णय लागू गराउँदै बाबुराम कमरेडलाई पनि सँगै लैजान चाहिरहेका छौं।’ भट्टराईले संविधान निर्माणलाई भन्दा सरकारलाई प्राथमिकता दिएको आरोप पनि उनले लगाए। उनले भने, ‘उहाँ प्रधानमन्त्री बन्न खोजिरहनुभएको छ।
अन्नपूर्णपोष्टबाट