‘प्रचण्ड राष्ट्रपति, बाबुराम अध्यक्ष’

184
  •  
  •  
  •  

काठमाडौं २९ मंसिर ।
एमाओवादीमा अध्यक्ष पुष्पकमल दाहाललाई राष्ट्रपति र नेता बाबुराम भट्टराईलाई पार्टी अध्यक्ष बनाउने चाहना व्यक्त भएको छ। भट्टराईले पार्टी अध्यक्ष हुने चाहना व्यक्त गर्नु, नेतृत्व हस्तान्तरण गर्न सैद्धान्तिक रूपमा दाहाल तयार हुनु, कांग्रेस-एमालेबाट दाहाललाई राष्ट्रपति बन्न प्रस्ताव आउनु, सत्ता साझेदारी र संविधान निर्माण प्रक्रिया सँगसँगै टुंग्याउन राजनीतिक तहमा छलफल हुनुलाई एमाओवादी नेताहरूले भट्टराई पार्टी अध्यक्ष र दाहाल राष्ट्रपति बन्ने ‘वातावरण’ का रूपमा अथ्र्याएका छन्।
prachanda-baburam
एमाओवादी केन्द्रीय समितिको आइतबारको बैठकमा भट्टराईले पार्टी अध्यक्ष बन्ने चाहना व्यक्त गरेका थिए। बैठकमा दाहालले कांग्रेस-एमालेले संविधान निर्माणपछि आफूलाई राष्ट्रपति बन्न प्रस्ताव गरेको खुलासा गरेका थिए। एक केन्द्रीय सदस्यका अनुसार दाहाललाई भावी राष्ट्रपति बनाउन भट्टराईले तल, माथि, उत्तर-दक्षिण सबैतिर ‘लबिङ’ गरिरहेको बुझिन्छ। ‘दाहालले आफू राष्ट्रपति बन्ने अवस्थामा बाबुरामलाई नेतृत्व हस्तान्तरण गर्न खोजेको हुनसक्छ’, ती नेताले भने।

‘कांग्रेसले आफूलाई प्रधानमन्त्री, एमालेलाई सभामुख र मलाई राष्ट्रपति बनाउने प्रस्ताव ल्याएको छ। एमालेले पनि आफूलाई प्रधानमन्त्री, कांग्रेसलाई सभामुख र मलाई राष्ट्रपति बनाउने प्रस्ताव ल्याएको छ। हामीले त्यसलाई अस्वीकार गरेका छौं’, बैठकमा दाहाललाई उद्धृत गर्दै एक केन्द्रीय सदस्यले अन्नपूर्णसँग भने।

संविधान निर्माणपछिको सत्ता साझेदारीबारे राजनीतिक दलहरूबीचका छलफलमा त्यस्तो प्रस्ताव आएको दाहालले बताए। ‘कांग्रेस-एमालेले मलाई राष्ट्रपति बनाउने कुरामा हामी विवाद गर्दैनौं पनि भनेका छन्’, दाहालले भनेका थिए।

संविधानमा अपनत्व महसुस हुने गरी निर्माण प्रक्रियामा लाग्नुपर्नेमा दाहालले जोड दिएका थिए। ‘गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समावेशी समानुपातिकका मुद्दा हाम्रा हुन्। त्यसैले संविधान निर्माणमा हामीले नेतृत्व लिनुपर्छ’, दाहालले भनेका थिए।

माघ ८ पछिको राजनीतिक उथलपुथल र छलाङपूर्ण राजनीतिक स्थिति आएमा राष्ट्रिय सहमतिको सरकारमा जानुपर्ने अवस्था आउन सक्ने पनि दाहालले बताए। ‘तर माघ ८ भन्दाअगाडिको यथास्थितिमा हामी सरकारमा जाँदैनौं’, उनले भने।

दाहाल, भट्टराई, नारायणकाजी श्रेष्ठ र कृष्णबहादुर महराबीच तीन महिनायता भएका दुईपक्षीय, त्रिपक्षीय र बहुपक्षीय छलफलमा पार्टीमा नेतृत्व हस्तान्तरणको विषयले प्राथमिकता पाउँदै आएको छ।

‘बाबुरामजीले यो पार्टीको अध्यक्ष हुने इच्छा छ भनेर मुख खोल्नुभएको छ। पहिले किन भन्नुभएन त भन्दा यसअघि इच्छा थिएन भन्नुभयो। अब उहाँलाई पार्टी अध्यक्ष बनाउने नबनाउने हामी छलफल गरौं’, दाहालले बैठकमा भने।

अर्का एक नेताका अनुसार पार्टी एकता जोगाउनका लागि दाहालले नेतृत्व हस्तान्तरणको सैद्धान्तिक प्रस्ताव ल्याएका हुन्। ‘नेतृत्व हस्तान्तरणको विषय आएपछि स्वाभाविक रूपमा दोस्रो नेताका रूपमा बाबुरामजी आउनुहुन्छ’, ती नेताले भने।

अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलन नेतृत्वको मामिलामा चुकेको र आफ्नो पार्टी पनि सरकारमा गएपछि ‘बेहाल’ अवस्थामा पुगेको दाहालले बताएका थिए। २०७२ माघ तेस्रो साता विशेष महाधिवेशनसम्म पुग्दा जनवादी क्रान्तिलाई पूर्णता दिँदै समाजवादी क्रान्तिको दिशामा पार्टीलाई अगाडि बढाउन वैचारिक चिन्तन गरिनुपर्ने आवश्यकतामा पनि दाहालले जोड दिए।

नेकपा-माओवादीसँग पार्टी एकता हुन सकेमा एकता महाधिवेशन गर्नुपर्ने अवस्था आउन पनि सक्ने दाहालले बैठकलाई जानकारी गराएका थिए। ‘कतिपय जिल्लामा विवाद मिलाउनुपर्नेछ। ती विवाद मिलाइन्छ र विवाद नरहेका जिल्ला कमिटी कायमै रहन्छन्’, स्थायी समिति सदस्य अग्नि सापकोटाले भने।

केन्द्रीय सदस्य प्रकाश पोखरेलका अनुसार अध्यक्ष दाहालले बैठकमा पेस गरेको पाँचबुँदे प्रस्तावमा अध्ययन गरी पुस १ गते अर्को बैठकमा छलफल हुनेछ। दाहालको संक्षिप्त प्रतिवेदनमा ‘पार्टी कार्यदिशाको समग्र व्याख्या र परिमार्जन र संगठनमा नयाँ गति पैदा गर्न तथा नेतृत्व हस्तान्तरण र रूपान्तरणसम्बन्धी समग्र मान्यताको विकासका निम्ति महाधिवेशनको योजनाबद्ध तयारीमा’ लाग्ने उल्लेख छ।
दाहालले कांग्रेस-एमालेले संविधान निर्माणपछि आफूलाई राष्‍ट्रपति बन्‍न प्रस्ताव गरेको खुलासा गरेका थिए। दाहालले आफू राष्‍ट्रपति बन्‍ने अवस्थामा भट्टराईलाई पार्टी नेतृत्‍व हस्तान्‍तरण गर्न सक्‍छन्।
महाधिशवेशनका लागि नयाँ अनुसन्धान, बहस र तयारी केन्द्रीय समितिले गर्ने, केन्द्रीय स्तरको दैनिक कार्य सञ्चालनको जिम्मा वैचारिक बहस व्यवस्थापन समितिलाई दिने, महाधिवेशन र पार्टी एकतालाई केन्द्रमा राखेर जनवर्गीय संगठन र मोर्चाहरूको कार्यविभाजन हेरफेर गर्ने, जनवर्गीय संगठन र मोर्चाहरूका रोकिएका सम्मेलन असारभित्र गर्न प्रस्ताव गरिएको छ। महाधिवेशनका लागि असारभित्र दस्ताबेज लेख्ने, अर्को वर्ष पुसभित्र महाधिवेशन प्रतिनिधि छनोट गर्ने उल्लेख छ।

केन्द्रीय समितिअघि बसेको स्थायी समितिको बैठकमा दाहाल र भट्टराईका बीचमा भएको समझदारीलाई नेताहरूले ‘तपाईंहरू मिल्दा हामी मिलिदिएकै छांै। तपाईंहरू झगडा गर्दा हामीले पनि झगडा गरिदिएकै छौं। अव फेरि मिलेर अगाडि बढ्नुहुन्छ भने ठिकै छ’, भन्ने जबाफ दिएका थिए। अन्नपूर्णपोष्टबाट


  •  
  •  
  •