काठमाडौँ, २४ साउन (ओएनएस) : पार्टी भीत्र देखिएको विबाद समाधान गर्न एकीकृत नेकपा माओवादीका शीर्ष नेताबीच शनिवार भएको बैठकपनि निश्कर्षहीन भएको छ ।
अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निबास लाजिम्पाटमा प्रचण्ड र डा बाबुराम भट्टराईबीच भएको छलफल बिना निश्कर्ष सकिएको हो । आईतबार पुनः छलफल गर्नेगरी भट्टराई बाहिरिएका थिए ।
पार्टी भीत्र देखिएको विबाद कसरी समाधान गर्ने भन्ने बिषयमा दुइ नेताबीच भएको छलफल सकारात्मक रहेको प्रचण्ड निकट स्रोतले दाबी गरेको छ । भट्टराई पक्षले भने कुनै सहमति नभएको बताएको छ ।
आईतबार बिहान भट्टराईको निवास सानेपामा दुई नेताबीच छलफल हुने तय भएको प्रचण्डका सहयोगीहरुले बताएका छन् । पार्टी भीत्र देखिएको विबाद समाधान गर्न उपाध्यक्ष नारायाणकाजी श्रेष्ठ समेत सक्रिय छन् ।
जिल्लामा समानान्तर कमिटि गठन गरेको भन्दै भट्टराई पक्षका केन्द्रीय सदस्य गंगा श्रेष्ठ र रामरिझन यादवलाई निलम्बन गरिएपछि माओवादी भीत्रको विबाद उत्कर्षमा पुगेको छ ।