‘बाबुरामले राष्ट्रद्रोह गरे’

90
  •  
  •  
  •  

काठमाडौं ११ फागुन ।
एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहालले देश नाकाबन्दीले संकटमा परेका बेला बाबुराम भट्टराईले पार्टी छाडेर ‘राष्ट्रद्रोह गरेको’ आरोप लगाएका छन् ।

‘बुर्जुवा नै भए पनि देशले दु:ख पाएको बेला मिलेर दु:खको सामना गरौं भन्छन् । उहाँले त देशमा नाकाबन्दी, ठुला दबाब र हस्तक्षेप भएका बेला आन्दोलन र मार्क्सवाद नै छाडनुभयो,’ काठमाडौं जिल्लास्तरीय कार्यकर्ता भेलालाई सोमबार राजधानीमा सम्बोधन गर्दै दाहालले भने, ‘यत्रो पढेको मान्छेको बुद्धि अहिले आएर के भएको होला !’

पिएचडी गरेका कारण भट्टराई एमाओवादीको वरिष्ठ नेता नभएको भन्दै दाहालले उनीप्रति सम्मान गर्नेहरु समेत अहिलेको गतिविधिका कारण पछुताइरहेको दाबी गरे ।
नयाँ शक्तिमा प्रवेश गरेकी अभिनेत्री करिश्मा मानन्धरसँग भूमिगतकालमा आफ्नो नाम जोडेर कतिपयले प्रचार गरे पनि अहिले यथार्थ बाहिर आएको दाहालले बताए । ‘जनयुद्धका बेला मैले करिश्मालाई मन पराउँछु भन्ने बाहिर आयो, तर त्यो साँचो थिएन । कसैले मिडियामा हाल्देछ । त्यो आएको आयै भयो,’ उनले भने, ‘होइन भन्दा पनि कसैले नपत्याउने । अहिले सबैले देखे नि बाबुराम को रहेछन् भनेर ।’

भट्टराईलाई पार्टी छाडेकोमा पछुतो हुनेगरी पार्टी निर्माण गर्नुपर्ने दाहालले बताए । छिट्टै माओवादी घटकहरुसग वैचारिक र सांगठानिक एकतासमेत अघि बढ्ने उनको भनाई थियो । ‘कम्युनिस्टहरुलाई यसरी एकताबद्ध गर्दै जानुपर्छ कि बाबुरामलाई पनि ‘ओहो, गल्ती भएछ’ भन्ने लागोस्,’ उनले भने, ‘तपाईंहरु हेर्दै जानुहोला, बाबुरामका लागि कुनै ठाउँ हुदैन । एक दिन बाबुरामले त्यसरी सोच्ने दिन आएन भने, र उहाँको दिन आयो भने नेपाल खतरनाक ठाउमा पुग्छ ।’

एमाओवादीकै जोडबलका कारण समानुपातिक प्रतिनिधित्व लगायत थुप्रै मुद्दा नया संविधानमा सुनिश्चित भएको भन्दै दाहालले जनतामा प्रभावकारी सञ्चार गर्नुपर्ने बताए । पार्टीले संविधानका प्रगतिशील विषय बुझाउन लागे जनताले नबुझ्नुपर्ने ‘कुनै कारण नरहेको’ उनको तर्क थियो ।

‘कांग्रेसका, एमालेका, राप्रपाका वा माओवादीका जो आए पनि ३३ प्रतिशत महिलाको प्रतिनिधित्व सुनिश्चित भएको छ । त्यो माओवादीका कारण भएको हो भनेर जनतालाई दह्रोसग भन्नुपर्‍यो,’ उनले भने, ‘संविधानका उपलब्धि हामीले भनेजस्तो आएको छैन, हामीले जनवादी संविधान आयो भनेर पनि भनेका छैनौं । तर समाजवाद उन्मुख भनिएको छ, मधेसी, मुस्लिमलगायत सबैका आयोग बनेका छन् ।’

जनताले एमाओवादीलाई दोस्रो संविधानसभा चुनावमा तेस्रो दल बनाएर शिक्षा दिएको दाहालको स्वीकारोक्ति थियो । जनताले दण्डित पनि गरेको, तर राजनीतिको चाबी पनि थमाएको उनले जिकिर गरे । ‘जनताले हामीलाई ‘तिमीहरु गल्ती गर्दैछौ है भन्दै तेस्रो पार्टी बनाए, सबक पनि सिकाए । सुरुमा हामी त बडो निराश थियौं, ओहो, तेस्रो भइयो भनेर । तर अहिले बुझ्दै जादा त चाबी त हामीलाई नै जनताले दिएका रहेछन् । जनताले हामीलाई घृणा नै गरे त म भन्दिनँ, अलिकति दण्डित चाहि गरेकै हो,’ उनले भने, ‘जनताले हामीलाई चुनावमार्फत् भनेका छन्, चाबी चाहि तिमी नै राख, तर अहिलेलाई साइज घटाइदिन्छौं, अर्कोपल्ट विचार गर्नु । मैले त जनताको मतलाई त्यसरी नै बुझें, अब तपार्इंहरु पनि त्यसरी नै बुझ्नुस् ।’

कांग्रेस र एमालेलाई संविधान चाहिएर संविधान नबनेको भन्दै दाहालले सरकारको हतारोले संविधान बताएको तर्क गरे । ‘एमाले र कांग्रेसले संविधान चाहिएर कहाँ संविधान बनाएका हुन् र, उनीहरुले त छिटोछिटो सरकार बनाउनलाई पो संविधानका लागि हतार गरेका हुन्,’ उनले भने, ‘कांग्रेसलाई त यो गणतन्त्र नै मन परेको छैन । एमालेलाई पनि यो समानुपातिक समावेशी, धर्मनिरपेक्षता केही मन परेको छैन । जनताले हामीलाई चाबी दिएको छ भनेपछि अब हामीले पनि त चाबी खोल्नै पर्‍यो । हामीले एमालेलाई प्रधानमन्त्री दिएर, कांग्रेसलाई संविधान नदिने हो भने प्रधानमन्त्री खुस्काइदिन्छौं भनेर संविधानतर्फ डोर्‍यायौं ।’ संविधानका उपलब्धि संस्थगत गर्दै पार्टी निर्माणमा जुट्न दाहालले कार्यकर्तालाई अपिल गरेका छन् ।
कान्तिपुरबाट


  •  
  •  
  •