प्रचण्डभन्दा भट्टराई आक्रमक

453
  •  
  •  
  •  

काठमाडौं २३ माघ ।
एकीकृत नेकपा माओवादीसहित विपक्षी मोर्चाको आन्दोलन तयारीको आन्तरिक प्रशिक्षणमा अध्यक्ष पुष्पकमल दाहालभन्दा केन्द्रीय सदस्य बाबुराम भट्टराई बढी आक्रामक रूपमा प्रस्तुत हुन थालेका छन्।

पार्टीको ‘भावी अध्यक्ष’ का रूपमा चर्चामा आएका भट्टराईमा पछिल्लो समय ‘र्याुडिकल क्रान्तिकारी’ छवि देखा परेको प्रशिक्षणका सहभागीले बताउन थालेका छन्। सत्तापक्षीय र विपक्षी गठबन्धनभित्रकै नेताले पनि दाहालभन्दा भट्टराई बढी ‘आक्रामक र उग्र’ बनेको अनुभव गरिरहेका छन्।

‘जे उद्देश्यका निम्ति भनेर युद्ध र आन्दोलनमा लागिएको थियो, त्यो सबै गुम्ने स्थिति भएकाले स्वाभाविक रूपमा बाबुरामजी अरुभन्दा बढी कस्सिनुभएको हो,’ भट्टराईनिकट नेता देवेन्द्र पौडेलले भने, ‘संवैधानिक समितिको सभापति हुँदा जे देख्नुभयो र उहाँको समितिलाई कू गर्ने काम जसरी सत्तापक्षबाट गरियो, त्यसले स्वाभाविक रूपमा उहाँलाई आक्रोशित बनाएको छ।’ उनका अनुसार भट्टराईले यो आन्दोलनलाई ‘अन्तिम’ भनेका छन्।

सत्तारुढ दल नेपाली कांग्रेस, नेकपा एमालेसहित सभाध्यक्ष सुवासचन्द्र नेम्वाङप्रति पछिल्लो समय दाहालभन्दा बढी भट्टराई आक्रामक देखिएका छन्। ‘जनताको नजरमा कलंकित र बद्नाम भएर मर्नुभन्दा गोन्जालेज बनेर जीवनभर जेलमा बस्नु बेस भनेर अन्तिम लडाइँमा उत्रेको छु, तपाइँ पनि उत्रनुहोस्,’ भट्टराईले प्रशिक्षणमा भन्दै आएका छन्। सत्तारुढ कांग्रेस र एमाले माओवादीलाई सिध्याउन लागिपरेको निष्कर्षका साथ प्रशिक्षणमा प्रस्तुत हुने गरेका भट्टराई दाहालभन्दा बढी आक्रामक र उग्र बनेको कार्यकर्ता बताउँछन्।

एमाओवादी नेताहरुका अनुसार भट्टराई आक्रामक र उग्र हुनुमा तीनवटा कारण बढी प्रभावकारी रूपमा देखापरेका छन्।
‘पहिलो, जनवादी सत्ता हासिल गर्ने उद्देश्यसहित युद्धमा होमिएको पार्टीलाई शान्ति र संविधानमा ल्याउने आफ्नो कार्यदिशा असफल होला भन्ने ठूलो भय उहाँमा छ,’ दाहालनिकट ती नेताले भने, ‘दोस्रो, भावी अध्यक्षको दाबेदार भट्टराईलाई क्रान्तिकारी देखिनु पनि उत्तिकै जरुरी र अनिवार्य नै बनेको छ किनभने आन्दोलनको यो मञ्च प्रयोग गरेर भट्टराई प्रचण्ड र नारायणकाजीसहित उनीनिकट नेताको विश्वास जित्न चाहन्छन्।’
उनका अनुसार युद्धकालीन मागलाई शान्ति र संविधानको बाटोबाट पूरा गराउन नसकेको आरोप संविधान निर्माण भएलगत्तै आफूमाथि लाग्ने भय पनि भट्टराईमा देखा परेको छ।

संविधानसभाभित्र सहमति जुटाउने वैधानिक अधिकारप्राप्त संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिका सभापतिसमेत रहेका भट्टराई पछिल्लो समय आफूलाई ‘डोमिनेट फिल’ गर्न थालेका छन्।

‘आफ्नो समितिमार्फत बनाउनुपर्ने प्रश्नावली समिति सभाध्यक्ष सुवास नेम्वाङले नै घोषणा गरेपछि भट्टराईले अपमानित भएको महसुस गर्न थालेका छन्,’ अर्का माओवादी नेताले भने, ‘आफूलाई ‘बाइपास र डोमिनेट’ गर्नेगरी सभाध्यक्षसहित सत्तारुढ कांग्रेस र एमाले अघि बढेको आक्रोश उहाँमा बढी देखिन्छ।’ माओवादी स्रोतका अनुसार सभाध्यक्ष नेम्वाङ बिरुद्धको भण्डाफोर अभियान र ओलीलाई ‘मानशिक रोगी’ जस्तो तुच्छ आरोप लगाउन प्रस्ताव गर्ने र मोर्चावाट निर्णय गराउनका लागि भट्टराईले नै मुख्य जोडबल गरेका हुन।

माओवादी नेताको बुझाइअनुसार भट्टराई पछिल्लो समय आफ्नै उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र गठबन्धनका मुख्य सहयोगी मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारको पनि चर्कै आलोचना गरिरहेका छन्। गच्छदारले माघ ८ मा ल्याएको प्रस्तावलाई भट्टराईले ‘गच्छदारले ल्याएको सहमतिको प्रयास कांग्रेस र एमालेको हो, उनको हुँदै होइन’ भन्दै टिप्पणीसमेत गर्न भ्याएका छन्।

माघ ५ मा ‘भइसकेको सहमति’ जुटाउन मुख्य भूमिका खेलेका उपाध्यक्ष नारायणकाजी श्रेष्ठको घुमाउरो भाषामा संविधानसभा बैठकमार्फतै आलोचनासमेत भट्टराईले गरेका थिए। ‘कोही कोहीले मैले सहमति जुटाएँ, अब कुरो मिल्यो भनेर मिडियातिर फुकेछन्’ भन्दै भट्टराईले श्रेष्ठसँग घुमाउरो भाषामा आक्रोश नै पोखे। सो दिनभरि मिडियामा श्रेष्ठले संविधान लेखनमा दलहरुबीच सहमति निमार्णका लागि भूमिका खेलेको भनेर निकै चर्चा र परिचर्चा भएको थियो।

‘ज–जसले सहमति जुटाउने प्रयास गरेका छन्, भट्टराईले तिनैको बढी आलोचना गरिरहनुभएको छ,’ श्रेष्ठनिकट एक नेता भन्छन्, ‘सहमति जुटाउने वैद्यानिक अधिकार पाएका बाबुरामजी आफू पनि सहमति जुटाउन नसक्ने र अरुले सहमति जुटाउने कार्य गर्योा भने पनि पचाउन नसक्ने अवस्थामा हुनुहुन्छ, प्रकाशजी पनि त्यसैको सिकार बन्नुभएको हो,’ उनले भने। भट्टराई माघ ५ मा जुटेको सहमति संवैधानिक समितिमार्फत लैजान चाहन्थे तर सत्तारुढ दलले त्यसलाई अस्वीकार गरी सिधै संविधानसभा पूर्ण बैठकमा लाने प्रयास गरेपछि भट्टराईले अपमानित भएको महसुस गर्न पुगेका छन्,’ स्रोतले भन्यो।
नागरिकबाट


  •  
  •  
  •