रणनीतिसहित प्रचण्ड–बाबुराम उपत्यका छाड्दै

154
  •  
  •  
  •  

काठमाडौं १८ माघ (ओएनएस) :  प्रस्ताव समिति गठनको निर्णय फिर्ता नलिएसम्म सत्तापक्षसँग वार्ता नगर्ने अडानमा रहेका एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्न शुक्रबार उनकै निवासमा पुगे, प्रधानमन्त्री सुशील कोइराला । पूर्वसूचना नदिई लाजिम्पाटस्थित प्रचण्ड–निवासमा पुगेर कोइरालाले ‘गेट क्र्यास’ गरेर आएको बताएका थिए ।

प्रधानमन्त्रीले प्रचण्डको गेट क्र्यास गरेको भोलिपल्ट सुरु भएको एमाओवादी केन्द्रीय कमिटी बैठकले अब प्रधानमन्त्री मात्र होइन, अन्य सत्तापक्षका शीर्ष नेताहरूलाई ‘गेट क्र्यास’ गर्न नदिने निर्णय गर्ने भएको छ । स्रोतअनुसार, सत्ता पक्षले सहमतिका लागि गर्ने पहललाई निष्प्रभावी बनाउन एमाओवादीका शीर्ष नेताहरू प्रचण्ड र बाबुराम भट्टराई उपत्यका छाड्ने तयारीमा छन् । उनीहरु जनकपुर, विराटनगर, पोखरा लगायत सहरमा गएर कार्यकर्ता भेट्ने, विरोधको तयारी गर्ने कार्यक्रम तय हुने भएको छ । एउटा सहरमा एक दिनभन्दा बढी समय बिताउनेछन् ।

स्रोतअनुसार, वार्ताको जिम्मा दोस्रो तहका नेताहरूलाई छाडेर शीर्षस्थ नेतृत्व बाहिरिने योजना बनेको छ । सत्तापक्षले वार्तामा बोलाएमा कृष्णबहादुर महरा, वर्षमान पुन, टोपबहादुर रायमाझी लगायत नेताहरु सहभागी हुने एमाओवादी स्रोतको भनाइ छ ।

एमाओवादी स्थायी समिति सदस्य अग्निप्रसाद सापकोटाले पनि शीर्ष नेतृत्व केही समयका लागि बाहिरिन लागेको पुष्टि गरे । उनले भने, ‘कति समय कहाँ बस्ने भन्ने तय भइसकेको छैन । तर, मुख्यमुख्य सहरमा कार्यक्रम गर्ने गरी उहाँहरु जानुहुन्छ ।’

शनिबार सुरु भएको एमाओवादी केन्द्रीय समिति बैठक आज सकिने बताइएको छ । शीर्षस्थ नेतृत्वको कार्यक्रम पनि आजकै बैठकले तय गर्ने सापकोटाको भनाइ छ ।


  •  
  •  
  •