तीन दलले भारतबारे धारणा सार्वजनिक गर्ने

236
  •  
  •  
  •  

काठमाडौँ, ५ असोज(ओएनएस) : एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज बस्ने तीन दलको बैठकले भारतको रवैयाबारे धारणा सार्वजनिक गर्ने बताएका छन् ।

नयाँ संविधान जारी भएको उपलध्यक्षमा एमालेले आयोजना गरेको चियापान कार्यक्रममा पत्रकारहरूसँग संक्षिप्त कुरा गर्दै उनले भारतले गरेको नाकाबन्दी र पछिल्लो समय देखाईरहेको रवैयाप्रति आज बस्ने तीन दलको बैठकले धारणा सार्वजनिक गर्ने बताएका छन् । आज तीन दलले बैठक बस्ने तयारी गरिरहेका छन् ।

उनले भारतको पछिल्लो रवैया ठीक नभएको समेत बताए । उनले भारतले पछिल्लो समय गरेको व्यवहारले भारतलाई नै क्षति पुग्ने बताएका छन् ।

यस्तै राजधानीमा नै आयोजित एक अर्को कार्यक्रममा अध्यक्ष प्रचण्डले नेपालीको आत्मसम्मानमा आँच आउने काम नगर्न भारतलाई चेतावनी दिँदै नेपालीहरू आफ्नो आत्मसम्मानको रक्षा गर्न सक्षम रहेको बताएका छन् । उनले भारतले नेपालीको आत्मसम्मान गिराउने काम गरे त्यसको प्रतिवाद गर्न जे गर्नु परेपनि आफूहरू तयार रहेको बताएका छन् ।

उनले कुनै देशको हित र विरोधमा संविधान नबनाएको भन्दै नेपालीहरुको आत्मसम्मानका लागी संविधान जारी गरेकाले त्यसमा भारतले चिन्ता गर्नु पर्ने कुनै ठाउँ नरहेको पनि बताए । सबै नेपालीहरुले हातमा हात मिलाएर अगाडि बढे दुनियाको कुनै तागतले पनि छुन नसक्ने प्रचण्डको भनाई छ ।


  •  
  •  
  •