प्रचण्ड-सी जिनपिङ ग्रेटहलमा भेटवार्ता

317
  •  
  •  
  •  

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच बेइजिङमा भेटवार्ता भएको छ। बोआओ फोरममा सहभागी हुन चीन पुगेका प्रधानमन्त्री प्रचण्डले भ्रमणको चौथो दिन राष्ट्रपति सीसँग उनको कार्यालय ग्रेटहलमा भेटवार्ता गरेका हुन्।

चिनियाँ समय अनुसार दिउँसो ४:१० बजे सुरु भएको भेटवार्ता करिब ४५ मिनेट चलेको थियो। सी र दाहाल भेट नेपाल चीनबीच देखिएको असमझदारी हटाउन निर्णायक रहेको प्रतिनिधिमण्डलका सदस्यले जनाएका छन्।

हाइनान प्रान्तमा बोआओ एसिया फोरमलाई सम्बोधन गरेर शनिबार साँझ बेइजिङ पुगेका प्रधानमन्त्री प्रचण्डले आइतबार उपप्रधानमन्त्री वाङ याङ, सीपीसी अन्तर्राष्ट्रिय विभागका प्रमुख सोङ ताओसँग भेटवार्ता गरी नेपाल चीन सम्बन्धका विभिन्न पक्षमाथि छलफल गरेका थिए।

आइतबार बेइजिङ वैदेशिक अध्ययन विश्वविद्यालयमा ‘नेपाल चीन सम्बन्धः विकास तथा सम्वृद्धिका सम्भावनाहरू’ शीर्षकमा मन्तव्य दिएका दाहालले सोमबार चीनका व्यवसायीहरूसँग ‘बिजनेस राउण्डटेबल’ मा नेपालमा लगानी गर्न आग्रह गरेका थिए।

प्रधानमन्त्री दाहालको टोली अहिले बेइजिङबाट छेङ्दुतर्फ प्रस्थान गर्दैछ। भोली छेङ्दुबाट ल्हासामा एक रात बिताएर वुधबार काठमाडौँ फर्कने कार्यक्रम छ।


  •  
  •  
  •