प्रचण्ड र नारायणकाजीबीच आरोप प्रत्यारोप

251
  •  
  •  
  •  

काठमाडौं ९ पुस ।
संविधान जारी गर्ने डेडलाइन माघ ८ को पूर्वसन्ध्यामा संघीय लोकतान्त्रिक गणतान्त्रिक गठबन्धनले आमहडताल घोषणा गरेपछि एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल र उपाध्यक्ष नारायणकाजी श्रेष्ठ आरोपप्रत्यारोपमा उत्रिएका छन्। उपाध्यक्ष श्रेष्ठले आमहडतालजस्तो संघर्षको कार्यक्रम घोषणा गर्ने बेला नभएको भन्दै गठबन्धनका संयोजकसमेत रहेका दाहाललाई आपत्ति जनाएपछि पार्टीभित्र आरोपप्रत्यारोप सुरु भएको हो।

कांग्रेस-एमालेले बहुमतबाट संविधान जारी गराउने गरी प्रक्रिया अगाडि नबढाईकन आमहडताल घोषणा गर्नु अपरिपक्व हुने भन्दै उपाध्यक्ष श्रेष्ठले अध्यक्ष दाहाललाई मंगलबार लाजिम्पाटमा भेटेर आपत्ति जनाएका हुन्। आमहडतालबारे श्रेष्ठले आपत्ति जनाएपछि दाहाल पक्षका नेताले भने श्रेष्ठलाई ‘दक्षिणपन्थी संशोधनवादी प्रवृत्ति’को संज्ञा दिँदै आन्दोलनबाट भाग्न खोजेको आरोप लगाएका छन्।

दाहाल पक्षका एक नेताले अन्नपूर्णसँग भने, ‘जनयुद्ध सुरु गर्ने बेलामा कसरी भाग्नुभयो। अहिले पनि आन्दोलन गर्ने भनेपछि उहाँ भाग्न खोज्दैहुनुहुन्छ।’

‘पहिचान र सामथ्र्यसहितको संघीयता र संघीयतासहितको संविधान निर्माणका लागि दबाब दिनुपर्छ तर कांग्रेस-एमालेले विवादित विषय मतदानमा लैजाने प्रक्रिया पनि अगाडि नबढाईकन आमहडताल घोषणा गर्नु ठीक हुँदैन’, श्रेष्ठले दाहाललाई दिएको जबाफ उद्धïृत गर्दै स्रोतले भन्यो, ‘आन्दोलनको स्वरूपबारे मेरो अहसमति छ। यसले पार्टीलाई थप क्षति पुर्‍याउनेछ।’ कांग्रेस-एमाले पनि मतदान प्रक्रियामा जान नसकिरहेको बेला आमहडताल घोषणा गर्नु उपयुक्त नरहेको श्रेष्ठको ठहर छ।

‘सहमतिबाटै संविधान जारी गर्नुपर्छ, बहुमतका आधारमा संविधान जारी गर्नु हुँदैन भन्नेमा म दृढ छु’, श्रेष्ठले दाहाललाई भनेका थिए। संघर्षको स्वरूपबारे आफ्नो फरक मत पार्टीमा जाहेर गरे पनि पार्टी निर्णयअनुसार हुने संघर्षका कार्यक्रममा सहभागी हुने जानकारी श्रेष्ठले दाहाललाई गराएका छन्।

माधव नेपाल प्रधानमन्त्री हुँदा पनि श्रेष्ठले आमहडताल गर्न नहुने अडान लिएका थिए। गठबन्धनले संघर्षको कार्यक्रम घोषणा गर्न सोमबार बोलाएको बैठकमा श्रेष्ठ सहभागी थिएनन्।

दाहालले आगामी आइतबार केन्द्रीय समिति बैठकमा नेतृत्व हस्तान्तरणसम्बन्धी प्रस्तावमाथि छलफल गराउन लागेका छन्। दाहाल र भट्टराईबीचको समझदारीमा नेतृत्व हस्तान्तरण गर्ने विषय अगाडि बढाएपछि पार्टीभित्र थप विवाद बाहिर आउन थालेका छन्।

दाहाल पक्षका केही नेताहरूले भट्टराईलाई पार्टी अध्यक्ष बनाउने दाहालको तयारीप्रति पनि आपत्ति जनाएका छन्। दाहालले भने ०७२ माघ तेस्रो साता पार्टीको महाधिवेशन बोलाएर नेतृत्व हस्तान्तरण गर्ने प्रस्ताव केन्द्रीय समितिमा पेस गरेका छन्।

भट्टराई पक्षका नेता टोपबहादुर रायमाझीले भने, ‘नेतृत्व लिने र दिने होइन। परिस्थितिले बाबुरामजीको नेतृत्व माग गरेको हो।’

अन्नपूर्णपोष्टबाट


  •  
  •  
  •