प्रचण्ड भन्छन् : अन्तरिम आदेश खारेज गरी पाऊँ भनी निवेदन हाल्छौ

146
  •  
  •  
  •  

prachandaकाठमाडौं,५ असार (ओएनएस) :  एनेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सर्वोच्च अदालतले शुक्रबार १६ बुँदे सहमति कार्यान्वयन नगर्न दिएको आदेश सच्याउन सर्वोच्चलाई  नै आग्रह गर्ने बताएका छन् ।

शनिबार विहान राष्ट्रपति डा रामवरण यादवसँगको भेटवार्तापछि प्रचण्डले पत्रकारहरुसँग कुरा गर्दै राष्ट्रतिसँग अदालतको आदेश सच्याउन आग्रह गर्ने सम्बन्धमा प्रमुख चार राजनीतिक दलबीच शुक्रबार नै निर्णय भइसकेको जानकारी गराएको प्रचण्डले बताए । उनले भने– “अदालतको मानहानि गर्नेभन्दा पनि जुन परिवेशमा आदेश आयो, त्यसलाई सच्याउन आग्रह गर्ने निर्णय भइसकेको छ, हामी चार दल नै सो निर्णय खारेज गरी पाऊँ भनी आग्रह गर्न सहमत भएका छौँ”।

 प्रचण्डले राष्ट्रपतिसँग १६ बुँदे सहमति, संविधान लेखन प्रक्रिया, सर्वोच्च अदालतको फैसलालगायत विषयमा कुराकानी भएको जनाए ।   प्रचण्ड भने -“राष्ट्रपतिले भूकम्पबाट पीडित भएका जनतालाई प्रभावकारी राहत प्रदान गर्न र पुनःनिर्माणका लागि अधिकारसम्पन्न प्राधिकरण गठन गर्नका लागि भइरहेको प्रयासका बारेमा जिज्ञासा राख्नुभयो, हालसम्म दलबीच सो सम्बन्धमा भएको छलफल र प्रगति के कस्तो रहेको छ भन्ने पनि उहाँको चासो रहेको थियो ।”

त्यसक्रममा  राष्ट्रपति डा रामवरण यादवले कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाबीच सुमधुर सम्बन्ध कायम रहनुपर्नेमा जोड दिएको प्रचण्डले बताए । राष्ट्रपति यादवले संविधान लेखन प्रक्रियालाई चाँडो सम्पन्न गर्न आग्रह गर्दै राज्यका प्रमुख तीन निकायको बीचमा विवाद बढाउन नहुनेमा जोड दिएको प्रचण्डले जनाए ।

यसअघि सर्वोच्च अदालतले  १६ बुँदे सहमति कार्यान्ययन नगर्न अन्तरिम आदेश दिएको छ । सर्वोच्चले १६ बुँदे सहमतिका केहि बुँदाहरु असंवैधानिक भएको भन्दै सर्वोच्चका  न्यायाधीश गिरिशचन्द्र लालको एकल इजलाशले चार राजनीतिक दलबिच भएको सहमति तत्काल जुन अवस्थामा छ त्यही राख्न भनेको थियो ।


  •  
  •  
  •