चीन प्रस्थान गर्नुअघि प्रचण्डले भने : ‘आशीर्वाद थाप्न जान लागेको होइन ’

119
  •  
  •  
  •  

काठमाडौं, ९ चैत (ओएनएस) : एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सोमबार चीन प्रस्थान गरेका छन् ।

चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणमा चीन प्रस्थान गर्नुअघि प्रचण्डले राजनीतिक भेटवार्ता गर्ने बताए । उनले चिनियाँ नेताहरुसँग समसामयिक राजनीति र संविधान निर्माणबारे छलफल हुने बताए ।

उनले भने, ‘चीनको आशीर्वाद थाप्न जान लागेको होइन । संविधान बनाउने न चीनले हो न भारतले, संविधान हामीले नै बनाउने हो । राजनीतिक कुराकानी हुन्छ, राम्रो सुझाव भए मानिन्छ , नराम्रो भए मान्नुपर्छ भन्ने छैन । ’

prachanda 2

प्रचण्डले पार्टीका नेता डा. बाबुराम भट्टराईको भारत भ्रमण र आफ्नो चीन भ्रमणको कुनै सम्बन्ध नभएको बताए । उनले भट्टराईको भारत भ्रमण हुनुअघि नै आफ्नो चीन भ्रमण तय भैसकेकोले अन्तरसम्बन्ध नभएको बताए ।

प्रचण्ड दक्षिण पश्चिम युनान प्रान्तको कुन्मिङ सहरमा हुने कार्यक्रममा सहभागी हुने चीन प्रस्थान गरेका हुन् । प्रचण्ड करिब एक साता चीन भ्रमणमा रहनेछन् । प्रचण्डसँगै पार्टी महासचिव कृष्णबहादुर महरा पनि चीन गएका छन् । संविधान निर्माणमा चीनको चासो बढेका बेला प्रचण्डको भ्रमणलाई महत्वका साथ हेरिएको छ ।


  •  
  •  
  •