प्रचण्डले भने : मर्नै परे संघर्ष गरेर मर्छु

178
  •  
  •  
  •  

prachandaकाठमाडौं, २१ माघ (ओएनएस) : एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मर्नै परे संघर्ष गरेर मर्ने बताएका छन् । भृकुटीमण्डपमा भएको मध्य कमाण्ड कार्यकर्ता भेलामा कार्यकर्ताहरुलाई प्रशिक्षण दिने क्रममा प्रचण्डले यसअघि पनि आफु मर्न तयार भएर नै युद्धमा लागेको बताउँदै सत्तारुढ दलबिरुद्धको संघर्ष जारी राख्ने बताएका हुन् ।

संविधान निर्माण प्रक्रियामा सत्तारुढ दलसँग विवाद बढेपछि आन्दोलनको घोषणा गरेको माओवादीले पहिलो चरणको आन्दोलनमा देशव्यापी कार्यकर्ता प्रशिक्षण र भेला गर्दैछ । कार्यकर्ता प्रशिक्षणको क्रममा प्रचण्डले भने ‘एक स्थायी समिति सदस्यले आमरण अनसन गर्ने कि भन्नुभयो । मैले हुँदैन भन्दै मर्नै परे संघर्ष गरौ भने । ’

उनले संघर्ष गर्न कार्यकर्ताहरुलाई हौस्याउँदै अघि भने, ‘क्रान्तिकारीको धर्म जबसम्म सफल भइन्न तबसम्म संघर्ष गरिरहनु हो ।’  उनले कार्यकर्तामाझ शहर पसेर बिग्रिएको बताउँदै भने ‘ हामी काठमाडौं आयौ, अलि बिग्रियौ, जसले हाम्रो जनतासँगको सम्पर्क पनि बिग्रियो । ’

अब काठमाडौंमा निर्णयक संघर्ष हुने दाबी गर्दै प्रचण्डले त्यसअघि देशका सबै भागबाट आन्दोलनको उभार ल्याउन कार्यकर्तालाई आग्रह गरे । प्रचण्डले भने, ‘सबै ताकत लगाऔं र काठमाडौंमा निर्णायक संघर्ष गरौ । ’ यस्तै मधेशमा पनि आन्दोलन गर्नु पर्ने भन्दै प्रचण्डले अघि थपे, ‘मधेशमा ठूलो आक्रोश देखेको छु, आखिर काठमाडौंमा हामी सुतेकै बेला पनि मधेस उठेको छ ।’ यस्तै लिम्बुवानमा पनि आन्दोलन गर्न उनले कार्यकर्तालाई सुझाए ।

यसअघिको आन्दोलनको भिलेनको भूमिका ज्ञानेन्द्रको रहेकोले गणतन्त्र आएको बताउँदै प्रचण्डले भने ‘ राम्रो भिलेनको भूमिका ज्ञानेन्द्रले खेलेको भएर गणतन्त्रको चलचित्र सजिलै आयो । अहिले सुशील कोइराला र केपी ओलीले पनि भिलेनको भूमिका खेलर सजिलो बनाइ राख्नुभएको छ ।’

उनले प्रधानमन्त्री सुशील कोइरालाले आफुलाई भेट्न आउँदा सहमतिको कुनै खाका नल्याएको बताउँदै भने, ‘प्रधानमन्त्रीले शासकीय स्वरुपमा रिजर्भेसन पनि राख्न पाइन्न भन्दै जुरुक्क उठेर हिड्नुभयो । ’

सहमति हुन लाग्यो भने माओवादीलाई फाइदा हुने भयो भनेर सत्तारुढ दलले बुझ्दा कुरा बिग्रिएको समेत प्रचण्डले बताए । आफुलाई राष्ट्रपति बन्नको लागि आन्दोलन गरेको आरोप लागेको बताउँदै प्रचण्डले भने ‘अहिले सेरेमोनियल राष्ट्रपति बनाउनु भनेको जेलमा जानु बराबर हो । जेल जान तयार छैन । बरु जनतामा जान तयार छु । ’

यसअघि प्रधानमन्त्री हुँदा सकारको निर्णय नमान्ने राष्ट्रपतिलाई हटाएको उल्लेख गर्दै त्यसबेला राष्ट्रपतिको भूमिकामा प्रचण्डले प्रश्न उठाए ।  तत्कालिन प्रधानसेनापती रुकमाङगत कटवाललाई हटाएपछि आफुलाई सुरक्षा खतरा भएको उल्लेख गर्दै प्रचण्डले भने, ‘ एकछिन त लडेर मर्नु पर्ने भयो भनेर जनमुक्ति सेनालाई छ दिन बालुवाटारमा राखे । सेनापतिलाई हटाएपछि मर्न तयार भएर बसेको थिए ।’

केहि अधिकार नभएको राष्ट्रपतिले आफ्नो निर्णय उल्टाएको भन्दै उनले थापे ‘ राष्ट्रपतिलाई अधिकार त केही दिएको छैन । तर म सिंहलाई मुसोले फ्याकिदियो । अन्तर्राष्ट्रिय शक्ति लागेपछि मुसो पनि सिंह हुने भइगयो ।’


  •  
  •  
  •