सहमतिको बाधक प्रधानमन्त्री : प्रचण्ड

142
  •  
  •  
  •  

prachandaकाठमाडौं, ७ माघ (ओएनएस) :  एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधान ल्याउनको लागि सहमतिको बाधक प्रधानमन्त्री सुशील कोइराला भएको आरोप लगाएका छन् ।

राजधानीमा पत्रकार सम्मेलन गरि पछिल्लो समयमा देखिएको राजनीतिक घटनाक्रममा स्पष्टिकरण दिदै प्रचण्डले एमाले अध्यक्ष सकारात्मक देखिएपनि प्रधानमन्त्री कोइरालाले नै सहमति भाँडेको बताए ।

उनले केपी ओली सहमति गरि अघि बढ्न सकारात्मक देखिएपनि कोइरालाले प्रक्रियमा गएर संविधान ल्याउने जोड दिएपछि सहमति भाँडिएको बताए । उनले संविधानसभा बहुमतको खेल नभएको भन्दै सहमति बेगर अघि बढ्न खोजे संविधानसभाको बैठक अवरुद्ध गरिरहने बताए ।

उनले  सरकार बहुमतको आधारमा बन्ने भएपछि संविधान भने सहमतिमै बन्नु पर्ने बताए । उनले भने ‘ बहुमतीय प्रक्रियाबाट संसारमा कहीं, कतै संविधान जारी भएको छैन । ’

 परिवर्तनकारीको सहमतिबाट मात्रै संविधान जारी हुनुपर्ने भएकाले परिवतर्नकारीबीचको सहमति लत्याएर प्रक्रियाबाट संविधान जारी गर्न खोजे डटेर प्रतिकार गर्ने चेतावनी दिए ।

उनले कांग्रेस र एमाले केही नेताहरुमा पूर्वराजा ज्ञानेन्द्रकै जस्तो चरित्र भएका नेताहरुले भांडेको आरोप लगाए ।

न्याय प्रणाली, निर्वाचन प्रणाली, नागरिकता लगायतका सहमति भएका विषयलाई मस्यौदासमितमा पठाउने र फेरि छलफल गरी संघीयतामा सहमति गरेपछि शासकीय स्वरुपमा फरक मत राखेर जान आफूहरु सहमति भइसक्दा पनि प्रधानमन्त्रीसहितका केही नेताहरुले भाँडेर सहमति भएन, अब प्रत्रियामा जानुपर्छ भनेको उनको दाबी छ । उनले सोमबार राति संविधानसभामा भएको तोडफोड नियोजित नभएको बताउँदै सहमतिलाई लत्याएर अघि बढ्न खोज्दा सभासदहरु आक्रोसित भएको बताए ।


  •  
  •  
  •