खित्का छोड्दै नारा लगाउँदै प्रचण्ड र बाबुराम

173
  •  
  •  
  •  

काठमाडौं ७ माघ ।
संविधानसभामा मंगलबार एमाओवादी तथा मधेसी मोर्चालगायतका सभासदहरुले करिब डेढघन्टासम्म नाराबाजी गरे। दिउँसो पौने ३ बजे बोलाएको बैठक सुरु भएको घोषणा गर्न नपाउँदै एमाओवादी तथा मधेसी मोर्चालगायतका सभासदहरु सभाध्यक्ष सुवास नेम्वाङको रोष्‍ट्रम अगाडि घेराउ गरेर नाराबाजी सुरु गरेका थिए।नाराबाजीमा एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल र बाबुराम भट्टराई पनि सहभागी थिए। प्रचण्ड र बाबुराम खित्का छोडेर हाँस्दै नारा लगाए। करिब डेढघन्टा लामो नाराबाजीपछि  बैठक बुधबार एघार बजेसम्मका लागि स्थगित भएको छ। ।

विपक्षी सभासद्‌बाट घेराउ तथा नाराबाजी भइरहे पनि कांग्रेस तथा एमालेका सभासद्‌हरु आफ्नै स्थानमा चुपचाप बसेका छन्।  मर्यादापालकबाट घेरिएका सभामुख टुलुटुलु हेरेर बसिरहेका छन्। बैठकको कारबाही सुरु हुन्छ भन्न पनि पाएनन्।
सोमबार मध्यरातमा एमाओवादी तथा मधेसी मोर्चालगायतका सभासदहरुले संविधानसभा बैठक कक्षमा तोडफोड तथा आक्रमण गरेका थिए। तोडफोड गरिएका कुर्सी मिलाइएपछि बैठक सुरु गरिएको थियो। तोडफोडबाट लाखौंको क्षति भएको थियो।
मंगलबारको बैठक तनावपूर्ण हुने देखिएपछि संविधानसभा आसपासको क्षेत्रमा सुरक्षा व्यवस्था कडा बनाइएको छ। संविधानसभा भवनलाई नेपाल प्रहरी र शसस्त्र प्रहरीले मध्यरातदेखि नै विशेष सुरक्षा घेरामा राखेको छ।
बिहानदेखि संविधानसभा पसिरमा विशेष सुरक्षा निगरानीसहित गस्ती बाक्लो बनाइएको छ। सम्मेलन केन्द्रभित्र पनि सुरक्षाकर्मीको संख्या थपिएको छ। त्यसैगरी बैठक कक्षमा खटिने मर्यादापालकलाई विशेष सतर्कतासहित राखिएको छ।सभासद्लाई पनि सुरक्षाजाँच गर्दै भित्र पठाइएको छ।
 संविधानसभाको बैठक मंगलबार दिउँसो एक बजे बोलाइएको छ। बैठकमा प्रश्‍नावली समिति बनाउनु प्रक्रिया थालिने छ। यसको प्रतिवाद गर्ने तयारीमा एमाओवादी र मधेसी मोर्चालगायतको गठबन्धन छन्। एमाओवादीले आफ्‍ना सभासद्लाई १२ बजेभित्र संविधानसभाभित्र आउन उर्दी जारी गरेको थियो। अन्नपूर्णपोष्टबाट

  •  
  •  
  •