किन पछारिए प्रचण्ड?

60
  •  
  •  
  •  

BRB n Prachandaकाठमाडौं ७ माघ ।  जातीयतामा आधारित संघीयता र सहमतिको संविधानजस्ता परस्पर विरोधी मागका पक्षमा गरिएको नेपाल बन्दलाई ठाउँठाउँमा जनताले प्रतिकार गरिरहँदा राजधानीमा बन्द आह्वानकर्ता एमाओवादी केन्द्रीय नेताहरू आफ्नै समर्थकको निसाना बनेका छन्।

एमाओवादी अध्यक्ष पुष्पकमल दाहाललाई बन्द पक्षधरहरूकै ढुंगा प्रहारबाट बचाउन प्रहरी र सशस्त्र सफल भए पनि अर्का सभासद् तथा पूर्वमन्त्री जनार्दन शर्मासहित दाहालपुत्र प्रकाश र तीन अन्य सभासद्हरू त्यस्तो आक्रमणबाट उम्कन सकेनन्।

सोमबार मध्यराति संविधानसभा तोडफोडमा अग्रभूमिका खेलेका शर्मा मंगलबार दिउँसोको सदनपछि फर्कंदा आफ्नै समर्थकहरूको भाटे आक्रमणमा परी घाइते भएका थिए। उनको टाउकोमा पाँच टाँका लगाइएको छ। तर एमाओवादीले यो आक्रमणका लागि ‘बाहिरबाट घुसपैठ भएकाहरू’ माथि दोषारोपण गरेको छ।

नर्भिक अस्पतालमा भर्ना गरिएका शर्माले आफूमाथि षड्यन्त्र भएको बताएका छन्। तर बन्द संस्कृतिविरुद्ध बढ्दो आक्रोश र प्रतिरोध एकातिर, र अर्कोतिर ‘बन्दु’ ले पार्टीलाई अझै कमजोर बनाउँछ भन्ने आन्तरिक मूल्यांकनलाई बेवास्ता गर्दै आफूलाई ‘संशोधनवादी’ भन्ने नेकपा-माओवादी र खुला रूपमा दाताहरूसँग नजिक देखिएका जनजाति नेता पद्मरत्न तुलाधरसँग गठबन्धन गर्दा दाहालको नेतृत्व कमजोर देखापरेको हो।

त्यस्तै सोमबार मध्यरात्रिको असंसदीय उद्दण्डता एमाओवादी नेतृत्वको निर्देशनमा भएको विश्वास गर्नेहरूको संख्या कम छैन। न दाहालले, न बाबुराम भट्टराईले नै त्यसलाई रोक्ने कुनै प्रयास गरे।

एमाओवादी नेतृत्व दोहोरो मान्यताका कारण कमजोर र आलोचनाको पात्र बन्दैछ। जनादेशबाट तेस्रो शक्ति बन्न पुगे पनि जातीयतामा आधारित संघीयताका पक्षमा ‘सहमति’ हुनैपर्ने पूर्वसर्त राख्दा आफूपछिको चौथो ठूलो पार्टी राप्रपा नेपालले धर्म निरपेक्षता वा सापेक्षता, राजतन्त्र या गणतन्त्र, विकेन्द्रिकृत या संघीय शासन व्यवस्थामा जनमतसंग्रह हुनुपर्छ भन्ने मागमाथि कुनै सुनवाइ हुनु हुँदैन भन्ने अडान पनि उसले लिएको छ।

दोस्रो संविधानसभा निर्वाचनमा जातीय राज्यको एमाओवादी अडान र एक मधेस एक प्रदेशको मधेस केन्द्रित दलहरूको नारालाई जनताले ठाडै अस्वीकार गरेका थिए, उनीहरूको हैसियत र आकारलाई अपमानजनक तरिकाले गिराएर।

तर मधेस केन्द्रित दलहरूसँग सदन र सडकमा सहकार्य गरेर जनादेशबाट गुमेको हैसियतलाई मुढेबलबाट प्राप्त गर्ने ‘जंगली राजनीति’ को अस्त्र दाहालले उठाए। र पहिलो प्रयासमै पछारिए। भित्र र बाहिर दुवैको प्रतिकार र उनको गिर्दो छवि सडक र सदन दुवैतिर छताछुल्ल भएका छन्। अन्नपूर्णपोष्टबाट


  •  
  •  
  •