काठमाडौं, ४ भदौ (ओएनएस) : संविधानसभाको निर्वाचनपछि तेस्रो दलमा सिमित भएको एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल यतिबेला भूमिकाको खोजिमा छन् ।
संविधानसभाको परीणाममा धाँधली भएको आरोप लगाउँदै छानविन समिति गठन गर्नसम्म सफल भएका दाहाल तीन दलबीच भएको सहमति अनुसार उच्चस्तरीय राजनीतिक समितिको संयोजक बन्ने दाउमा रहेका छन् । तीन दलबीच गत पुस ९ गते भएको चार बुँदे सहमतिमा शान्ति प्रक्रियाका बाँकी काम पुरा गर्न उच्चस्तरीय राजनीतिक सयन्त्र गठन गर्ने सहमति भएको थियो ।
सहमति भएको लामो समयसम्म पनि संयन्त्र गठन हुन नसकेपछि अध्यक्ष दाहालले सक्रियता बढाएका छन् । दाहालले प्रधानमन्त्री सुशील कोइराला, एमाले अध्यक्ष केपी ओली तथा सभामुख सुवासचन्द्र नेम्वाङसँग गरी संयन्त्र गठनका लागि पहल गर्न आग्रह गरिसकेका छन् । केही दिन अगाडि प्रधानमन्त्री कोइरालासँग भएको भेटवार्तामा दाहालले आफू भूमिका विहीन भएको गुनासो गरेका थिए ।
दाहालले ‘कोही प्रधानमन्त्री, कोही मन्त्री बेनेको तर, एमाओवादीको भागमा भने केही पनि नपरेको’ भन्दै आक्रोश पोखेका थिए । दाहाल अहिले जसरी भएपनि उच्चस्तरीय राजनीतिक संयन्त्र गठन गर्ने र त्यसको संयोजक आफैं बन्ने दाउमा रहेका छन् । दाहालको इच्छाप्रति प्रधानमन्त्री कोइराला सकारात्मक रहेका कोइराला निकट स्रोतले बतायो । ‘प्रचण्डजीलाई प्रधानमन्त्रीले संयन्त्र गठन गर्ने र त्यसको संयोजक बनाउन पहल गर्ने आश्वास दिनुभएको छ, कोइरालाको भनाई उद्धृत गर्दै स्रोतले भन्यो ।
उच्चस्तरीय राजनीतिक संयन्त्र गठनको बाधक एमाले अध्यक्ष केपी ओली रहेका दाहाल निकट स्रोतले बताएको छ । ओली कुनैपनि हालतमा संविधानसभा बाहिर शक्तिशाली संयन्त्र गठन गर्न नहुने पक्षमा छन् । समिति गठन भएको अवस्थामा त्यसले संविधानसभालाई प्रभावित पार्ने भन्दै ओलीले संयन्त्र गठनमा सहमति जनाएका छैनन् । उच्चस्तरीय राजनीतिक संयन्त्र गठनका लागि पहल गरिदिन आग्रह गर्न दाहाल बुधवार राष्ट्रलय पुगेका हुन् ।