काठमाडौ, ५ माघ : एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले प्याकेजमा सहमति नहुने देखेपछि आन्दोलनको तयारीमा गम्भीरतापूर्वक लाग्न आफ्नो पार्टी र सहयात्री राजनीतिक दलका नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन्।
संयुक्त आन्दोलनमा रहेका सहयात्री दलहरूले अंशमा सहमति नखोज्न दबाब दिएपछि दाहालले प्याकेजमै सहमति खोजिने आश्वासन दिँदै आन्दोलनको तयारी गर्न निर्देशन दिएका हुन्।
संविधानसभा निर्वाचन बहिष्कार गरेको नेकपा-माओवादी, मातृका यादव नेतृत्वको माओवादी, मणि थापा नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट केन्द्र, पद्मरत्न तुलाधर नेतृत्वको आदिवासी जनजाति राष्ट्रिय आन्दोलनसँग दाहाल नेतृत्वको ३० दलीय गठबन्धनले सडकमा संयुक्त आन्दोलनको घोषणा गरेका छन्।
एमाओवादी महासचिव कृष्णबहादुर महरा नेतृत्वमा आन्दोलनकारी दलमा संलग्न दलहरूको २० सदस्यीय संयुक्त आन्दोलन परिचालन कमिटी पनि गठन गरिएको छ। आन्दोलन प्रभावकारी बनाउन आन्दोलनकारी दलले केन्द्रीय स्तरका नेताहरूलाई जिल्लामा खटाएका छन्।
दाहालले शासकीय स्वरूप, संघीयता, निर्वाचन र न्याय प्रणालीलाई प्याकेजमा सहमति खोजिने जानकारी दिएर आन्दोलनकारी नेताहरूलाई आश्वस्त पारेका छन्। ‘गहिराइमा पुगेर जिम्मेवारीपूर्ण र गम्भीरतापूर्वक सकारात्मक रूपमा छलफल भइरहेको छ।
सहमतिको दिशामा पनि अगाडि बढेको छ’, दाहालले अन्नपूर्णसँग भने, ‘तर कुनै पनि विषयमा सहमति भएको छैन। अहिले नै सहमति भइसक्यो भन्ने प्रचार गलत हो।’
चारपक्षीय छलफलमा दाहालले नामांकन र सीमांकनसहित पहिचान झल्किने ६ प्रदेश, नामांकन र सीमांकन प्रदेश सभाले गर्ने अवस्थामा १० प्रदेश, समानुपातिक र प्रत्यक्ष ५०-५० प्रतिशत गराउने निर्वाचन प्रणाली, १० वर्षका लागि संवैधानिक अदालत राख्ने र प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको अडान कायम राख्दै शासकीय स्वरूपमा छलफल गर्न सकिने तर्क गरेको एमाओवादी सचिव वर्षमान पुनले बताए।
‘निर्वाचन प्रणाली र न्याय प्रणालीमा मिलिहाल्छ। संघीयताबारे तपाईंहरू लचिलो हुनुहुन्छ भने शासकीय स्वरूपमा प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको अडान हामी छोड्दैनौं तर शासकीय स्वरूपलाई नै लिएर संविधान निर्माण रोक्ने पक्षमा पनि हामी छैनौं’, आफूले चार दलको बैठकमा राखेको धारणा उद्धïृत गर्दै दाहालले भने, ‘कांग्रेस-एमाले संघीयतामा लचिलो देखिएका छैनन्। त्यसैले सहमति भएको छैन।’
दाहालले माघ ८ भित्र मिलेका विषयमा सहमति गरेर संविधान जारी गर्ने राजनीतिक प्रतिबद्धता व्यक्त गर्न पनि दलका नेताहरूलाई आग्रह गरेका थिए।
उनले भने, ‘संविधान नभएर संविधान बनाउन खोजिएको होइन, सरकार नभएर पनि होइन, ऐतिहासिक क्रान्ति, विद्रोह र आन्दोलनको समझदारीमा संविधानसभा आएको हो, त्यसैले संविधानसभाबाट समझदारीमै संविधान निर्माण गर्नुपर्छ।’
आन्दोलनकारीले प्रश्न उठाएपछि दाहालले प्रवक्ता दीनानाथ शर्मामार्फत पनि आन्दोलनका पक्षमा वातावरण बनाउने गरी वक्तव्य जारी गर्न निर्देशन दिएका छन्। दाहालको निर्देशनअनुसार प्रवक्ता शर्माद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘संविधानका अन्तरवस्तुमा दलहरूबीचमा गम्भीर छलफल भएको सत्य हो। छलफल भइरहे पनि कुनै सहमतिमा पुग्न सकिएको छैन।
तसर्थ सहमति कुनै अंशमा नभएर प्याकेजमै हुने कुरा पनि स्पष्ट पार्न चाहन्छांै।’ प्याकेजमा सहमति नहुन्जेल संयुक्त आन्दोलन समितिद्वारा माघ ६ गतेका लागि घोषित देशव्यापी आमहडतालको कार्यक्रम यथावत् रहेको पनि शर्माले प्रस्ट पारेका छन्। अन्नपूर्ण पोष्टबाट