प्रचण्ड अतीतमा फर्केपछि

144
  •  
  •  
  •  

prachandaa

एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कात्तिक २४ देखि २७ सम्म रोल्पाको भ्रमण गरे । उनको रोल्पा भ्रमणले राष्ट्रिय राजनीतिलाई नै तरंगित बनायो । उनको भ्रमणको सबैभन्दा महत्त्पूर्ण दिन २५ कात्तिक रह्यो । होलेरीबाट सुरु भई डाँडागाउँमा पुगेका उनको भ्रमणलाई नयाँ पत्रिकाका मनोज घर्तीमगरले पछ्याएका थिए । प्रचण्डको यात्रा एक झलक :

नवलपरासी र दाङको भाषण, घोराहीदेखि कच्ची सडकको दुई घन्टाको यात्राले थकित एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को चेहरा होलेरी पुग्दा अचानक उज्यालियो, जहाँ उनलाई कार्यकर्ताले नाराजुलुससहित स्वागत गरे । स्वागतमा बसेका सबैसँग हात मिलाउँदै प्रचण्ड थापाहोटेलभित्र छिरे । एमाओवादी महासचिव कृष्णबहादुर महरा, सचिव वर्षमान पुन ‘अनन्त’, स्थायी समिति सदस्य चन्द्रप्रकाश खनाल ‘बलदेव’ केन्द्रीय सदस्यहरू धनबहादुर मास्की ‘राजेश’, महेन्द्रबहादुर शाही ‘प्रज्ज्वल’ले उनलाई साथ दिइरहेका थिए । अनन्त र बलदेव जनसेनाका पूर्वडेपुटी कमान्डर तथा मास्की र शाही पूर्वडिभिजन कमान्डर हुन् । प्रचण्डले घोराहीमै भनेका थिए, ‘मलाई पहिले बसेको क्याम्पमा जान मन लाग्यो, त्यहाँका जनतासँग भेट्न मन लाग्यो । भएसम्म जनसेनाका पूर्वकमान्डरहरूसहित जाँदै छु ।’ पूर्वजनसेना प्रमुख नन्दकिशोर पुन ‘पासाङ’ तयारीका लागि एक दिनअगाडि रोल्पा पुगिसकेका थिए ।

प्रचण्ड २४ कात्तिकको साँझ होलेरी पुग्दा आठ बजिसकेको थियो । स्वागतका लागि कार्यकर्ता दिउँसो तीन बजेदेखि नै जम्मा भइसकेका रहेछन् । साँझ आयोजना गरिएको कार्यकर्ता भेटघाट बिहानसम्मका लागि स्थगित भएपछि प्रचण्ड पूर्वकमान्डरहरूसँग गफिन थाले । उनी पौने १० बजेसम्म गफिए । उनलाई कमान्डरहरूले सुझाब दिए, ‘अब आन्दोलनको विकल्प देखिँदैन । यो आन्दोलनलाई नयाँ उचाइमा पुर्‍याउनैपर्छ ।’

prachanda11

सिरसिरे हावा चल्नुअघि नै प्रचण्डले बिहान पाँच बजे ओछ्यान छोडे । साढे पाँच बजे चिनीविनाको एक गिलास कालो चिया पिए । सवा ६ बजे थापाहोटलबाट बिदा भएर नजिकै रहेको उच्च माविको प्रांगणतिर हान्निए ।

अघिपछि लावालस्कर थियो । एमाओवादी केन्द्रीय सदस्य दीपेन्द्र पुन साँझदेखि प्रचण्डको टोलीमा जोडिएका थिए । सात मिनेटजति हिँडेपछि अघि–अघि हिँडिरहेका जिल्ला अध्यक्ष सुरेन्द्र घर्ती थापा रोकिए । ‘ऊ त्यही ठाउँमा हो पहिले चौकी भएको’ उनले औंलाले संकेत गरेपछि प्रचण्डका आँखा पनि त्यतै सोझिए । ‘भयो त्यहाँसम्म नपुगौँ, देखिहालियो ।’ माओवादीले दुईपटक आक्रमण गरेको होलेरी प्रहरी चौकीको अवशेषसम्म जान कसैले गरेको आग्रहलाई प्रचण्डले अस्वीकार गरे ।

माओवादीले १ फागुन ०५२ मा अन्य तीनवटा चौकीका अतिरिक्त सो प्रहरी चौकीमाथि हमला गरेर जनयुद्धको उद्घोष गरेको थियो । संयोगले होलेरीको सो आक्रमणका कमान्डर अनन्त पनि प्रचण्डका साथमै थिए । माओवादीले २८ असार २०५८ मा होलेरी प्रहरी चौकीमाथि दोस्रोपटक हमला गरेको थियो । बिहानै हमला गरेर ७६ जना प्रहरीलाई युद्धबन्दी बनाएको थियो । त्यसको कमान्डरचाहिँ पासाङ थिए । त्यो आक्रमणपछि तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले पदबाट राजीनामा दिएका थिए ।

‘तपार्इंलाई जोसिलो पोस्ट भन्ने थाहा छ नि । त्यहीँ तल हो,’ अनन्तले अघि सर्दै होलेरीदेखि तल खोँचतिर देखाए । ‘थाहा छ, त्यहाँ बसेको पनि छु,’ प्रचण्डले जवाफ दिए ।

साढे ६ बजे होलेरी उमाविमा पुगेका प्रचण्डले सुरुमा कार्यकर्ताका कुरा सुन्न चाहे । त्यस इलाकाका इन्चार्ज गोविन्द पुन अघि सरे । ‘तपाईं आएदेखि यहाँका कार्यकर्ता र जनतामा नयाँ उत्साह आएको छ । पार्टीको अवस्था राम्रै छ । अहिले विकास निर्माणको कुरा प्रधान बनेर गइरहेको छ,’ कार्यकर्ताको कुरा सुनाउँदै गर्दा पुनले थपे, ‘सहिद परिवारका गुनासा पनि छन् ।’

पुनले कुरा नटुंग्याउँदै प्रचण्डले ‘एकजना सहिद परिवारको कुरा पनि सुनौँ,’ भने । ‘अध्यक्ष कमरेड अभिवादन’ ६२ वर्षीय रामबहादुर पुन सहिद परिवारको तर्फबाट सुझाब राख्न अघि बढे । उनका छोरा ज्ञानबहादुर प्युठानको मुर्कुटी भन्ने ठाउँमा भएको भिडन्तमा मारिएका रहेछन् ।

‘सहिदको रगत त्यसै खेर जान्छ कि भन्ने आशंका जागिरहेको छ । खेर जान दिन पाइँदैन । तपाईं साहस गरेर अगाडि बढ्नुस् ।’ पुनको कुरा सुन्दै गर्दा प्रचण्ड भावुक देखिए । उनले सहिदका छोराछोरीको शिक्षामा समस्या रहेको बताउँदै ध्यान दिन आग्रह गरे ।

सुझाब र गुनासो सुनेपछि प्रचण्डले रोल्पा भ्रमणबारे बताउन थाले, ‘म तपाईंहरूकै धारणा बुझ्न आएको हुँ । काठमाडौं जाँदा ऊर्जा लिएर जानेछु ।’ उनले आफू रोल्पाली जनताको बलमा गणतन्त्र नेपालको प्रधानमन्त्री बनेको पनि बताए । सहिद मार्गको सुरुवात गर्दाको अनुभूति सुनाए । कांग्रेस–एमाले संविधान निर्माणमा विगतको सहमति र सम्झौताविपरीत गएको बताए । सात मिनेटजति बोलेर प्रचण्ड होलेरीबाट बिदा भए ।
०००
सवा ७ बजे होलेरी छोडेका प्रचण्ड नेतृत्वको टोली १० मिनेटको यात्रापछि दहवन पुग्यो । दहवनमा सेना समायोजनअघि पूर्वजनसेनाको पाँचौं डिभिजन मुख्यालय थियो । अहिले नेपाली सेनाको ब्यारेक बनेको छ । पौने एक घन्टाको ओरालो र तेर्साे कच्ची सडकको यात्रापछि टोली नुवागाउँ पुग्यो । नुवागाउँ माओवादी जनसेना र तत्कालीन शाहीसेना पहिलोपटक आमने–सामने भएको ठाउँ हो । माओवादीले होलेरी आक्रमण गरेर प्रहरीलाई युद्धबन्दी बनाएपछि होलेरीमा तत्कालीन शाहीसेना परिचालित भएको थियो । दुई सेनाबीच पत्र र माइकिङमार्फत वार्ता भएपछि भिडन्तको सम्भावना टरेको थियो ।

त्यही नुवागाउँको त्रिवेणीमा प्रचण्डलाई कार्यकर्ताले स्वागत गरे । प्रचण्डले उभिएरै भने, ‘कांग्रेस–एमाले विगतको सहमतिविपरीत गए । जनताको संविधान बनाउनका लागि ऊर्जा प्राप्त गर्न तपाईंहरूको अगाडि आएको छु ।’ उनले आफू जनयुद्धकालको हेडक्वार्टरमा जान लागेको पनि जानकारी दिए । संक्षिप्त सम्बोधन सकेर उनी तिलातिर लागे ।

नौ बजेतिर प्रचण्ड गैरीगाउँको तिलाबजार पुगे । तिलाबजार जनयुद्धकालमा माओवादी सत्ताको प्रवेशद्वार थियो । प्रचण्डले तिलाबाट नजिकै रहेको दुम्ला गाउँतिर नजर घुमाए । अगुवा कार्यकर्ताको कुरा सुनेपछि प्रचण्डले दुम्लातिर देखाउँदै भने, ‘मैले पार्टीभित्र २१औँ शताब्दीको जनवादको प्रस्ताव त्यहीँ दुम्लामा बसेको बैठकमा पेस गरेको हो । त्यहीँबाट पारित गरिएको हो ।’ उनले दुम्लामै बसेर युरोप, अमेरिकाका मान्छेसँग वार्ता गरेको पनि स्मरण गरे । तिलामा एउटा सुन्तला, चिनीविनाको कालो चिया र एक पिस बिस्कुट खाएर उनी अघि बढे ।
०००
तिलाबाट झन्डै दुई घन्टाको यात्रापछि टोली घर्तीगाउँको लोसेबाङ पुग्यो । प्रचण्डलगायत नेताहरूलाई कार्यकर्ता र स्थानीयले गलाभरि माला पहिर्‍याएर स्वागत गरे । प्रचण्डले सबैसँग हात मिलाए । ‘माथि नै जाऊँ’ माओवादीका गाविस अध्यक्ष ललित घर्तीले प्रचण्डलाई स्कुलतिर अघि बढाए ।

रोल्पायात्राका क्रममा प्रचण्डले लोसेबाङलाई महत्त्वसाथ लिएका थिए । यसको कारण थियो, ०६२ कात्तिकमा एमाले नेता वामदेव गौतमसँग भएको वार्ता । प्रचण्डसँग वार्ता गर्न एमाले नेता वामदेव गौतम र युवराज ज्ञवाली दहवनबाट माओवादी सेनाको सुरक्षामा घोडाबाट लोसेबाङ पुगेका थिए । त्यो वार्तामा भएको ६ बुँदे सम्झौता नै १२ बुँदे सम्झौताको प्रारूप थियो । प्रचण्डले तत्कालीन नेकपा (एकताकेन्द्र–मसाल)का नेता नारायणकाजी श्रेष्ठसँग पनि त्यहीँ वार्ता गरेका थिए ।

प्रचण्ड वार्तास्थलभन्दा मुनि रहेको स्कुलमा पुगे । एमाले नेता वामदेवसँगको वार्ताको क्षण स्मरण गरे । आफू हिँडेको डाँडाकाँडा देखाए । ‘यहाँका जनता र जनसेनाको सुरक्षामा हामीले वार्ता गरेका थियौँ,’ उनले भने । आफू अढाइ वर्ष रोल्पामै बसेर देशभरको नेतृत्व गरेको सुनाउँदै प्रचण्डले जनताको तागत ल्याउन रोल्पा भ्रमणमा निस्किएको सुनाए ।

छोटो भाषणपछि प्रचण्ड स्थानीयको घरभित्र पसे । उनले सिमीको दाल र खसीको मासुसहितको खाना खाए । १२:४० बजे त्यहाँबाट अगाडि बढे ।

सवा एक बजे प्रचण्ड घर्तीगाउँ बजार पुगे । त्यहाँ पनि कार्यकर्ता र स्थानीयको स्वागत ग्रहण गरे । भूमिगत कालमा घर्तीगाउँमा बसेको क्षण सुनाए, ‘यो घर्तीगाउँ सम्झिराख्नुको अर्को कारण पनि छ । म १२ बुँदे समझदारी बनाउन जाँदा एक रात यहीँ बसेको थिएँ । पहिले म चुरोट पिउँथें । यही घर्तीगाउँमा बसेको रातदेखि मैले चुरोट पिउन छाडिदिएँ ।’ घर्तीगाउँमा आठ मिनेट कुरा राखेर उनी अगाडि बढे ।
०००
सहिद मार्ग हुँदै अगाडि बढेका प्रचण्ड दिउँसो २:२५ बजे इरिबाङ र राङ्सीको सीमाक्षेत्र चप्कामा पुगे । त्यहाँ उनलाई स्वागत गर्न पूर्वजनसेना कमान्डर नन्दकिशोर पुन ‘पासाङ’ तयार भएर बसेका थिए । ‘लौ पासाङजी आइपुगियो,’ प्रचण्डले स्वागत ग्रहणपछि मुस्कुराउँदै भने । पासाङ प्रचण्डको भ्रमणको बन्दोबस्तका लागि अघिल्लो दिन नै राङ्सी पुगेका थिए । चप्कामा छोटो कुरा राखेर उनले एउटा अम्बा खाए । र, उकालो लागे ।

तीन बज्न लाग्दा पासाङको घरमा पुगेर प्रचण्ड, महरा, अनन्त, बलदेवलगायत चढेको गाडी रोकियो । पञ्चेबाजा बजाउँदै गरेकाहरू अगाडि बढे । पासाङका ८१ वर्षीय बुबा मनसुर पुनले माला लगाएर प्रचण्डलाई स्वागत गरे । ‘बुबा सन्चै हुनुहुन्छ नि ?’ प्रचण्डले सोधे । ‘सन्चै छु । तपाईंलाई कस्तो छ ?’ मनसुरले प्रतिप्रश्न गरे ।

पासाङ परिवारले प्रचण्ड टोलीलाई कालो चियाले स्वागत गर्‍यो । केही बेर आराम गरेपछि प्रचण्ड घरको बार्दलीमा निस्किए । आफू पहिले बसेको डाँडाकाँडा नियाले । उनको अन्तिम गन्तव्य डाँडागाउँ थियो । सवा चार बजे प्रचण्ड दलबलसहित उकालो चढे ।

साढे चार बजे डाँडागाउँ पुग्दा प्रचण्डलाई स्वागत गर्न स्थायनीहरू झुम्मिएका थिए । उनीहरूले गलाभरि माला पहिर्‍याइदिए । त्यहाँ पुग्दा प्रचण्डपत्नी सीता दाहाल हर्षित देखिन्थिन् । प्रचण्ड त हर्षित नहुने कुरै भएन । आठ मिनेटको पैदलयात्रा गरेपछि ‘अध्यक्ष क. प्रचण्ड लालसलाम’ लेखिएको सानो गेट भेटियो । ‘आउनुभयो हैन बाबु,’ भन्दै वृद्धा सुर्जा घर्तीले गलामा माला लगाइदिइन् । ‘आमा नमस्ते, सन्चै हुनुहुन्छ नि ?’ प्रचण्ड र सीता दुवैले सँगसँगै भने । रणबहादुर घर्तीले पनि माला लगाइदिए ।

प्रचण्ड डाँडैमा रहेको एउटा घरनिर पुगे । ‘यही नै हो म पहिले बसेको घर’ उनले सञ्चारकर्मीलाई सुनाए । त्यो उनको यात्राको उत्कर्ष थियो । केही भावुक देखिन्थे उनी । ‘तपाईं बसेको कोठा त्यही हो’ पासाङले देखाइदिए । ‘पासाङजी त्यहाँनिर टेन्ट राखेर बस्नुहुन्थ्यो,’ प्रचण्डले खाली ठाउँ देखाउँदै भने ।

प्रचण्ड घरभित्र पसे । ‘मलाई विगतको अनुभूतिले रोमाञ्चित बनाइरहेजस्तो पनि लागिरहेको छ । यहाँ जनतासँग भेट्दा भावुक पनि भएको छु,’ उनले भने । उनले एम–१६, इन्सास, एसएमजीजस्ता हतियार चलाउन त्यही डाँडामा सिकेको पनि जोड्न भुलेनन् । ‘हामीलाई सबैभन्दा ठूलो खतरा हेलिकोप्टरको थियो । हेलिकोप्टर आउँदा पिएलएका साथीहरू मलाई बंकरभित्र लैजानुहुन्थ्यो,’ उनले सम्झिए  ।

प्रचण्डले आफू चार महिना त्यो घरमा बसेको सुनाए । ०६२ फागुन १ गते उनले त्यही घरमा अडियो रेकर्ड गराएर आफ्नो भनाइ सार्वजनिक गरेको बताए । ‘मैले यहीँबाट अडियो रेकर्ड गराएँ । महराजीले बिबिसीमा पठाउनुभयो ।’ उनको कुरा सुनेर छेउमै उभिएका महरा केही हर्षितजस्तो देखिए ।

वरिपरि ससाना रूखहरू भएको घरमा अहिले कोही बस्दो रहेनछ । घरधनी रणबहादुर घर्तीका अरू पनि घर रहेछन् । घरको पर्खालमा ठूला–ठूला प्वाल देखिन्छन् । ‘यो त्यहीवेला हानिएको गोलीको निशानी हो,’ पासाङले सुनाए । फागुन १ मा सन्देश जारी गरेका प्रचण्डलाई ३ गते एउटा सूचना पुगेछ, हवाई हमला हुँदै छ । ‘हामी तीन गते यहाँबाट हिँडेर त्यो पल्लो गाउँमा गयौँ । ५ गते त आक्रमण भइहाल्यो,’ उनले भने ।

घरबाट निस्केपछि प्रचण्ड आफूले हतियार चलाएको ठाउँ हेर्ने इच्छा गरे । बाहिर आफू बसेको घरका परिवारका सदस्यहरूसँग फोटो खिचाए । घरको उत्तरतिर ससाना रूखहरू भएको ठाउँमा पुगे । सानो चउर थियो । केही खाल्डा देखिन्थे । ती प्रचण्डको सुरक्षाका लागि बनाइएका बंकर रहेछन् । ‘मैले यहीँ हो हतियार चलाएको,’ उनले सुनाए । ‘मलाई पनि हतियार पड्काउनु भन्थे । तर, मलाई त डर लाग्यो र पड्काइनँ,’ सीता दाहालले पनि थपिन् । त्यहाँ एमाओवादीका नेताहरूले फोटो खिचाए ।

उनी आफू बसेकै घर फर्किए । स्थानीयले ताउलोमा चिया लिएर आए । कालो चिया पिएर प्रचण्ड त्यहाँबाट बिदा भए । जयपुरी घर्तीकी आमा बाटोमा पर्खिरहेकी रहिछन् । उनले प्रचण्डलाई स्वागत गरिन् । फोटो खिचाइन् । प्रचण्ड सवा ६ बजे ओरालो लागे । पासाङको घरमा खाना खाए । स्थानीयले पासाङको घरमै आएर पैसेरु नाच देखाए । प्रचण्ड, महरा, अनन्त, पासाङ, बलदेवलगायत नेताले नाच हेरे ।

जनयुद्धको सुरुवात होलेरीबाट भएको थियो । जनआन्दोलन सुरु हुनुअघिसम्म प्रचण्ड डाँडागाउँमा बसे । प्रचण्डले एकैदिन होलेरीदेखि डाँडागाउँसम्मको यात्रा गरे । अर्थात् सुरुवातदेखि अन्त्यसम्मको यात्रा । मनोज घर्तीमगर . नयाँ पत्रिका


  •  
  •  
  •