काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपालका लागि चिनियाँ राजदूत हाउ यान्छीबीच भेटवार्ता भएको छ। अध्यक्ष दाहाललाई भेट्न राजदूत यान्छी सोमबार बिहान दाहालनिवास खुमलटार पुगेकी थिइन्।

नेकपाभित्र शक्ति संघर्ष बढिरहेका बेला अध्यक्ष दाहाल र राजदूत यान्छीबीचको भेटलाई अर्थपूर्ण रूपमा हेरिएको छ। नेकपा विवादकैबीच यसअघि २ मंसिर साँझ राजदूत यान्छीले नेकपाका अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटेकी थिइन्। उनले नेकपा सचिवालय बैठकको अघिल्लो दिन ओलीलाई बालुवाटार पुगेर भेटेकी थिइन्।
आजको भेटमा नेपाल–चीन सम्बन्ध र दुई देशका पार्टीबीचको सहकार्यका विषयमा छलफल भएको दाहालको सचिवालयले जनाएको छ। भेटमा यान्छीले दाहाललाई चिनियाँ राष्ट्रपछि सी चीनफिङको किताब उपहार दिएकी छन्। चीनबाट हुन लागेको उच्चस्तरीय राजनीतिक भ्रमणका विषयमा पनि उनीहरूबीच कुराकानी भएको दाहालको सचिवालयले जनाएको छ।