काठमाडौं (ओएनएस) : २५ वर्षभन्दा बढी भूमिगत जीवन विताएका एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्ड अहिले नेपालमा प्रमुख नेताहरु मध्ये पर्दछन् । १० वर्षसम्म सशस्त्र युद्धको नेतृत्व गरेका प्रचण्डका बानी व्यहोरा र स्वभाव बेग्लै किसिमका छन् ।
प्रचण्ड अरु नेताहरु भन्दा लवाईमा बढी ध्यान दिन्थे । भएका कपडाहरुलाई आइरन लगाएर चिटिक्क पारेर लगाउन रुचाउँथे युद्धकालदेखि नै । हाँसो ठट्टा, नाच गान र गीत संगीतमा पनि विशेष रुची भएका उनलाई चिल्लो र पिरो खाना मन पथ्र्यो ।
तर आजकल उच्च रक्तचापका कारण उनी चिल्लो र पिरो कम खान्छन् । प्रचण्डले आजकल मात्र होइन, युद्धकालमा प्रवेश गर्ने बेलादेखि नै कपाल पछाडि फर्काउँथे । अचारहरुमा धनियाँको अचार बढी रुचाउँछन् प्रचण्ड ।
प्रचण्ड उनको क्याम्पस जीवनदेखि नै चुरोट पिउँथे । सन् २०२९ सालमा काठमाडौंमा आइएस्सी पढ्ने बेलादेखि उनले चुरोट पिउँन थालेका हुन् ।
चितवनबाट आफु पनि एसएलसी दिन काठमाडौ आएपछि दाजुभाइ दुवैले चुरोट पिउने गरेको बताउँछन्, उनका भाइ नारायण दाहाल । उनले शान्तिपूर्ण राजनीतिमा प्रवेश गर्दा पनि चुरोट पिइनै रहन्थे । उनले पछिल्लो ४ वर्ष यतामात्र चुरोट पिउन छोडेका छन् । काठमाडौंमा हुँदा ‘देउराली’, ‘पल्टन’, ‘पर्वत’ नामक चुरोट प्रचण्डको साथ मै हुन्थ्यो । कहिले काही उनी बिँडी पनि प्रयोग गर्ने गर्थे ।
त्यतिबेलाको चलेको ‘मैना’ बिँडी प्रचण्डको रोजाइँ थियो । पछि युद्धकालमा प्रवेश गरेपछि भूमिगत रहँदा भारतमा बसेको बेलामा ‘पानामा’ नामक चुरोट पिउँथे उनी । नेपाल रहँदा खासै धेरै बिँडी प्रयोग नगर्ने प्रचण्ड भारत गएपछि बिँडीको पारखी नै बने । भारतमा रहँदा ‘गणेश’ बिँडी सधै सेवन गर्थे प्रचण्ड ।
अहिले भने सुपारी नभइ हुँदैन प्रचण्डलाई । श्रीमानले चुरोट, बिँडी सेवन गर्ने हुँदा पत्नी सीता दाहाललाई भने निक्कै चिन्ता हुन्थ्यो । तर प्रचण्ड फकाउन माहिर थिए, रिसाएकी पत्नीलाई रमाइला कुरा गरेर फुक्र्याउँथे ।
कलेज जीवनमा प्रचण्डले हिन्दी उपन्यास पढ्थे । पार्टीमा संगठित भएपछि माक्र्सवादी पुस्तकहरु पढ्न थाले । माक्र्स, लेनिन, माओका पुस्तकहरु हाल पनि पढ्न रुची राख्छन् उनी । तनाबको बेला एकान्त ठाउँमा बसेर प्रकृतिसँगै रमाउन पाए निक्कै आनन्दित हुने बताउँथे स्वयम् उनी ।
“प्रचण्ड अचम्मका स्वभावका छन् । युद्धकै बेलादेखि उनी रमायो भने एकदमै धेरै रमाउने, दुखी भयो भने उत्तिकै धेरै सम्हालिन नसक्ने खालको हुने गर्थे । पार्टीमा हरेक बैठकपछि रमाइलो गर्ने भन्दै सांस्कृतिक कार्यक्रमको आयोजना गरिन्थ्यो, त्यसै अनुरुप चुनवाङ बैठकपछि सांस्कृति कार्यक्रमको आयोजना गरियो । तर त्यस कार्यक्रममा रमाइलोको सट्टा हामी सबै रोयौं, अध्यक्ष त झन् भक्कानो छोडेर रुनुभो ।” घटना स्मरण गर्दै नेता देवेन्द्र पौडेल भने ।
प्रचण्ड हाउभाउ र श्रृङ्गारमा पनि ध्यान दिन्थे । उनको विशेष ध्यान कपालमा थियो । कपाल राम्रो बनाउने सोख नै थियो । सुरुदेखि नै कपाल पछाडि फर्काउने बानी थियो उनको । माओको कपालको ढाँचासँग मिल्ने र पछाडि फर्काएपछि मिलाइरहने झन्झटबाट मुक्ति पाइने हुँदा प्रचण्डले कपाल पछाडि फर्काउने गरेको बताउँछन्, उनीसँगै युद्धकालमा काम गरेका नेताहरु ।
प्रचण्ड अहिले पनि कहिलेकाही गोजीमा काइँयो लिएर हिड्छन् । तर प्रचण्डले कपालमा जेल भने नलगाउने नेता नारायण दाहाल बताउँछन् । दाहालले भने “पाएसम्म शुद्ध तोरीको तेल लगाउने बानी थियो प्रचण्डको ।”
घोडा र साइकल चढ्नु पनि प्रचण्डको विषय रुची थियो । भुमिगत रहँदा भारतको मुम्बइमा प्रचण्ड साँझको समयमा साइकल लिएर डुल्थे । ‘हिरो हर्कुलस’ नामको साइकल प्रचण्ड सरसररर मुम्बइका सहरमा घुम्थे । त्यतिबेला साइकलको मूल्य झण्डै रु एक हजार (भारतीय) मा प्रचण्डकै रोजाइँमा किनिएको थियो । पछि गिरफ्तारीको डर हुने भन्दै पार्टीकै अरु नेताहरुले बाहिर नहिँड्न सुझाव दिएपछि उनले त्यसरी हिँड्न छाडेका थिए । रोल्पामा भने उनी घोडा चढेर हिन्थे ।