प्रचण्ड किन असफल हुँदै आएका छन् ?

337
  •  
  •  
  •  

prachandaसमाचार टिप्पणी : 

उखानै छ, तित्राको मुखै बैरी । नेपाली समाजमा तित्रालाई चातुर्यको प्रतीकका रुपमा लिइन्छ । नेपाली राजनीतिमा एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि चतुर खेलाडीको उपमा नपाएका होइनन् ।

उनको चातुर्यले नै द्वन्द्वको दुन्दुभी फैलियो । नेपाली समाज र राजनीतिका जरा एकैपटक तलैसम्म हल्लिए । जब उनी खुला राजनीतिमा आए र सार्वजनिक वक्तव्य दिन थाले, उनको ओरालो यात्रा सुरु भयो । धेरै ठाउँमा उनी आफ्नै बोली र व्यवहारका कारण अप्ठेरोमा परेका छन् । कति ठाउँमा उनले माफी नै माग्नुप¥यो । कति ठाउँमा उनले माफी माग्ने समेत हैसियत गुमाएर गोलमटोल कुरा गर्नुप¥यो ।

आज उनी यति सस्ता सावित भएका छन् कि बोलीमा विश्वास, भरोसा वा आस्थाको लेस पनि पाउने नेपाली जनता खोज्नुपर्ने अवस्था छ । लाग्छ, एक मात्र पुत्र प्रकाश दाहालले समेत बेचैनीको हदमा पुगेर राजनीतिक सहयोगीको भूमिका त्यागेर पशुपालन रोजेका छन् ।
पोखरामा भएको भूमिगत बैठकबाट सिधै तत्कालीन गृहमन्त्री कृष्ण सिटौलाका साथ काठमाडौँ छिरेका प्रचण्ड हरेकपटक पूरा नहुने र गर्नै नहुने तर्क बोकेर कुर्लने गर्छन् । जुन उनकै लागि पासो बन्ने गरेको छ । आखिर किन अस्वाभाविक, अपत्यारिलो, असान्दर्भिक र असम्भव कुरा बोल्दै हिँड्छन् उनी ? कतै त्यो अभिव्यक्ति उनको आफ्नै नभई कसैको बहकाउ वा प्रयोगको उपज त होइन ?
तत्कालीन प्रधानसेनापती रुक्मांगद कटवाललाई कार्वाही नगर्न गिरिजाप्रसाद कोइरालादेखि उनको हित चिताउने अन्य दलका नेताले दिएको सुझावलाई उछिनेर उनलाई ‘तपाईँ कार्वाही गर्नूस्, हामी छौँ पछाडि’ भनेर केहीले उचाले । र, प्रचण्डलाई सत्ताबाट खसाले ।

आफ्नो पक्षमा राम्रो बहुमत भएको संविधानसभालाई उपयोग गरेर संविधान निर्माण गर्नुभन्दा सत्ताको खेलमा लागे । र, अन्तिममा बाबुराम भट्टराई नेतृत्वको सरकार बनाई लडाकूलाई घर पठाउनेदेखि संविधानसभा विघटनसम्म गर्न लगाए । जसले गर्दा बचेखुचेको कार्यकर्ताको माया पनि गुमाए ।
कार्यकर्ताको बीचमा पुग्दा विद्रोह गर्ने, अनि राजनीतिक दलसँग बस्दा शान्ति प्रक्रियामा आएर संविधान बनाउने भनेर सधैँ दोहोरो खेल खेलिरहे उनले । अन्तिममा उनले एक पक्षलाई धोका नदिई हुँदैनथ्यो । त्यसै भयो । र, लडाकुलाई मध्यराति नेपाली सेना लगाएर ब्यारेकबाट निकाले । त्यसको आक्रोशको तारो पनि प्रचण्ड नै बने । prachanda-baburam

‘दुई जिब्रे ‘ स्वभाव र भूमिकाका कारण न त उनले दलको विश्वास जित्न सके । न विश्वासमा लिनुपर्छ भन्ने आवश्यकताको बोध नै भयो उनमा । न कसैले यस्तो आवश्यकताबोध गराए । त्यसको सट्टामा उनलाई कार्यकर्ताबाट पनि अविश्वास मात्र हात लाग्यो ।

त्यसपछि उनी गैरदलीय सरकार बनाउने ‘प्राजेक्ट’मा प्रयोग भए, जसले गर्दा खिलराज रेग्मीको नेतृत्वमा सरकार त बन्यो नै । तर, त्यो सरकारले उनको हितमा काम गरेन । सरकार बनाएकामा अपजस जति उनको टाउकामा गयो, चुनावको नतिजा कांग्रेस–एमालेको पोल्टामा गयो र चुनाव सम्पन्न गराएको जस खिलराज रेग्मीको भागमा प¥यो ।

संविधानसभाको चुनावमा आउँछ भनेर सबै सर्त छोड्दा पनि आफू सँगसँगै युद्ध लडेका मात्रै होइन, राजनीतिमा उनका गुरुसमेत मानिएका मोहन वैद्य नेतृत्वको नेकपा–माओवादीलाई चुनावमा आउनै नदिने कसैको चाहनालाई पूरा गर्ने हतियार पनि प्रचण्ड नै बने । त्यो हतियार आत्मघाती थियो । घात गरेरै छाड्यो ।

दोस्रो संविधानसभा निर्वाचनताका उनले आफै बनाएका एक से एक कार्यक्रम हुँदाहुदै एकाएक कसैको प्रस्तावमा उनले मेची–महाकाली अभियान चलाए । जहाँ उनको पछाडि ठूलो भीड पनि देखियो । जुन भीड साँच्चै प्रचण्डलाई जिताउनको लागि नभई चुनावबाट भाग्लान् कि भनेर उनको पक्षमा देखाइएको माहोल थियो । त्यसको कृत्रिमता उनले चिन्न सकेनन् । बुझ्न सकेनन ।

चुनावको नतिजा उनको विपक्षमा आयो । त्यो नतिजा अप्रिय भए पनि अप्रत्यासित अवश्य थिएन । र, शान्तिपूर्ण रुपमा सम्पन्न भइसकेको र राष्ट्रिय–अन्तराष्ट्रिय जगतले शान्तिपूर्ण भनेर लालमोहर लगाइसकेको चुनावको विश्वसनीयतामा प्रश्न उठाउँदै आफै गिल्लाको पात्र बन्ने निश्चित थियो । यति जान्दाजान्दै पनि चुनावमा धाँधली भएको भनेर नाटक गरे । त्यो धेरै दिन टिकाउन हुँदैन भन्ने जान्दाजान्दै उनी त्यसमा फेरि फसे । अर्थात्, उनलाई पार्टीभित्रैबाट कसैले यस्तो बोल्नू, यस्तो विज्ञप्ति निकाल्नू भनेर फसाइयो । हरुवा गोरुको छेरुवा दाउ भनेर प्रचण्डको गर्नु गिल्ला गरिसकेपछि पार्टीका अरु वरिष्ठ नेताहरु जिम्मेवार नेताको उद्गारसाथ उदाए, ‘हो हाम्रै कमजोरी हो’ भनेर ।्

अहिले फेरि उनी आन्दोलनका कुरा गर्न थालेका छन् । यति मात्रले नपुगेर बंकर र विद्रोहका बासी शब्दावलीले नेपाली जनमनमा अरु बेचैनी थप्दै छन् । र, यता उनकै पार्टीका अरु नेता कि त भद्रभलाद्मी शैलीमा वार्ताका पहलकर्ता बनेका छन्, कि त बिरामी अनुहार टेलिभिजनमा देखाएर सहानुभूति सोहोर्ने यत्नमा छन् । लाग्छ, कसैले अहिले आन्दोलनको कुरा गर्दा सबै माग पूरा हुन्छ भन्ने भ्रम दिएका त होइनन् ? अहिले संविधान बन्ने बेलामा दलहरुसँग भएको सहमतिभन्दा टाढा पुगेर आन्दोलनको कुरा गरे भने फेरि उनले अर्को गल्ती थप्नेछन् । बरु एकपटक आफ्नै सल्लाहकारको भूमिकाबारे पुनःविचार गर्ने हो कि ?


  •  
  •  
  •