काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ ले एक चीन नीतिप्रति नेपाल सँधै अडिग रहेको बताएका छन् ।
नेपाल–चीन मिडिया फोरमले शुक्रबार आयोजना गरेको ‘नेपाल–चीन सहयोग सुदृढीकरण र दुई देशबीचको जनस्तरको सम्बन्ध विकासमा सञ्चार क्षेत्रको भूमिका’ विषयक कार्यशालामा अध्यक्ष प्रचण्डले सो कुरा बताएका हुन् ।
जुनसुकै सरकारले त्यसलाई निरन्तरता दिने बताउँदै प्रचण्डले चीनको नेपालप्रतिको नीति पनि अपरिवर्तनीय नै रहेको बताए ।
यस्तै उनले निकटका छिमेकीसहित विश्वका सबै देशसँग नेपालले सन्तुलित सम्बन्ध कायम गर्नुपर्नेमा जोड दिँदै सबैभन्दामाथि नेपाल राष्ट्रलाई राख्नुपर्ने बताए ।
नेपाली जनताको सामाजिक–आर्थिक विकासको चाहना साकार तुल्याउन सन्तुलित सम्बन्धको जगमा सहायता जुटाउनेमा केन्द्रित हुनुपर्ने सुझाव दिए ।
सन्तुलित सम्बन्धलाई नेपालको विकासका निम्ति उपयोग गर्नुपर्ने उनको भनाइ थियो ।
चिनियाँ राष्ट्रपति सी चीनफिङको हालै सम्पन्न भ्रमणपछि द्विदेशीय सम्बन्धमा नयाँ आयाम थपिएको बताउँदै उनले नेपाललाई भू–जडित देश बनाउन सघाउने राष्ट्रपति सीको घोषणाले सारा नेपाली उत्साहित भएका र पारस्परिक सम्बन्ध सुदृढ भएको बताए ।
राष्ट्रिय एकतालाई सुदृढ, भौगोलिक अखण्डताको रक्षा, जनताको सार्वभौमसत्ता र स्वाधीनताको संरक्षणजस्ता राष्ट्रिय महत्वका विषयमा सञ्चार क्षेत्रले जनमतलाई प्रभावित पार्नुपर्नेमा उनले जोड थियो ।
अध्यक्ष प्रचण्डले भारतसँगको सीमा समस्या राजनीतिक एवं कूटनीतिक माध्यमबाट समाधान गर्नुपर्ने बताए ।
कार्यशाला उद्घाटनसत्रमा पूर्वपरराष्ट्रमन्त्री डा रामशरण महतले चीनले हासिल गरेको विकासबाट नेपालले लाभ लिन सक्नुपर्ने बताए ।
नेकपाका विदेश मामिला विभागका उपप्रमुख विष्णु रिजालले चिनियाँ राष्ट्रपतिको पछिल्लो भ्रमणले दुई देशको सम्बन्ध रणनीतिक साझेदारीमा प्रवेश गरेको तथा नेपालले भारत र चीनसँग सन्तुलित छिमेक सम्बन्ध स्थापित गरी स्वतन्त्र परराष्ट्र नीतिलाई व्यावहारिक रुपमा कार्यान्वयन गरेको बताए ।
हेर्नुहोस् भिडियो
क. प्रचण्ड / Comrade Prachanda यांनी वर पोस्ट केले गुरुवार, २८ नोव्हेंबर, २०१९