आवश्यक परे संवैधानिक र शान्तिपूर्ण तरिकाले संविधान संशोधन गर्न सकिन्छः प्रचण्ड

736
  •  
  •  
  •  

सुनसरी । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’ले वर्तमान संविधान सहमतिको दस्तावेज भएकाले आवश्यक परे संवैधानिक र शान्तिपूर्ण तरिकाले संशोधन गर्न सकिने बताएका छन् ।

सुनसरीको झुम्कामा आयोजना गरिएको जितिया महोत्सवलाई आइतबार सम्बोधन गर्दै अध्यक्ष दाहालले सामाजिक न्यायसहितको संविधानले सबैको हित गर्ने बताए ।

उनले भने, ‘यस्तो संविधानकै कारण आज राष्ट्र मुलभूत रुपमा एकताबद्ध भएको छ । समानुपातिक व्यवस्थाले थारुहरुको संसदमा बढी भन्दा बढी प्रतिनिधित्व भएको छ ।’

आफूले नेतृत्व गरेको जनयुद्धमा थारु समुदायको अग्रणी भूमिका रहेको प्रचण्डले स्मरण गरे । उनले भने, ‘थारु समुदाय राष्ट्र निर्माणको पक्षमा इतिहासदेखि नै अग्रणी स्थानमा छ ।’

थारुलाई मधेसी र जनजाति कोटामा नराखी छुट्टै पहिचान दिलाउन संवैधानिक थारु आयोग बनाइएको उनको भनाई थियो । ‘यसअघिका सरकारले छुट्टै थारु आयोग बनाएका थिएनन्, थारु समुदायले भने छुट्टै पहिचानको माग गर्दै आएका थिए,’ उनले भने ।

उनले मुलुक एकात्मक राजतन्त्रबाट संघीय लोकतान्त्रिक गणतन्त्रमा गएकोले यसलाई थारु समुदायले उपलब्धीको रुपमा लिनु पर्ने बताए। तराईमा थारु लगायत मधेसीहरुले मनाउँदै आएको जितिया पर्वको शुभकामना दिँदै अध्यक्ष प्रचण्डले नेपाल भौगोलिक रुपमा सानो भएपनि जातीय र साँस्कृतिक रुपले ठुलो भएको भन्दै यसमा सबैले गर्व गर्नुपर्ने बताए ।


  •  
  •  
  •