स्थानीय जनप्रतिनिधिलाई प्रचण्डले भने-उद्देश्य प्राप्तिमा मिहिनेत जरुरी

271
  •  
  •  
  •  

काठमाडौँ, ५ जेठ (ओएनएस) : नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनप्रतिनिधिले एकतावद्ध भएर उद्देश्य प्राप्तिका लागि मेहनत गर्न जरुरी रहेकाे बताएका छन्।  ‘जनतालई राम्रो सेवा सुविधा दियौं भन्ने प्रमाणित  गर्नु आवश्यक छ । सिंहदरबारको अधिकार जनताकै घरदैलोमा ल्याउने योजना अन्तर्गतकै तीन तहको सरकार बनेको हो । यो स्थानिय तह जनताको सेवा सुविधाका लागि हो । यहाँको जनप्रतिनिधिले जनताका बीचमा आफूलाई काम गरेको प्रमाणित गर्नुपर्छ, ’ उनले स्थानिय जनप्रतिनिधिलाई जनताको मन जितेर काम गर्न निर्देशन पनि दिए।

ललितपुर महानगरपालिका वडा न २६ को ढोलाहिटीको नवर्निमति भवनको आज विहान उद्घाटन गर्दै अध्यक्षले संघीयतामा तीन तहको सरकार सिंहदरवारको अधिकार गाउँतहसम्मै पु-याउने उदेश्यका साथ निर्माण गरिएकोले जनप्रतिनिधीले जनताको मन जितेर काम गर्नुपर्ने बताए।

उनले केन्द्रीकृत संरचनामा रहेको सिंहदरबारबाट जनताले सेवा लिन नसकेको ठानी तीन तहको सरकार बनाएको पनि स्पष्ट पारे। बजेट र पूर्वाधारको अभावले अपेक्षा अनुसार प्रत्यक्ष रुपमा सेवा प्राप्त गर्न नसकेपनि अब भने सबैकाे ध्यान त्यसैमा केन्द्रीत गर्नुपर्ने उनको भनाइ थियो ।

अहिले ऐन नियम बनिनसकेको र अभाव रहेकै वेला हिजोको एकात्मक राज्य नै ठीक भन्नेहरु अलि अलि सल्वलाउन थालेपनि क्रमशः विकास निर्माणले गति लिन थालेकोले जनताको अपेक्षा अनुसारको काम हुँदै जान थालेको अध्यक्षले बताए।  आफूले ललितपुरमै बसेर विद्रोहको तयारी गरेको, शान्ति प्रक्रियापछि पनि ललितपुरमै बसेको र अहिले ललितपुरमै आफ्नो बसाईरहेकोले पनि ललितपुर जिल्लासँग भावनात्मक सम्बन्ध रहेको उनकाे भनाइ छ।


  •  
  •  
  •