बारा, १९ चैत(ओएनएस) : पूर्व प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बारा र पर्सामा हावाहारीका कारण मृत्यु भएकाको परिवारलाई पार्टीका तर्फबाट प्रति परिवार ५ लाख रुपैयाँ दिने घोषणा गरेका छन् ।
बाराको फेटा गाउँपालिका ६ बरैनियाँ पुगेका प्रचण्डले पार्टीले मृतक परिवारलाई ५/५ लाख रुपैयाँ दिने घोषणा गरेका हुन् ।
दाहालले मधेस शोकमा रहेका बेला सिंगो देशले सहयोग गर्नुपर्ने बताए ।
हावाहुरीबाट प्रभावितलाई भेट्न मधेस झरेका प्रचण्डले मंगलबार नै पर्साको वीरगञ्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालमा उपचाररत घाइतेहरुलाई पनि भेटेका थिए । त्यसपछि फेटा–६ बरैनिया पुगेका उनले त्यहाँ आयोजित औपचारिक कार्यक्रममा करिब ३ मिनेट सम्बोधन गरेका थिए ।
यो गाउँमा हावाहुरीबाट १० जनाको मृत्यु भएको छ । आइतबार साँझ आएको हावाहुरीका कारण बारा र पर्सामा २८ जनाको मृत्यु भएको छ । मंगलबार उपचारको क्रममा एक बालकको मृत्यु भएको छ ।