माओवादी अध्यक्ष र नेकपा मसालका महामन्त्रीबीच भेटवार्ता

381
  •  
  •  
  •  

काठमाडौँ, २७ पुस (ओएनएस): नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहबीच भेटवार्ता भएको छ ।

भेटमा वाम गठबन्धनको विस्तारका साथै राष्ट्रिय तथा आर्थिक एजेण्डामा समान धारणा बनाएर जाने विषयमा छलफल भएको छ । अध्यक्ष दाहाल र सिंहलाई भेट्न बिहान उनको निवास खुमलटार पुगेका थिए । महामन्त्री सिंहबीच मुलुकको पछिल्लो राजनीतिक अवस्था, वाम गठबन्धन र नेकपा एमाले र माओवादी केन्द्रबीच हुन लागेको पार्टी एकता र वाम गठबन्धनको विस्तार लगायतका विषयमा कुराकानी भएको थियो ।

नेता सिंहले वामपन्थी मिलेर अघि बढ्दा मात्रै मुलूकमा राजनीतिक स्थिरता र विकास सुनिश्चित हुने कुरामा जोड दिएका छन्। भेटका क्रममा अध्यक्ष प्रचण्डले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा वामपन्थी मिल्दा राम्रो नतिजा आएको र देशमा सकारात्मक सन्देश गएको बताउँदै राष्ट्रियसभा निर्वाचनमा पनि एमाले, माओवादी केन्द्र र मसालबीचको चुनावी तालमेललाई कायमै राखिने बताएका थिए ।

भेटमा दुवै नेता राष्ट्रियसभा निर्वाचनमा साझा उम्मेदवार खडा गर्दै वामपन्थी एकता र तालमेललाई बलियो बनाएर अगाडि बढ्न सहमत भएका छन् । उनीहरुबीच नेपालको कम्युनिस्ट आन्दोलनलाई नयाँ उचाइमा पु¥याउने र जनताको अपेक्षालाई सम्बोधन गर्ने विषयमा साझा कार्यक्रम बनाउने विषयमा समेत छलफल भएको थियो ।


  •  
  •  
  •