संख्यामा आपत्ति छैन तर पहिचान चाहियो : दाहाल

222
  •  
  •  
  •  

काठमाडौं, २ मंसिर  (ओएनएस) : एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले कांग्रेस एमालेले पेलेरै संविधान बनाउन खोजेका कारण कुरा मिल्न नसकेको बताएका छन् । उनले संघियताको संख्या भन्दा पहिचानमा ठूलो समस्या भएको बताए । संविधानका लागि दवाव दिन पुगेको नेपाल पत्रकार महासंघको टोलीसँग आफ्नै निवासमा दाहालले कांग्रेस एमाले दम्भका कारण नै मुलुक दुर्घटनातिर अघि बढेको आरोप लगाए ।

उनले यसअघिका सहमति र समझ्दारी बाहिर गएर संविधान बन्न नदिने पनि बतए । ‘संविधानसभा जुन जगमा स्थापना भएको हो अहिले त्यो जग नै भत्काउन खोजिदै छ’ दाहालले भने, ‘जनआन्दोलन जनयुद्धको मर्म र भावना विपरीतको संविधान बनाउन खोजिदै छ त्यो हामीलाई स्वीकार्य छैन ।’

उनले १२ बुँदे समझदारी र शान्ति सम्झौता, विभिन्न जाति क्षेत्र, वर्गसँग भएका सम्झौताको मर्म र भावनाबाट सत्तारुढ दलहरु पछि हटेको आरोप लगाए । उनले एमाओवादीलाई संघियताको संख्यामा कुनै आपत्ति नभएको तर पहिचानमा सम्झौता नगर्ने पनि बताए । उनले मधेसी, दलित, जनजाति, महिला र उत्पीडित क्षेत्र तथा वर्गलाई छाडेर बनाइएको संविधानको कुनै अर्थ नहुने बताए ।

उनले पूर्वसहमति र प्रतिबद्धतामा कांग्रेस एमाले इमान्दार भए माघ ८ मै संविधान आउने सम्भावनै अझै रहेको बताए । कांग्रेस र एमालेले गणितीय आधारमा संविधान बनाउन खोजेपनि संविधानसभाबाट नभाग्ने दाहालले बताए । उनले माघ ८ गते नै संविधान बनाउन पत्रकारहरुलाई पनि दल विषेशका हिसावले प्रस्तुत नहुन सुझाव दिए ।


  •  
  •  
  •