संविधान बनाउन दाहालका दुई सर्त- ‘राष्ट्रिय सरकार वा उच्च संयन्त्र’

53
  •  
  •  
  •  

काठमाडौंं २६ भदौ ।एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहालले राष्ट्रिय सहमतिको सरकार गठन या उच्चस्तरीय राजनीतिक संयन्त्र गठन नभए संविधान बन्न कठिन हुने बताएका छन्। संविधानसभा भवन नयाँबानेश्वरमा बुधबार केही पत्रकारसँग कुरा गर्दै दाहालले नेपालमा संविधान जारी भएका इतिहास हेर्दा प्रमुख दल एक ठाउँमा रहेको उदाहरण प्रस्तुत गर्दै राष्ट्रिय सहमतिको सरकार र उच्चस्तरीय राजनीतिक संयन्त्र गठनमा जोड दिएका हुन्।

‘नेपालको इतिहास हेर्दा सबै पार्टीको सहमतिको सरकार भएको बेला संविधान बनेको छ,’ दाहालले भने, ‘प्रमुख पार्टी विभाजित भएर संविधान बनेकै छैन। त्यसैले राष्ट्रिय सहमतिको सरकार भयो भने संविधान बनाउन सहज हुन सक्छ। सहमतिको सरकार पनि नबन्ने, उच्चस्तरीय राजनीतिक संयन्त्र पनि नबनाउने हो भने संविधान बन्न कठिन हुन्छ।’
दाहालले कांग्रेस र एमाले मिलेर सरकार बनाएकाले पनि अहिले उच्चस्तरीय राजनीतिक संयन्त्रले मात्र शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्न र संविधान निर्माणमा सहयोग पुर्यायउन सक्ने तर्क गरे। ‘कांग्रेस र एमालेको सरकार बन्यो, हामी अहिले विपक्षमै छौं,’ दाहालले भने, ‘हामी विपक्षमै बस्न तयार छौं तर उच्चस्तरीय राजनीतिक संयन्त्र वा सहमतिको सरकार नबन्ने अवस्थामा संविधान बन्न गाह्रो छ।’
आफू र आफ्नो पार्टीले कुनै पनि हालतमा सरकार ढाल्ने मनस्थिति नबनाएको पनि उनले प्रस्ट्याए। कांग्रेस सभापति सुशील कोइरालाको नेतृत्वमै संविधान बनोस् भन्नेमा आफूहरु रहेको दाहालको प्रस्टोक्ति थियो। ‘सरकार हाम्रो एजेन्डा नै होइन,’ उनले भने, ‘सरकार ढालेर अर्को बनाउने भन्नेतिर हामी छैनौं। सुशील कोइरालाको नेतृत्वमा रहेको सरकारकै नेतृत्वमा संविधान बनोस्। प्रचण्डले सरकार ढाल्न लाग्यो भन्ने कुरा सत्य होइन।’
उच्चस्तरीय राजनीतिक संयन्त्रको नेतृत्व भने दाहालले घुमाउरो शैलीमा आफैंले दाबी गरे। संयन्त्रको अध्यक्ष आफूले चाहेको नभई समयको आवश्यकता भएको दाबी उनको छ । ‘मलाई संयन्त्रको अध्यक्ष चाहिएको छैन,’ दाहालले खुलस्त पार्दै पत्रकारहरुसँग भने, ‘मैले सदनमा पनि यो कुरा बोलेँ। शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्न र संविधानका लागि राजनीतिक समिति चाहिन्छ भनेकै हो।’
शान्ति प्रक्रियाको एउटा पक्षका रुपमा आफू अहिले विपक्षी दलको नेता भएकाले शान्ति प्रक्रिया र संविधान निर्माणका लागि पनि त्यस्तो समितिको नेतृत्व आफूलाई दिँदा जनता र अन्तर्राष्ट्रिय समुदायले सहज मान्ने अवस्था आउने उनले बताए। ‘यो कुरा सत्तापक्षले बु‰नुपर्ने हो। गिरिजाप्रसाद कोइराला अहिले हुनुहुन्न। उहाँ सानो दलका नेता हुँदा मैले नै तपार्इं संयन्त्रको अध्यक्ष हुनुपर्छ भन्ने प्रस्ताव गरेको हुँ। ठूलो–सानो पार्टी भन्ने कुरा अहिले छाडिदिए हुन्छ,’ उनले भने।
दाहालले कांग्रेस र एमालेमा ‘प्रचण्डफोबिया’ भएको आरोप लगाए। ‘कांग्रेस र एमालेलाई कहीँ न कहीँ प्रचण्डफोबिया भएको छ। कांग्रेस र एमालेको दिमागमा प्रचण्ड आयो भने के के गर्छ भन्ने परेको छ,’ दाहालले भने, ‘सत्तापक्षले मकहाँ आएर तपाईं संयन्त्रको अध्यक्ष बनिदिनुपर्यो भन्नुपर्ने ठाउँमा प्रचण्डले मागेजस्तो देखिएको छ। यो गलत छ।’
अध्यक्ष दाहालले नेकपा–माओवादीका केही सर्त रहेकाले अघिल्लो चुनावमा सहभागी गराउन नसकेको स्पष्ट पारे। ‘(मोहन) वैद्यजी अघिल्लो पटक पनि द्विविधामा हुनुहुन्थ्यो,’ दाहालले भने, ‘भाग नलिने भन्ने पनि उहाँहरुको थिएन। केही सर्त मात्रै थिए। उहाँहरुले खिलराज रेग्मीको राजीनामा गरेर समय सारौं भन्नुभएको थियो। त्यसपछि अब समय पनि नसारौं भन्ने प्रस्ताव मैले नै गरेको हुँ। यसैभित्रबाट मिलाएर ल्याउँ्क भनेको हो। यसमा म नै जिम्मेवार छु।’
दाहालले नेकपा–माओवादी संविधान निर्माण प्रक्रियामा पहिलेभन्दा लचक भएकाले सर्वपक्षीय राजनीतिक सभा गर्न लागिएको जानकारी दिए। यद्यपि, यो अनन्तसम्म जान नसक्ने स्पष्ट पारे। ‘अहिले वैद्यजीहरुलाई अघिल्लोपटक अलिकति गल्ती भयो भन्ने लागेको छ,’ दाहालले भने, ‘संविधानसभामै सहभागी हुन चाहेको अवस्था हेर्दा सर्वदलीय सभामार्फत सहभागी गराउन प्रयत्न गर्नुपर्छ भन्ने हो। तर अनन्तसम्म लैजाउँ्क भन्ने होइन। अहिले उहाँहरु पनि सकारात्मक हुनुहुन्छ। संविधान निर्माणमा सहभागी हुन चाहनुभएको छ।’ नागरिकबाट


  •  
  •  
  •