प्रचण्डलाई “अन द स्पट” जागिर दिएँ

101
  •  
  •  
  •  

रामकुमार श्रेष्ठ अचेल रिटायर्ड लाइफ बिताइरहेका छन् । १० वर्ष माविको हेडमास्टर भएका उनी निजामती सेवामा प्रवेश गरेर सचिव पदसम्म मात्रै पुगेनन्, मन्त्री पद पनि सम्हाले । एमाओवादी अध्यक्ष प्रचण्डसँगको चिनजानले उनलाई त्यति माथिल्लो जिम्मेवारी हासिल गर्न सहज बनाइदिएको थियो । ०३२ मा जागिर खोजिरहेका प्रचण्डलाई आफू हेडमास्टर भएको स्कुलमा ‘अन द स्पट’ जागिर दिएका थिए, श्रेष्ठले । अढाइ वर्षपछि प्रचण्डले राजीनामा दिए ।

ramkumarत्यसवेलाका हेडमास्टर श्रेष्ठले त्यसवेलाका शिक्षक पुष्पकमल दाहाल र अहिलेका नेता प्रचण्डबारे नयाँ पत्रिकासँग गरेको कुराकानी : गाउँको स्कुल (आरुघाट)बाट आठ कक्षा पास गरेपछि थप पढ्न काठमाडौँ आएँ । गाउँमा मावि तहको विद्यालय थिएन । जेपी स्कुलबाट एसएलसी ०२१ मा पास गरेँ । ०२६ मा त्रिचन्द्र क्याम्पसबाट ब्याचलरको अन्तिम परीक्षा दिएर गाउँ फर्किएँ । त्यसवेलासम्म मेरो गाउँबाट कसैले ब्याचलर गरेको थिएन । ब्याचलरको जाँच दिनेमा मसँगै अर्को एकजना पनि थिए ।

आरुघाटमा भर्खरै अस्थायी हाइस्कुल स्थापना भएको थियो । ब्याचलर पास गरेको व्यक्ति हेडमास्टर भए मात्र स्कुल स्थायी बन्थ्यो । ब्याचलरको जाँच दिएर गाउँ फर्केपछि अगुवाहरूले हामी दुवैजनालाई ‘गाउँमै बस्नुपर्छ’ भन्न थाले । ‘गाउँको विकास गर्ने, स्कुललाई स्थायी गर्नुपर्‍यो’ भन्दै सबैजनाले ‘दुईमध्ये जो बिए पास हुन्छ ऊ हेडमास्टर हुने’ भने । गाउँमा गएर शिक्षक बन्ने मेरो कुनै योजना थिएन । तैपनि सारा गाउँलेले भनेपछि दुवैजनाले ‘हुन्छ’ भन्यौँ । ब्याचलरको रिजल्ट आयो । संयोगले म पास भएँ । ०२६ चैतमा स्वत: माविको हेडमास्टर भएँ । मावि पनि स्थायी भयो । हेडमास्टर नियुक्त हुँदा २१ वर्षे युवा थिएँ ।

गाउँको स्कुल (आरुघाट)बाट आठ कक्षा पास गरेपछि थप पढ्न काठमाडौँ आएँ । गाउँमा मावि तहको विद्यालय थिएन । जेपी स्कुलबाट एसएलसी ०२१ मा पास गरेँ । ०२६ मा त्रिचन्द्र क्याम्पसबाट ब्याचलरको अन्तिम परीक्षा दिएर गाउँ फर्किएँ । त्यसवेलासम्म मेरो गाउँबाट कसैले ब्याचलर गरेको थिएन । ब्याचलरको जाँच दिनेमा मसँगै अर्को एकजना पनि थिए । आरुघाटमा भर्खरै अस्थायी हाइस्कुल स्थापना भएको थियो । ब्याचलर पास गरेको व्यक्ति हेडमास्टर भए मात्र स्कुल स्थायी बन्थ्यो ।

ब्याचलरको जाँच दिएर गाउँ फर्केपछि अगुवाहरूले हामी दुवैजनालाई ‘गाउँमै बस्नुपर्छ’ भन्न थाले । ‘गाउँको विकास गर्ने, स्कुललाई स्थायी गर्नुपर्‍यो’ भन्दै सबैजनाले ‘दुईमध्ये जो बिए पास हुन्छ ऊ हेडमास्टर हुने’ भने । गाउँमा गएर शिक्षक बन्ने मेरो कुनै योजना थिएन । तैपनि सारा गाउँलेले भनेपछि दुवैजनाले ‘हुन्छ’ भन्यौँ । ब्याचलरको रिजल्ट आयो । संयोगले म पास भएँ । ०२६ चैतमा स्वत: माविको हेडमास्टर भएँ । मावि पनि स्थायी भयो । हेडमास्टर नियुक्त हुँदा २१ वर्षे युवा थिएँ । हेडमास्टर त बनँे । विद्यालयको भवन थिएन । भौतिक संरचना निर्माणमा जोड गरेँ । हरिशमशेर राणाको धेरै जग्गा थियो । हरिशमशेरको मृत्यु भएपछि उनकी पत्नीबाट एक सय ५६ रोपनी जग्गा स्कुलको नाममा बकस दिइन् । हरिशमशेरका छोराले अरू कसैलाई दिन खोजेका रहेछन् । मुद्दा पर्‍यो । अन्तत: स्कुलको नाममा जग्गा आयो । त्यसैमा भौतिक पूर्वाधारहरू निर्माण गर्‍यौँ ।

……

म हेडमास्टर भएर पढाउन थालेको ६ वर्ष भएको थियो । ०३२ को एक दिन कार्यकक्षमै थिएँ । थोरै दाह्रीजुँगा भएको, पातलो–पातलो ज्यान भएको, झोला भिरेको एउटा लर्के जवान ‘सर नमस्ते’ भन्दै मेरो कार्यकक्षमा छिरे । मैले सोधेँ, ‘के कामले आउनुभयो होला ?’ ‘सर, मेरो नाम पुष्पकमल दाहाल । घर चितवन हो । बिएस्सी पास गरेको छु । जागिर पाइन्छ कि भनेर आएको,’ हेर्दै जाँगरिलो देखिने ती युवकले भने । झोलाभित्रबाट आफ्नो शैक्षिक योग्यताको प्रमाणपत्र झिकेर मेरो टेबुलमा राखिदिए । उहाँ आर्थिक अवस्था कमजोर भएर जागिर खोज्न आएजस्तो देखेँ । अनुहार जागिर खोज्न भौतारिरहेझैँ देखिन्थ्यो । हाम्रो स्कुलमा गणित र विज्ञान पढाउने शिक्षकको अभाव थियो । मैले सोधेँ, ‘हामीकहाँ विज्ञान र गणित पढाउने शिक्षकको आवश्यकता छ ।

 

तपाईं पढाउन सक्नुहुन्छ ?’ उहाँले ‘सक्छु’ भन्नुभयो । मैले ‘त्यसो भए तपाईंलाई शिक्षकमा नियुक्ति दिन्छु’ भनेँ । उहाँको सर्टिफिकेट हेरेँ । भेटेको एक घन्टाजतिमै नियुक्ति दिएँ । हामीलाई पनि ‘ढुंगा खोज्दा देउता मिलेजस्तै’ भयो । खुसी भयौँ । उहाँलाई शिक्षक नियुक्ति गर्दा भर्खरै राष्ट्रिय शिक्षा योजना लागू भएको थियो । मेरो तलब चार सय थियो । उहाँ तीन सय ५० जति तलब पाउने गरी नियुक्त हुनुभयो । अध्यापन सुरु गरेको ६ महिनापछि उहाँ स्वत: स्थायी हुनुभयो । भोलिपल्ट उहाँ विद्यार्थीलाई पढाउन कक्षाकोठा छिर्नुभयो । हेडमास्टर र मास्टरका हिसाबले उहाँ र मेरो सम्बन्ध असाध्यै राम्रो हुँदै गयो । ‘वेब–लेन्थ’, स्वभाव आदि मिलेर पनि यस्तो भएको होला ।

हेडमास्टरको नाताले मसँग उहाँले सम्बन्ध राख्न चाहेको पनि हुन सक्छ । मैले पनि ‘यो शिक्षक प्रतिभावान् छ, मसँगै स्कुलमा बसोस्’ भन्ने चाहेको थिएँ । उहाँप्रति बढी सद्भाव र माया थियो । उहाँका लागि बजारमै डेरा खोजिदियौँ । उहाँले ‘साँझ–बिहान ट्युसन पढाउनुभयो भने तलब पूरै बच्छ र घर पठाउनुहुन्छ’ भन्ने हाम्रो सोच थियो । उहाँले केही महिनापछि ‘माथि आरुटारमा गएर बस्छु’ भन्नुभयो । मैले ‘किन टाढाको गाउँमा गएर बस्ने । केही असुविधा भएको भए भन्नुस्’ भनेँ । उहाँले ‘असुविधा केही छैन, तैपनि आरुटारमै गएर बस्छु’ भनेर जिद्दी गरेपछि ‘जानुस्’ भनेँ । उहाँ गाउँलेसँग असाध्ये मिल्ने । पूरै गाउँले पाराले बस्नुभयो । बेलुका नाचगान गर्ने, आफ्ना उमेर समूहका साथीसँग हाँसीमजाक गर्ने गर्न थाल्नुभयो । गाउँलेसँग धनी–गरिब, किसान–मजदुर, मानवअधिकारका कुरा गर्न थाल्नुभयो । शोषण भनेको के हो, पुँजीपति भनेको के हो, विभेद के हो भन्ने विषयसँगै सरसफाइ, आधुनिक कृषि र शिक्षाको महत्त्वबारे गाउँलेलाई सिकाउन थाल्नुभयो ।

 

…………………

मैले उहाँका गतिविधि वाच गरिरहेको थिएँ । ‘यो मान्छेले कहीँ न कहीँ प्रगतिशील विचार प्रवाह गरिरहेको छ’ भन्ने लागेको थियो । तर, स्कुलमा कहिले यसको छनक दिनुभएन । ‘म यो पार्टीको हुँ, मेरो उद्देश्य यो हो’ कहिल्यै भन्नुभएन । यो पार्टी राम्रो, यो व्यवस्था राम्रो भन्ने कुरा पनि कहिल्यै गर्नुभएन । उहाँ जुन विषयमा कुरा राख्नुहुन्थ्यो, त्यसका आधारमा उहाँ के चाहनुहुन्छ भन्ने अनुमान गर्न भने सकिन्थ्यो । तर, असाध्यै चलाखीपूर्ण तरिकाले कुरा राख्नुहुन्थ्यो । उहाँले त भित्र–भित्र जनतालाई आफ्नो मतमा ‘कन्भिन्स’ गरिसक्नुभएको रहेछ । जनता ‘यो सरले भनेको कुरा ठीक हो है’ भन्थे ।

कांग्रेस प्रमुख सचेतक चिनकाजी श्रेष्ठले सँगै पढाउनुहुन्थ्यो । उहाँ स्कुलमा कांग्रेसकै कुरा गर्नुहुन्थ्यो । पार्टीका बैठकमा जानुहुन्थ्यो । तर, प्रचण्डजी त्यसो गर्नुभएन । म चिनकाजीजीलाई भन्थेँ, ‘बाहिर जे गरे पनि स्कुलमा यो दल ठीक यो दल बेठीक भनेर प्रशिक्षण गर्ने काम नगर्नुहोला ।’ स्कुलमा कांग्रेसको खुला गतिविधि रोक्न खोज्दा कहिलेकाहीँ असहज अवस्था आउँथ्यो । त्यसवेला प्रचण्डले सुझबुझपूर्ण सुझाब दिनुहुन्थ्यो । उहाँ राम्रो पढाउनुहुन्थ्यो ।

विद्यार्थीहरू उहाँको तारिफ गर्थे । शिक्षक, अभिभावक, गाउँले सबै तारिफ गर्थे । उहाँले पढाएको विषयमा विद्यार्थीले राम्रो मार्क ल्याउन थाले । अघिल्ला वर्षभन्दा गणित र विज्ञानमा विद्यार्थीले राम्रो गर्न थाले । उहाँको लोकप्रियताले अरू शिक्षकलाई गाह्रो पार्‍यो । अरू ‘हामी पनि पुष्पकमलजस्तो लोकप्रिय कसरी बन्ने’ भन्नेमा लागे ।

……………………

एक वर्षसम्म उहाँ ‘जागिर खान आउनुभएको हो, जागिरमा इमानदारीपूर्वक लागिराख्नुभएको छ’ जस्तो लागिरह्यो । त्यसपछि उहाँको गतिविधिले ‘कुनै मिसन लिएर पो आउनुभएको हो कि’ भन्ने लाग्न थाल्यो । तर, उहाँले आफ्नो काममा गुनासो गर्ने ठाउँ दिनुभएन । चप्पल, पाइन्टमा स्कुल आउनुहुन्थ्यो । चुरोट तान्नुहुन्थ्यो । कपालको स्टाइल अहिलेजस्तो थिएन । दारुपानी खाएको मैले देखिनँ । नेवार समुदायमा धेरै पर्व हुने, हामी भोजमा बोलाउँथ्यौँ । भोजमा ‘रक्सी खाउँm’ भन्दा ‘लिने बानी छैन’ भन्नुहुन्थ्यो । एक दिन ‘सरलाई भेट्नु छ’ भन्दै आउनुभयो । मैले ‘त्यस्तो के पर्‍यो र ?’ भनेँ ।

उहाँले ‘सर, मैले घरव्यवहार हेर्नुपर्ने भयो, म चितवन जाने भएँ, स्कुलबाट बिदा हुनुपर्ने भयो’ भनेर राजीनामा पो दिनुभयो । मैले ‘होइन, तपाईं यहाँ बस्नुपर्छ । केही समस्या भए हामी सहयोग गर्छौँ’ भनेँ । उहाँले मान्नुभएन । उहाँलाई बिदाइ गर्नुपर्ने भयो । ‘अर्को शिक्षक कसरी पाउने’ भन्ने चिन्ता भयो । बिदाइ गर्दा शिक्षक, विद्यार्थी, अभिभावक, गाउँले सबै दु:खी भए । राजीनामा पत्रमा उहाँले निजी कामले गर्दा जागिर छोड्नुपरेको लेख्नुभएको थियो । राजनीतिको कुनै कुरा थिएन । अढाइ वर्ष पढाएर उहाँ आरुघाटबाट हिँड्नुभयो । त्यसपछि उहाँसँग सम्पर्क टुट्यो ।

 

…………………

०३६ मा मैले पनि मास्टरी छोडेँ । बुबा व्यापार गर्नुहुन्थ्यो । स्कुल पढाउने, निजामती सेवामा जाने कुनै योजना थिएन । तैपनि १० वर्ष स्कुल पढाएँ । स्कुलमा टिफिन टाइममा कतिपय शिक्षकहरू ‘लोकसेवा दिएको, पास हुन निकै गाह्रो रहेछ’ भन्थे । एकपटक मैले ‘सरहरूजस्तो यति मिहिनेत गरेको व्यक्तिले लोकसेवा पास गर्न गाह्रो छ भन्नुहुन्छ । राम्रोसँग पढेर जाँच दिने हो भने पास गर्न कति नै कठिन होला’ भनेँ । मैले यति के भनेको थिएँ, जवाफ पाएँ, ‘सरले पास गरेर देखाउनुस् न ।’ त्यो चुनौतीले मेरो छातीमा बाण लागेजस्तै भयो । मैले भनेँ, ‘जाँच दिन्छु । तर, पास भए पनि जागिर खान्नँ ।’ लोकसेवामा फारम भरेँ । असार १ गते स्कुलको दुईमहिने वर्षे बिदाको सूचना टाँसेर काठमाडौं आएँ । अर्को दिन रत्नपुस्तकमा गएर किताब किनेँ । ६ दिन पढेर ७ गते जाँच दिएँ ।

एकैपटकमा शाखा अधिृकतमा पास गरेँ । स्कुलका शिक्षकहरूले बधाई दिए । फेल हुने साथीहरूले अर्को चुनौती दिए, ‘लिखितमा धेरैपटक पास भएका मानिस पनि मौखिकमा फेल भएका उदाहरण धेरै छन् । मौखिक पास गरेर देखाउनुस् न ।’ मलाई भने अन्तर्वार्ता दिने मुड थिएन । काठमाडौंमा भएको माइलो भाइले आकाशवाणी गर्‍यो, ‘भदौको १२ गते अन्तर्वार्ता छ, किन आउनुभएन ?’ १० गते काठमाडौं आएँ । १२ गते अन्तर्वार्ता दिएर गाउँ फर्केँ । पास भइएछ ।

सामान्य प्रशासन मन्त्रालयबाट नियुक्तिपत्र आयो । म गइनँ । ‘नआए नियुक्ति रद्ध हुने’ भनेर ताकेतापत्र आयो । परिवार, शिक्षक, गाउँले सबैले मलाई ‘हेडमास्टर सेकेन्ड क्लासको जागिर, शाखा अधिकृत थर्ड क्लासको जागिर । पद घट्ने पैसा घट्ने । काठमाडौं जाँदा समुद्रमा एक थोपा हुन्छस्, यहीँ बस्’ भन्न थाले । तर, मैले धेरै दिन सोचेँ, ‘यहाँ सधैँ हेडमास्टर भएर बस्ने हो । निजामतीमा अरू अवसर पनि हुन्छ ।’ त्यसपछि १० वर्ष पढाएको स्कुल छोडेर ०३६ पुसमा निजामतीमा प्रवेश गरेँ ।

………………………………

निजामतीमा आएपछि पनि प्रचण्डसँग लामो समय भेट भएन । ०५२ मा जनयुद्ध सुरु भयो । प्रचण्डजीले त्यसको नेतृत्व गर्दै हुनुहुन्छ भन्ने सुनेँ । मैले जागिर खुवाएको पुष्पकमल दाहाल त प्रचण्ड भइसक्नुभएछ । ०५४ मा वामदेव गौतम गृहमन्त्री हुँदा म चितवनको सिडिओ भएर गएँ । गृहमन्त्रीले मलाई चारवटा कार्यभार दिनुभयो– स्थानीय निर्वाचन निष्पक्ष बनाउने, मदन भण्डारीको हत्यारा पत्ता लगाउने, प्रचण्डलाई भेटे समात्ने, विकास निर्माणमा ध्यान दिने । मैले ‘हस्’ भनेँ । अरू त ठिकै थिए, प्रचण्डलाई कसरी पक्रने ? यो मेरा लागि सम्भव थिएन । संयोगवश त्यो वेला प्रचण्डले पनि सम्पर्क गर्नुभएन ।

म सिडिओ भएर प्रचण्डजीकै जिल्लामा गएको भने उहाँलाई थाहा रहेछ । उहाँले पछि भन्नुभयो ‘चितवन त गएको थिएँ, तपाईंलाई अप्ठ्यारो होला भनेर मैले भेट्न खोजिनँ ।’ मैले उहाँलाई ‘मलाई त गृहमन्त्रीले तपाईंलाई समात्न आदेश दिएका छन् । भेट भएको भए पनि भाग्नुहोस् है भन्थेँ’ भनेँ । ०५६ तिर योजना आयोगमा थिएँ । त्यहाँ सचिवज्यूले भन्नुभयो, ‘होइन रामकुमारजी तपाईंलाई थाहा होला, कसैले प्रचण्ड मरिसक्यो, यो नक्कली फोटो भन्छन् । यो फोटो नक्कली हो कि सक्कली’ भनेर सोध्नुभयो । मैले ‘सक्कली हो, उहाँ मर्नुभएको छजस्तो मलाई लाग्दैन’ भनेँ ।

…………………………

मसँगै पढेका एकजना पत्रकार साथीको प्रचण्डसँग सम्पर्क रहेछ । ०५५ मा उहाँले ‘प्रचण्डजीले तपाईंलाई भेट्न खोज्नुभएको छ’ भन्ने सन्देश ल्याउनुभयो । सरकारी कर्मचारीले राज्य व्यवस्थाविरुद्धको विद्रोहको नेतृत्व गरेर हिँडेको नेता भेट्नु जोखिमपूर्ण थियो । ०६२ तिरै हो । म सहसचिव थिएँ । अफिस जाने तयारी गर्दै गर्दा फोन आयो, ‘हेलो, रामकुमार सर बोल्दै हुनुहुन्छ ?’ ‘हो’ भनेँ । ‘चिन्नुभयो त’ भन्नुभयो । मैले ‘गाह्रो भो’ भनेँ ।

उहाँले हाँस्दै भन्नुभयो, ‘म नेकपा (माओवादी) अध्यक्ष प्रचण्ड, तपाईंको शिक्षक ।’ मैले ‘नमस्ते सर’ भनेँ । उहाँले ‘सरसँग भेट्न मन छ’ भन्नुभयो । मैले ‘हुन्छ’ भनेँ । ‘ल भोलि भेटौँ, बिहान आठ बजे तयार भएर बस्नुहोला, साथीहरू सम्पर्क गर्नुहुन्छ’ भन्नुभयो । अर्को दिन बौद्ध पीपलबोट आएर फोन गर्न भन्नुभयो । म पुगेँ । कल गरेँ । उहाँको गाडी आयो, म फलो गर्दै गएँ ।

उहाँ र बाबुराम सँगै हुनुहुँदो रहेछ । उहाँले अँगालो मार्नुभयो । ‘बाबुरामजी तपाईंको रामकुमार सरसँग चिनजान छ ?’ भन्नुभयो । बाबुरामसँग त्यहीँ परिचय भयो । प्रचण्डजीले ‘मेरो र रामकुमार सरको केमेस्ट्री मिल्छ’ भन्नुभयो । उहाँले ‘सरको घरमा आउन मन छ’ भन्नुभयो । आउनुभयो पनि ।

…………………….

शान्तिप्रक्रियामा आएपछि उहाँहरू सरकारमा जाने कुरा भयो । ०६३ तिर प्रचण्डजी मेरोमा खाना खान आउनुभयो । म सहसचिव नै थिएँ । उहाँले ‘सचिव हुने वेला भएको छैन ?’ भन्नुभयो । मैले ‘भएको त हो, तर कसैले कोटामा पारेका छैनन्’ भनेँ । उहाँले ‘तपाईंलाई सचिव बनाउन म सहयोग गर्छु,’ भन्नुभयो । सचिवमा बढुवा भएँ पनि । उहाँले ‘हाम्रो भागमा पाँच मन्त्रालय परेको छ । तपाईं कुन मान्त्रालय जाने छान्नुस्’ भन्नुभयो । मैले ‘तपार्इंहरू नै छानेर मलाई सरप्राइज दिनुस्’ भनेँ । स्थानीय विकास मन्त्रालय दिनुभयो । पछि उहाँ प्रधानमन्त्री हुनुभयो । म रिटायर्ड भइसकेको थिएँ । उहाँ सुझाब लिनुहुन्थ्यो । सरकार–सेनापति रुकमांगद कटवालबीच खटपट भएपछि कटवालजीले मलाई भेट्नुपर्‍यो भन्नुभयो । मैले प्रचण्डजीलाई भनेँ, ‘भेटौँ कि नभेटौँ ?’ उहाँले ‘भेट्नु न’ भन्नुभयो । कटवालजीसँग तीनपटक मिटिङ गरेँ । उहाँले केही गुनासो पोख्नुभयो । उहाँका गुनासोबारे म प्रधानमन्त्री प्रचण्ड र रक्षामन्त्री रामबहादुर थापा ‘बादल’लाई ब्रिफिङ गर्थेँ । तर, ‘हल’ निस्किन सकेन ।

…………………

प्रचण्डजी प्रधानमन्त्री भएको दिन हर्षको आँसु झरे । सँगै पढाएको साथी, लामो संघर्ष गरेको, देशमा गणतन्त्र ल्याउन सकेको मान्छे प्रधानमन्त्री बन्दा आँसु झर्न पुगेछ । शपथ लिएलगतै उहाँ मेरो घरमा सगुन लिन आउनुभयो । मेरा लागि त्यो गौरवको दिन थियो । प्रधानमन्त्री भएपछि उहाँले मलाई ‘कुन पदमा बस्न चाहनुहुन्छ सर ?’ भन्नुभयो । ‘मैले संवैधानिक अंग, राजदूत दिए जिम्मेवारी सम्हाल्छु’ भनेँ । उहाँले कोसिस गर्नुभयो । तर, के–के भयो, मिलेन । पछि चुनावी सरकार बनाउने कुरा भयो । प्रचण्डजीले ‘तपाईं मन्त्री हुनुपर्‍यो’ भन्नुभयो । मैले ‘चारमहिने मन्त्री खान्नँ’ भनँे । ‘चार दिन नै किन नहोस्, मन्त्री, मन्त्री नै हो, इतिहास हो । तपाईंले खानुपर्छ’ भन्नुभयो । उहाँकै दबाबमा मन्त्री पद लिएँ ।

प्रस्तुति : नेत्र पन्थी/मनोज घर्तीमगर /नयाँपत्रिकाबाट


  •  
  •  
  •