दलित कोटामा ‘मालदार व्यक्ति’ ल्हारक्याललाई नियुक्त गरियो : प्रभु साह

213
  •  
  •  
  •  

Prabhu_Shah_काठमाडौं, २७ माघ (ओएनएस) : एमाओवादीका सभासद प्रभु साहले पार्टीको तर्फबाट ल्हारक्याल लामालाई सभासद नियुक्त गरिएकोमा आपत्ति जनाएका छन् ।

साहले मंगलबार पत्रकार सम्मेलन गर्दै पार्टीमा कुनै छलफल नगरि लामालाई नियुक्त गरिएको भन्दै आक्रोस व्यक्त गरे । उनले केन्द्रीय समितिको फर्जि हस्ताक्षर गरेर सिफारिस गरिएको गम्भिर आरोप लगाएका छन् ।

गत माघ १८ गते केन्द्रीय समितिको बैठकबाट लामालाई सिफारिस गरिएको आश्चर्य लागेको साहले बताए । उनले बैठकमा लामालाई सिफारिस गर्ने बारे कुनै छलफल नभएको बताउँदै फर्जि हस्ताक्षरको आरोप लगाएका हुन् ।

साथै उनले मधेशी दलीतको कोटा खोसेर मालदार तथा विवादास्पद ब्यक्तिलाई सिफारिस गरिएकोमा पार्टीले छलछामपूर्ण र भद्दा निर्णय गरेको आरोप लगाएका छन् ।

निर्णयले केन्द्रीय समितिको अपमान गरेको बताउँदै पार्टीलाई नैतिक कठघरामा उभ्याएको साहको भनाई छ । माओवादीले जारी राखेको आन्दोलनमा नकारात्मक असर पर्ने भन्दै उक्त निर्णय सच्याउन पनि माग गरेका छन् ।

यसअघि एमाओवादी प्रवक्ता दीनानाथ शर्माले मंगलबार प्रेश विज्ञप्ति जारी गर्दै लामा अर्थराज्यमन्त्री बनाएको बेला पार्सपोर्ट विवाद भएको तर पछि त्यसबारे भएको छनविनले सफाई दिइसकेकोले विवाद नगर्न आग्रह गरेका थिए । साथै समानुपातिक उम्मेदवारमा जनजाति तथा बौद्ध समुदायको तर्फबाट विज्ञ व्यक्तित्वको हैसियतमा लामालाई पार्टीले सिफरिश गरेको भनि शर्माले स्पष्टीकरण दिएका थिए ।

यसअघि निर्वाचन आयोगले आइतबार प्रेश विज्ञप्ति जारी गर्दै लामालाई एमाओवादीको सिफारिसमा सभासदमा नियुक्त गरेको थियो । शम्भु पासवान हजारी राष्ट्रिय दलित आयोगको सदस्य पदमा वाहाल रहेको अवस्थामा सभासद चयन भएपछि उनको पद रद्द भएपछि माओवादीले लामालाई सिफारिश गरेको थियो ।

तीन वर्षअघि एमाले कोटामा अर्थ राज्यमन्त्री बनेका लामामाथि विभिन्न आरोप लागेर विवादमा परेपछि पदबाट राजीनामा दिएका थिए । लामामाथि नेपालसहित विभिन्न तीन देशको नागरिकता लिएको तथा स्वतन्त्र तिब्बत आन्दोलनमा सहभागी भएको आरोप लागेको थियो । आरोपछि गठीत छानविन आयोगको प्रतिवदेन पनि स्वतन्त्र नभएको आरोप लाग्दै आएको छ ।

एमालेसँग रुष्ट बनेका लामा संविधानसभा निर्वाचन ताका एमाओवादीमा प्रवेश गरेका थिए । त्यसयता लामा एमाओवादी अध्यक्ष प्रचण्डसँग नजिक छन् । लामाले प्रचण्डलाई आर्थिक रुपमा सहयोग गर्ने गरेको बताइन्छ ।


  •  
  •  
  •