प्रभावित क्षेत्रमा तत्काल औषधिसहितको स्वास्थ्यकर्मी खटाउन निर्देशन

69
  •  
  •  
  •  

काठमाडौं । संसदको राज्य व्यवस्था समितिले बाढी तथा डुबानमा प्रभावित क्षेत्रमा तत्काल औषधिसहितको स्वास्थ्यकर्मीको टोली खटाउन निर्देशन दिएको छ ।

बाढी प्रभावित क्षेत्रमा सरुवा रोगको प्रकोप फैलिने तर्फ सजग गराउँदै समितिले तत्काल औषधिसहित स्वास्थ्यकर्मीको टोली खटाउन निर्देशन दिएको हो ।

समितिले आइतबार गृहमन्त्री रामबहादुर थापा बादल, गृहसचिव प्रेम राई, प्रहरी प्रमुख सर्वेन्द्र खनाल लगायतलाई बोलाएर छलफल गरिएको हो ।

प्रभावित क्षेत्रमा स्वास्थ्यकर्मीको टोली खटाउन, राहत र उद्धारको कार्यलाई अझैँ प्रभावकारी बनाउन, विस्थापितलाई पुर्नस्थापित गर्न र घाइतेको प्रभावकारी उपचार गर्न समितिले सरकारलाई निर्देशन दिएको छ ।

समितिले राहत र उद्धारमा सुरक्षा निकायहरुले प्रभावकारी भूमिका देखाएकोले प्रसंशा गर्ने निर्णय पनि गरेको छ । समिति बैठकमा गृहमन्त्री थापाले अहिलेको प्रकोप प्राकृतिक भन्दा पनि मानव निर्मित बढी भएको बताए ।

जथाभावी विकास गर्ने, डाँडापाखा भत्काउने, खोलानाला थुनेर घर बनाउने प्रवृतिले क्षति बढी गरेको उनको भनाई थियो ।

विश्वव्यापाी रुपमा बढेको तापक्रम बृद्धिको असर पनि यसमा देखिएको गृहमन्त्री थापाले बताए ।

यसका साथै उनले प्रकोप पछिको राहत र उद्धारमा सरकारी संयन्त्र लागिपरेको बताए ।
बैठकमा सांसदहरु झपट रावल, रेखा शर्मा, यशोदा सुवेदी लगायतले प्रकोपको दृघकालिन समाधान खोजिनुपर्ने बताएका थिए ।


  •  
  •  
  •