काठमाडौं १ असार (ओएनएस) : विद्यूत खरिद सम्झौता राष्ट्रिय हित विपरित भएको भन्दै सभासदहरुले खारेज गर्न माग गरेका छन् । जलविद्युत्का क्षेत्रमा वैदेशिक मुद्रामा विद्युत् खरिद सम्झौता (पिपिए)राष्ट्रिय हित विपरीत भएको सभासदहरुले खारेज गर्न माग गरेका हुन् ।
सार्वजनिक लेखा समितिको आजको बैठकमा सभासदहरुले डलरमा भएको सम्झौता नेपालको हितमा नहुने दावी गरे । ३६ मेगावाटको भोटेकोसी र ६० मेघावाटको खिम्ती जलविद्युत् आयोजनामा भएको सम्झौता खारेज गर्न सभासदहरुले पनि माग गरे । सभासद प्रेमबहादुर सिंहले डलरमा पिपिए सम्झौता गर्नु अनुचित भएको टिप्प्णी गरे ।
उनले तत्काल सम्झौता खारेज गर्न पनि माग गरे । कांग्रेसका सभासद रामहरी खतिवडाले नेपालको हित बाहिर जाने गरिहुने कुनैपनि सम्झौता मान्य नहुने बताए ।
नेपाल विद्युत् प्राधिकरणलाई वार्षिक रुपमा हुने एक अरब रुपैयाँभन्दा बढी घाटामध्ये भोटेकोसी र खिम्ती आयोजनाको मात्र दुई तिहाई हिस्सा रहेको तथ्याङ्क पनि सभासदहरुले पेस गरेका थिए । सभासद दीपक बोहराले तथ्याङ्क अपूर्ण भएको बताए ।
अन्य सभासदले पनि प्रश्न उठाएपछि प्राधिकरणका पदाधिकारीलाई आगामी बैठकमा पूर्ण विवरणका साथ उपस्थित गराउनुपर्ने माग गरेका थिए ।
समितिले तीन्दिन भित्र उर्जामन्त्री उर्जासचिव र प्राधिकरणका कार्यकारी निर्देशकलाई बैठक उपस्थित हुन निर्देहन दिएको छ । सभासद्हरुको मागपछि समितिका सभापति जेष्ठ सदस्य कृष्णकुमार राइले तीन दिनभित्र उपस्थित हुन निर्देशन दिएका हुन् । बैठकले जलविद्युत् आयोजनामा डलरमा पिपिए सम्झौता भएका आयोजनाको विवरण, सम्झौता गर्नुपर्नाका कारण र सर्त, प्राधिकरणलाई परेको प्रभाव, सम्झौताको दरको विस्तृत विवरणसहित बैठकमा उपस्थित हुन निर्देशन दिएको छ ।