ऊर्जा व्यापार सम्झौतामा हस्ताक्षर ३ कात्तिकमा

85
  •  
  •  
  •  

काठमाडौं २३ असोज । नेपाल र भारतबीच बहुचर्चित ऊर्जा व्यापार सम्झौता (पीटीए) मा आगामी ३ कात्तिकमा औपचारिक हस्ताक्षर हुने भएको छ । १७ भदौमा ऊर्जा सचिव राजेन्द्रकिशोर क्षेत्री र भारतीय विद्युत् मन्त्रालयका सचिव पीके सिन्हाबीच नयाँ दिल्लीमा प्रारम्भिक सम्झौतामा हस्ताक्षर भएकोमा ३ कत्तिकमा काठमाडांैमा औपचारिक हस्ताक्षर हुन लागेको हो । ऊर्जा मन्त्रालयले २७ र २८ असोज वा ३ र ४ कात्तिक गरी दुई मितिका लागि औपचारिक पीटीएमा हस्ताक्षरका लागि भारतलाई पत्र लेखेकोमा ३ कात्तिकमा काठमाडौंमा हस्ताक्षर हुन लागेको ऊर्जा मन्त्रालयका सहसचिव एवं प्रवक्ता केशवध्वज अधिकारीले जानकारी दिए । उनका अनुसार, ऊर्जा मन्त्रालयका सचिव क्षत्री र भारतीय विद्युत् मन्त्रालयका सचिव सिन्हाबीच पीटीएमा हस्ताक्षर हुनेछ ।

लामो समयदेखिको विवाद र विरोध रहे पनि २ असोजमा नेपालको मन्त्रिपरिषद्ले पीटीए अनुमोदन गरेको थियो । त्यसैगरी, ८ असोजमा भारतको मन्त्रिपरिषदले पनि पीटीए अनुमोदन गरेको थियो । २० वर्ष अघिदेखि नेपाल र भारतबीच पीटीएका लागि सरकारी त्रबाट लामो प्रयास सम्भव भएको थिएन । सन् १९९७ मा दुई देशबीच पीटीए भए पनि संसद्बाट पारित नभएपछि त्यो कार्यान्वयनमा आएन भने त्यसको झन्डै १३ वर्पष पछि सन् २०१० मा नेपालले भारतसमक्ष पीटीएका लागि प्रस्ताव गरेपछि त्यसको प्रत्युत्तर बल्ल सन् २०१४ मा नेपालले पाएको थियो । भारतले विद्युत् उत्पादनसहितको पीटीए मस्यौदा पठाए पनि गत १६ साउनमा नेपालले भारतसमक्ष ऊर्जा व्यापार सम्झौताका लागि मात्र भन्दै अन्तिम मस्यौदा पठाएको थियो । भारतले पठाएको मस्यौदाबारे नेपालमा व्यापार आलोचना भएपछि यो मस्यौदा विवादमा समेत तानिएको थियो ।

नेकपा–माओवादीसहित साना १० दल अझै पीटीएको विरोध गरिरहेका छन् तर मुख्य दल नेपाली कांग्रेस, एमाले र माओवादी भने पीटीएको पक्षमा उभिएका थिए । १६ साउनमा यी तीनदलीय संयन्त्रले पठाएको मस्यौदालाई नेपालले भारतसमक्ष पठाएको थियो । पीटीएमा हस्ताक्षर भए पनि पीटीएपछि नेपाल र भारतबीच विद्युत् आयात निर्यातमा सहज हुनुका साथै नेपालको जलविद्युत् क्षेत्रमा विदेशी लगानीकर्ताहरूको आकर्षण बढ्ने अपेक्षा नेपालको छ । राजधानीबाट


  •  
  •  
  •