सानदार बुढेसकाल

290
  •  
  •  
  •  

काठमाडौं २९ भदौ ।
संस्कृतिविद् सत्यमोहन जोशी उमेरको ९५ वर्षमा ठमठम्ती हिँडिरहेछन्। चस्मा लगाउँदैनन्। लठ्ठी टेक्दैनन्। साँझ टुच्च एक पेग लगाउन पनि छाड्दैनन्। खानपिन, माछामासु केही बार्दैनन्। डाक्टर भेट्दैनन्। बुढयौलीका दैनिकी उनले आजका मितिसम्म अपनाउनुपरेको छैन। जीवनशैली पूरै सरल छ। सक्रिय र सानदार छ। हामीले एक साताअघि नै भेट्न खोजेको तर उनलाई जत्तिखेरै भ्याइनभ्याई।

नेपाली भाषा, सभ्यताको गम्भीर खोजका लागि २०१४, २०१८ र २०२८ साल गरी तीनपल्ट मदन पुरस्कार जितेका यी ‘लिभिङ इन्साइक्लोपेडिया’ को हरेक बिहानी कालो चियाको कपमा उदाउँछ। सिंगो दिन अध्ययन, भेटघाट र समारोहमा बित्छ। पृथ्वीमा रात खस्दै गर्दा उनको हातमा एक पेग ब्ल्याक लेबल वा अयला चढिसकेको हुन्छ। अनुहारमा हल्का लाली चढ्छ। बिस्तारै स्विच दबाउँछन्। बस्, गहिरो निद्रा पर्छ।

औधी सपना देख्छन् सत्यमोहन, तर बिहान सम्झन सक्दैनन्। बिछयौनाबाट उठेर शीतमा नाङ्गो पैंतालाले टेक्छन्। पूजाआजा गर्छन्। अंग्रेजी र नेपाली गरी दैनिक चार अखबार पढ्छन्। पहिलेभन्दा पुस्तक कम पढ्न थालेका छन्। मोबाइल बोक्दैनन्। ‘जहिल्यै टयाङ टयाङ गरिरहन्छ, झ््याउ लागेर बोक्न छाडिदिएँ,’ भन्छन्, ‘बरु एक्लै शान्त बस्नु ठीक छ।’

८१ वषर्ीया पत्नी राधादेवी सत्यमोहनको यो सिर्जनशील म्याराथन हेरिरहन्छिन्। उति चल्मलाउन हुँदैन, घरै बसिरहन्छिन्। खुट्टा दुख्ने रोगले थलिएकी उनका लागि भर्‍याङ चढ्न नपर्ने गरी पतिले अर्को घरमा सारेका छन्। पत्नीलाई अल्छी, दिक्क नलागोस् भनेर हरेक सोमबार अपराह्न ४ बजे घरैमा स्थानीय महिलाको जमघट जुटाइदिएका छन्। ‘उसले पढेलेखेकी छैन तर वैदिक धार्मिक छलफल सुन्न त सक्छे नि। त्यसैले प्रज्ञा पारमितासम्बन्धी संगीत, वाचन, प्रश्नोत्तर चलाउने व्यवस्था मिलाइदिएको छुु,’ सत्यमोहन भन्छन्, ‘वी आर् ह्याप्पी।’

वरदान हो बुढेसकाल

सत्यमोहन भदौ २१ गते ज्येष्ठ नागरिक सेवा समाजले गरेको एक समारोहमा पुगेछन्। प्रायः सबै वक्ताहरू थिए, जीवनप्रति गुनासैगुनासोले भरिएका। सन्तानको बेस्याहार र बेवास्ताबाट पीडितहरू-

‘छोराहरूले मलाई हेरेनन्। उनीहरूसँगै बस्छु, तर घरमा सधैं म एक्लै हुन्छु।’

‘भएको एउटै छोरो विदेश गयो। र्फकेर आएन। स्काइपमा हालखबर सोध्छ।’

‘रोगव्याधी खपिनसक्नु छ। भनेका बेला खुवाउने, पानी दिने कोही छैनन्।’

बोल्ने पालो आयो सत्यमोहनको। उनले आफ्नो रहस्य खोले, ‘बुढेसकाललाई अभिशाप सम्झनु भएन साथी हो। यो त हाम्रा लागि वरदान हो। जीवनलाई फर्केर हेर्ने। ठूलो आकांक्षा नराख्ने। अध्यात्ममा मन लगाउने। बाँकी जीवन सक्रिय ढंगले बिताउने।’

श्रोताहरू स्तब्ध ! यस्तो पनि हुन सक्ला र बुढेसकाल?

आफ्नो तर्कलाई प्रस्टयाउन यी लेखकले २०३८ सालमा लेखेको आफ्नै नाटक ‘मृत्यु: एक प्रश्न’ का पात्रहरूको संवाद सुनाइदिएछन्। वेदान्त दर्शनका प्रसंग मौलिक कथामा रूपान्तरित यो नाटकको मुख्य पात्र नचिकेतालाई पिता उद्दालकले मृत्युको हातमा दान गर्ने घोषणा सुनाउँछन्। त्यसपछि छोराको स्वखोजबाट मृत्युचिन्तन सुरु हुन्छ।

मृत्यु के हो भन्ने प्रश्नको समाधान यी नाटककारले सो नाटकका यमराज पात्रमार्फत बताएका छन्। जीवन र मृत्युको प्रश्न कुनै चिन्ता गर्नुपर्ने विषय नभएको, बरु सोचविचारमात्रै गरे पुग्ने सन्देश सुनाए उनले। यो नाटक छिट्टै प्रदर्शनमा पनि आउँदैछ।

सत्यमोहन आफ्ना अनुभव बाँड्दै हिँडिरहेछन्। पाटन बखुःबहालस्थित निवासबाट कीर्तिपुरस्थित नेपाल भाषा एकेडेमीसम्मको सात किमि बाटो पैदल भ्याउने उनी एक वर्षयता भने माइक्रोबसमा भेटिन्छन्। कहिल्यै वृद्ध/अशक्तको सिटमा बस्दैनन्। ‘यो बुढेसकाल शारीरिकभन्दा पनि मानसिक चीज रहेछ,’ आगन्तुकसँग भेटघाट छोट्टयाइसकेपछि सत्यमोहन बिहीबार दिउँसो कान्तिपुरसँग लामै गफिए, ‘खै किन हो, आजसम्म मलाई बूढो भएको फिलिङ नै छैन।’

लाग्छ, यी बूढालाई बुढयौलीबारे सोच्ने फुर्सद कमै छ। सक्रिय सत्यमोहनका यो वर्ष तीन नाटक प्रदर्शनमा आए। मण्डला थिएटरले मञ्चन गरेको कणर्ालीको लोककथामा आधारित ‘सुनकेशरी’ ले ठूलो चर्चा कमायो। थिएटर भिलेजले देखाएको ‘चारुमती’ र शिल्पी थिएटरले

प्रस्तुत गरेको ‘महिपाः लाखे’ ले पनि दर्शकको माया पायो।

तत्कालीन नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानमा सहसदस्य भएका बेला उनले नेपाली खस सभ्यताको व्युत्पति थलो कणर्ालीस्थित सिँजाखोलामा गएर अनुसन्धान थाल्ने निधो गरे। त्यहाँको भाषा, लोकजीवन, संस्कृतिलाई समाजशास्त्रीय, अर्थशास्त्रीय आँखाबाट चिहाए। ‘कणर्ाली विकट छ, गरिब छ भन्ने सबैलाई थाहा थियो, तर कणर्ाली धनी छ भन्ने कसैलाई थाहा थिएन,’ उनी भन्छन्, ‘हामीले पाँच अनुसन्धाताको

टिम लगेर जब अध्ययन थाल्यौं। हामीलाई सघाउन सबै आए।’
कान्तिपुरबाट


  •  
  •  
  •