संविधान निर्माण छाडेर सत्ता समीकरणतर्फ

124
  •  
  •  
  •  

4 dal
फाइल फोटाे : चार दल बैठक

काठमाडौं, ८ चैत (ओएनएस) : सत्तारुढ र प्रतिपक्षी दलहरु बाँडफाटको मनस्थितिमा पुगेका छन् । संविधान निर्माणमा देखिएको अविश्वास र त्यसबाट श्रृजित तिक्तताले वार्ताको वातावरण नैं भाँडिएजस्तो अवस्थामा पुगेका सत्तापक्ष र प्रतिपक्षबीच भित्र–भित्र भने सौहार्दपूर्ण वार्ता भइरहेको रहस्य खुलेको छ ।

सत्तापक्षदेखि प्रतिपक्षसम्मले वार्ताको ‘फोकल प्वाइन्ट’ भने बालकोट (ओली निवास) लाई बनाएका छन् । केहीदिन पहिलेदेखि नैं मधेसी नेतादेखि माओवादी नेतासम्म ओली निवास पुगेर वार्ता गर्नेगरेका थिए । त्यसक्रममा नेताहरुले संविधानका विवादित विषयको सहमतिका विषयमा छलफल भएको बताउने गरेपनि भित्र भने अकै विषयमा छलफल हुन थालेकोछ ।

एकीकृत नेकपा माओवादीका नेता डा. बाबुराम भट्टराईले माघ ११ गते संविधानसभामा बढाएको प्रक्रियाले १२ बुँदेका सहयात्रीबीच खतर्नाक ध्र्रुवीकरण देखिएको भन्दै अब अर्को समझदारी आवश्यक भएको बताए । त्यो समझदारी कस्तो हो त ? भन्ने प्रश्नमा भट्टराई भन्छन्, ‘त्यो यस्तो हो भन्दापनि प्रधानमन्त्रीले भने जस्तो ‘वीन–वीन’ अर्थात ‘गिभ एण्ड टेक’ हुन सक्छ ।’

उनले सत्ताको लेनदेनबारे भने खुलाइनन् । ‘हिजो १२ बुँदेदेखि शान्ति प्रक्रियासम्म त्यस्तो विश्वासमा काम अघि बढिरहेको थियो’ भट्टराईले भने, ‘अहिले प्रधानमन्त्रीको विश्वास प्राप्त प्रतिनिधि चिन्न समेत गाह्रो भइरहेको छ ।’ भट्टराईले यसो भनेर एउटा विश्वासीले संयन्त्रमार्फत विश्वासको वातावरणसहित प्याकेज सहमति गर्न खोजेको खुलाए ।

‘अघोषित कार्यदलबाट काम सकेर नेताहरु औपचारिकताका लागि साक्षीसहित हस्ताक्षर गर्न पुग्नुपर्ने हो’ भट्टराईले भने, ‘तर शीर्ष नेताहरु गुटसहित वार्तामा बस्ने र गुटलाई देखाउन अडान राखेर बाहिरिने काम भइरहेको छ ।’ उनले शीर्ष नेतृत्वले विश्वास पात्रहरुलाई वार्तामा पठाएर अन्तिम सहमतिपछि मात्र शीर्षतहमा ‘देखिने’ वार्ता गर्नुपर्ने बताए ।

राजनीतिक भेटघाटका क्रममा आइतबार सभामुख सुवास नेम्बाङसँगको छलफल गर्न पुगेका भट्टराईले आफू संवाद समितिको सभापति नरहेको बताए । ‘म संवाद समितिको सभापति कहाँ रहे र ?’ उनले भने, ‘म त एउटा दलको नेताको हैसियतले सहमति खोज्ने प्रयास गरिरहेको छुँ ।’ भट्टराईले ११ गतेसम्मको सहमति गर्न दिएको अवधिलाई पनि १५ गतेसम्म सार्न नेम्बाङलाई सुझाव दिइएका छन् ।
एमाओवादी अध्यक्ष प्रचण्डले शनिबार सभामुखसँगको भेटमा सहमतिका लागि आधार बनिरहेको बताएका थिए ।

भट्टराईले सार्थक वार्ता हुन नसकेको तथा प्रधानमन्त्रीका विशवासपात्र नचिनिएको बताएपनि प्रधानमन्त्रीका तर्फबाट नरहरि आचार्य र महेश आचार्यले निरन्तर वार्ता गरिरहेका छन् । आजै केपी ओली निवास पुगेर वार्ता गरेका उनीहरुले साँझ सभामुखसँग समेत पुगेर वार्ताको प्रगतिका विषयमा ब्रिफिङ गरे ।

सत्ता समिकरणका विषयमा छलफल जारी रहेपनि एमाओवादी र सत्तासाझेदार एमालेका नेताले समेत कांग्रेसको महाधिवेसनका कारण संविधान जारी गर्ने मिति प्रभावित हुन लागेको आरोप लगाएका थिए ।

तर, कांग्रेस नेता रमेश लेखकले कांग्रेसले धेरैअघि देखि एमाओवादी र मधेसी दलहरुलाई सरकारमा आउन भनिरहेको बताए । उनले भने, ‘कम्तिमा पनि संविधान नबनुन्जेल सरकारमा आएर संविधान जारी गर्दा राम्रो सन्देश जान्छ ।’

लेखकले सत्ता समीकरणका विषयमा पनि खुलेर कुरा गर्न भनिरहेको बताए । कांग्रेस महाधिवेशनका विषयमा उठेका प्रश्नबारे लेखकले भने, ‘हामीले सत्ता समिकरणदेखि विवादित पाँच जिल्लाका विषयमा सबै विकल्प खुल्ला गरेका छौं, कांग्रेस महाधिवेशनको कारण संविधान प्रभावित भयो भन्ने आरोपले मात्र त हुँदैन, तर्क पनि दिन सक्नु पर्यो नी ।’


  •  
  •  
  •