पर्वत १९ साउन (ओएनएस) :
पहिरोले टावरमा क्षति पुर्याउँदा यहाँस्थित १० मेगावाट क्षमताको तल्लो मोदी–१ जलविद्युत आयोजनाको उत्पादन बन्द भएको छ। तीन दिनदेखिको अबिरल वर्षाले पहिरो गएपछि कुश्मा नगरपालिका–१२ चुवास्थित आयोजनाको उत्पादन शनिबार साँझदेखि पूर्ण रुपमा बन्द भएको हो।
आयोजनाको प्रसारण लाइनमा रहेको ३ नम्बर टावरको एउटा पिलर पहिरोले बगाएको छ। पिलर बगाएपछि टावरलाई दुई र चार नम्बर टावरमा टाँगिएको तारले अड्याएको छ। ‘टावरको एउटा पिलर पहिरोले लगेपछि ढलेर दुर्घटना हुन नपाओस् भनी उत्पादन बन्द गरेका हौं,’ आयोजनाका प्लान्ट म्यानेजर विपिन पौडेलले भने।
मोदीखोलाले कटान गर्दै गएपछि टावरछेउमा पहिरो गएको उनले बताए। टावरको पिलर मर्मत नगरी उत्पादन गर्न नसकिने आयोजनाले जनाएको छ। सुनकोसी नदीमा पहाड खसेर केही जलविद्युत आयोजनाको उत्पादन बन्द भएको बेला दुई वर्षअघि सञ्चालनमा आएको यसको उत्पादनसमेत बन्द भएको छ। ‘मर्मतको प्रयास थालेका छौं,’ पौडेलले भने, ‘केही दिनभित्रै सक्छौं।’ निजी क्षेत्रको युनाइटेड मोदी हाइड्रोपावर लिमिटेडले निर्माण गरेको यो आयोजनाबाट उत्पादित बिजुली चार किलोमिटर लामो प्रसारण लाइनमार्फत देउपुर गाविसको पातीचौरस्थित सब स्टेसनमा जोडिएको छ। प्रसारण लाइन मर्मत नभएसम्म उत्पादन बन्द हुने पौडेलले जानकारी दिए।