सार्क राष्ट्रको साझा समस्या गरिबी र पछौटेपन : प्रधानमन्त्री

214
  •  
  •  
  •  

काठमाडौँ, ४ चैत्र(ओएनएस) : दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन(सार्क)को ३७ औँ मन्त्रिस्तरिय बैठकको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका छन् ।

नेपालको राष्ट्रिय गान बजाएर सुरू भएको बैठक पोखराको ग्रान्ड होटलमा उद्घाटन मन्तव्य दिँदै सार्कका देशहरूको साझा समस्या गरिबी र पछौटेपन रहेको बताएका छन् । उनले गरिबी निवारणका लागि सार्कका देशहरूबिच आपसी सहयोग र सहकार्य आवश्यक रहेको भन्दै गरिबीलाई परास्त गर्ने क्षमता र स्रोत आफुहरूसँग भएको र यसका लागि आपसी समन्वय आवश्यक रहेको उल्लेख गरेका छन् ।

उनले सार्क राष्ट्रहरूबीच आपसी व्यापार प्रबर्द्धन गर्नुपर्नेमा जोड दिएका छन् । नेपालको नयाँ संविधान उदाहरणीय रहेको भन्दै उनले यसबाट लोकतन्त्र संस्थागत गर्न सघाउ पुग्ने बताए । उनले भुकम्पका बेलामा नेपाललाई सहयोग गरेकोमा सबै देशलाई आभार व्यक्त गरेका छन् ।
बैठकमा सार्कका महासचिव अर्जुनबहादुर थापाले मन्तव्य व्यक्त गर्दै सार्क मुलुकलाई एकताको सूत्रमा आवद्ध गर्न सार्क क्रियाशील रहेको बताएका छन् ।

३७ औं मन्त्रिस्तरिय बैठकको अध्यक्षता नेपालका उपप्रधान एवं परराष्ट्रमन्त्री थापाले गर्दै स्वागत मन्तव्य व्यक्त दिएका थिए । उनले जल, स्थल र वायु मार्गबाट सार्क राष्ट्रहरूलाई जोडेर व्यापार बिस्तारलगायत आर्थिक उन्नतिका कार्यक्रम सञ्चालन गरिनुपर्ने बताएका छन् ।

बुधबार सम्पन्न सार्क स्थायी समिति बैठकले निर्धारण गरेको कार्यसूची मन्त्रिस्तरिय बैठकमा प्रस्तुत गरिनेछ । उक्त कार्यसूचीमा सार्कले विगतमा गरेका निर्णयको कार्यान्वयन सदस्य राष्ट्रले स्वीकार गरेको तर, कार्यान्वयन नगरेका कार्यक्रम प्रभावकारी रुपमा लागू गर्नुपर्ने, निर्धारित समयमा नै सार्कका गतिविधि पूरा हुनुपर्नेलगायत छन् ।

बैठकमा उपप्रधान एवं परराष्ट्रमन्त्री कमल थापा, भारतका विदेशमन्त्री सुष्मा स्वराज, माल्दिभ्सका विदेशमन्त्री डुन्या मौमुन, श्रीलङ्काली विदेशमन्त्री मङ्गला समरावेरा, बङ्गलादेशका विदेशमन्त्री अबुल हसल मोहम्मद अली, भुटानका विदेशमन्त्री डामचो दोर्जी, अफगानिस्तानका उपविदेशमन्त्री हिक्मत खालिद कार्जाइ र पाकिस्तानका प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार सर्ताज अजिज सहभागी छन् ।


  •  
  •  
  •