स्याउले घटाउँछ जुम्लाको गरिबी

285
  •  
  •  
  •  

काठमाडौं, ६ बैशाख (ओएनएस) : स्याउले जुम्लाको गरिबी घटाउन महत्वपूर्ण भूमिका खेल्ने भएको छ । हरेक वर्ष स्याउका बगैंचा बिस्तार भैरहेको र उत्पादन पनि बढिरहेका कारण स्याउ जुम्लाका किसानको प्रमुख आम्दानीको श्रोत बन्दै गएको छ ।

कर्णाली राजमार्ग स्तरोन्नतीको काम अन्तिम चरणमा पुगेकोले पनि अबको वर्षमा जुम्लामा उत्पादित स्याउलाई बजार खोज्नु पर्ने बाध्यता आउँदैन । भोक, शोक, रोग, अभाव र गरिबीका कारणले चिनिएको जुम्लालाई अब स्याउका कारण चिनिने भएको छ ।

जिल्ला कृषि विकास कार्यालय जुम्लाका अनुसार अघिल्लो वर्ष जुम्लामा १६ करोड ५० लाख बराबरको स्याउ उत्पादन भएको थियो । अघिल्लो वर्ष ५ हजार ५ सय मेट्रिकटन स्याउ उत्पादन भएको बरिष्ठ कृषि विकास अधिकृत तेजनारायण गैरेले बताए ।

उनले भने, ‘जुम्लाको ७ सय हेक्टर क्षेत्रफलमा स्याउका फल्ने बिरुवा छन् । अघिल्लो वर्ष ५ हजार ५ सय मेट्रिकटन स्याउ उत्पादन भएको थियो । जसमध्ये ४ हजार एकसय मेट्रिकटन स्याउ जिल्ला बाहिर गएकोमा जुम्लाका किसानले १४ करोड ३५ लाख रुपैंयाँ बराबरको आम्दानी गरेका छन् । बजारको सहज पहुँच भएको भए किसानले पाउने रकम यो भन्दा बढी हुन्थ्यो ।’

जिल्लाको २ २ हजार २ सय हेक्टरभन्दा बढी क्षेत्रफलमा लगाइएका बिरुवाले उत्पादन दिन बाँकी छ । ७ सय हेक्टरबाट १४ करोड मुल्य बराबरको स्याउ उत्पादन हुँदा २ हजार २ सय हेक्टरमैं स्याउ फल्दा ५६ करोड बराबरको स्याउ फल्ने अनुमान गर्न सकिन्छ ।

हरेक वर्ष स्याउ बगैंचा बिस्तार भैरहेका छन् । किसानले यस पटक पनि एक लाख भन्दा बढी बिरुवा लगाएका छन् । जुम्लामा यस वर्ष स्याउका बिरुवा बिक्रीबाट मात्रै ४९ लाख ७७ हजार रुपैंयाँ भित्रिएको छ ।

जिल्ला बाहिर निर्यात भएको एक लाख ३८ हजार र कृषि कार्यालयलगायत सरकारी तथा गैरसरकारी निकायले वितरण गरेका ६० हजार सहित एकलाख ९८ हजार बिरुवा बिक्री भएका छन् । स्याउका बिरुवा औसतमा २५ रुपैंयाँका दरले बिक्री भएको बरिष्ठ कृषि विकास अधिकृत तेजनारायण गरुैलेले बताए ।

उनले भने, ‘कलमी प्रविधिबाट जुम्लामा उत्पादन भएका स्याउका बिरुवा पाँचवटै विकासक्षेत्रमा पुग्ने गरेका छन् । कर्णालीका ४ जिल्लामा मात्रै यस वर्ष ४० हजार बिरुवा निर्यात भएको छ । स्याउका बिरुवा पूर्वाञ्चलको सोलुखुम्बुदेखि सुदुरपश्चिमको दार्चुलासम्मका किसानले लाने गरेका छन् ।’

एकसय १० वटा फलफूल नर्सरीबाट जिल्लाभित्र र बाहिर गरी यस वर्ष एकलाख ९८ हजार स्याउका बिरुवा बिक्री भएका हुन् । स्याउको बिरुवा बिक्री गरेर एउटै किसानले ४ लाख रुपैंयाँसम्म आम्दानी गरेका छन् । चन्दननाथ नगरपालिका १३ का अमरबहादुर रावतले यस वर्ष २२ हजार बिरुवा बिक्री गरे । ३५ हजार बिरुवा उत्पादन गरेका रावतले ४ लाख रुपैंयाँ आम्दानी गरेको बताए ।

उनले भने, ‘सत्रखम्बा फलफूल नर्सरीबाट मैंले यस वर्ष ३५ हजार बिरुवा उत्पादन गरे.को थिएँ । २२ हजार बिरुवा बिक्री गर्दा मैंले ४ लाख कमाएँ । त्यसबाट सबै खर्च कटाउँदा डेढ लाख रुपैंयाँसम्म बचत भयो होला ।’ गुणस्तरीय बिरुवा उत्पादन गर्न सके वार्षिक लाखौं आम्दानी हुने उनको अनुभव छ ।

३ रोपनी क्षेत्रफलमा फैलिएको सत्रखम्बा फलफूल नर्सरीबाट हरेक वर्ष झण्डै ४० हजार स्याउका बिरुवा उत्पादन हुने गरेका छन् । सरकारले अघिल्लो वर्षदेखि स्याउ आत्मनिर्भर कार्यक्रम लागु गरेपछि कर्णालीका पाँचवटै जिल्लामा स्याउ बगैंचा बिस्तार भैरहेका छन् । स्याउ र बिरुवा उत्पादन जुम्लाका किसानको प्रमुख आम्दानीको श्रोत बन्दै गरेको बरिष्ठ कृषि विकास अधिकृत गैरेको भनाइ छ ।

‘फलफूल विकास निर्देशनालय मार्फत गएको आर्थिक वर्षबाट सुरु भएको स्याउ आत्मनिर्भर कार्यक्रमप्रति किसानको आकर्षण बढिरहेको छ । व्यबसायिक स्याउ खेतितर्फ किसानको चासो बढ्दो छ ।’ तेजनारायण गैरे भन्छन्, ‘एउटा बिरुवा रोपेर हुर्काए बापत किसानले प्रति बिरुवा ३ वर्षसम्म एक सय रुपैंयाँका दरले सरकारी अनुदान पाउँछन् । यस कार्यक्रम अन्तर्गत किसानलाई बिरुवामा पनि ५० प्रतिशत अनुदान दिने व्यबस्था छ ।’

कर्णाली राजमार्गको स्तरोन्नती भैरहेकोले अब बजारको समस्या नहुनेमा किसानहरु ढुक्क देखिन्छन् । स्याउ र बिरुवा बिक्रीबाट भएको आम्दानीले जुम्लासहित कर्णालीका नागरिकको जीवनस्तर सुधार हुने सम्भावना देखाएको छ ।


  •  
  •  
  •