काठमाडौं, ३० भदौ (ओएनएस) : एमाओवादी उपाध्यक्ष पोष्टबहादुर बोगटीको सोमबार उपचारका क्रममा निधन भएको छ। हृदयघातसँगै मस्तिष्कघात भई अस्पताल भर्ना भएका नेता बोगटीको आज बिहान नर्भिक अस्पतालमा निधन भएको हो ।
अस्प्तालले बिहान ७ बजेर २५ मिनेटमा निधन भएको घोषण गरेको हो । ६२ वर्षीय नेता बोगटीलाई गत बिहीबार राति हृदय घात भएपछि गंगलाल हृदय रोग केन्द्रमा लगिएको थियो । त्यहाँ पनि सफल उपचार हुन नसकेपछि नर्भिक अस्पताल ल्याइएको थियो । उपचारका लागि विदेश लैजाने तयारी भए पनि प्लेनमै निधन हुन सक्ने जोखिमका कारण चिकित्सहरुले विदेश नलैजान सुझाव दिएपछि उनलाई नर्भिकमै भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो ।
उनको शवलाई अन्तिम श्रद्धाञ्जलीको लागि ९ बजे पार्टी कार्यालय पेरिसडाँडामा राखेपछि र ११ बजे खुलामञ्चमा ल्याइएकाे छ ।
नुवाकोटको टुप्चे–२ मा जन्मेका बोगटी तत्कालिन विद्रोही नेकपा माओवादीले शसस्त्र युद्ध सुरु गरेपछि पार्टीको पश्चिम कमाण्डमा खटिएका थिए । उनले मध्य र सुदुरपश्चिममा रहेर माओवादी अभियान चलाएका थिए । बोगटी पार्टी भित्र शालिन र नैतिकवान नेताका रुपमा परिचित थिए । माओवादी सरकारमा आएपछि उनी ३ पटक मन्त्रीसमेत बने । उनी ऊर्जा, श्रम, तथा पर्यटनमन्त्री भएका थिए । पार्टीको विराटनगरमा भएको सांगठनिक राष्ट्रिय सम्मेलनपछि उनी उपाध्यक्ष भएका थिए ।