एमाओवादी उपाध्यक्ष बोगटीलाई विदेश लैजाने तयारी

86
  •  
  •  
  •  

काठमाडौं, २८ भदौ (ओएनएस) : एकीकृत नेकपा माआवादीका उपाध्यक्ष पोष्टबहादुर बोगटीलाई उपचारका लागि विदेश लैजाने तयारी भएको छ ।

विदेश लैजाने विषयमा अहिले एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र महासचिव कृष्णबहादुर महराले डाक्टरहरुको टोलीसँग नर्भिक अस्पतालमै छलफल गरिरहेका छन् ।

दिल्ली वा बैंकक लैजाने गरि हिजोदेखि नै तयारी भएको एमाओवादी प्रवक्ता दिनानाथ शर्माले जानकारी दिए । उनले भने,‘हिजोदेखि नै दिल्ली वा बैंकक लैजाने भन्ने विषयमा छलफल र तयारी भईरहेको छ त्यहाँका राजदुतहरुसँग पनि कुरा भईसकेको छ डाक्टरको सल्लाह आयो भने तुरुन्तै लैजान्छौं ।’

शुक्रबार राति हृदयघात भएपछि बोगटीलाई सुरुमा जनमैत्री अस्पताल र त्यसपछि गंगालाल हृदय रोग उपचार केन्द्रमा लगिएको थियो । मुटुका साथै बोगटीलाई मष्तिष्कमा असर देखिएपछि हिजो दिउँसो २ बजे थापाथलीमा रहेको नर्भिक अस्पतालमा ल्याईएको थियो । चिकित्सकले स्वास्थ्य अवस्था खतरामुक्त तर स्थिर रहेको जानकारी दिएको प्रवक्ता शर्माले जानकारी दिए ।


  •  
  •  
  •