काठमाडौं, २९ भदौ (ओएनएस) : हृदयघात भएका एकीकृत माओवादी उपाध्यक्ष पोष्टबहादुर बोगटीको स्वास्थ्य अवस्था थप गम्भिर भएको छ । हृदयघातसँगै मस्तिष्कघात भएपछि बोगटीको नर्भिक अस्पतालमा उपचार भईरहेको छ ।
आज बेलुकी बोगटीको मुटुको चाल र ब्लडप्रेसरमा भने केही सुधार आएको एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जानकारी दिएका छन् । बिहीबार राति घरमै वेहोस भएपछि बोगटीलाई गंगालाल हृदय रोग केन्द्र पुराईएको थियो । मष्तिष्कघात समेत भएको देखिएपछि बोगटीलाई शुक्रबार नर्भिक अस्पताल लगिएको थियो ।
‘मुटुको चाल र ब्लड प्रेसरमा केही सुधार, समग्रमा जटिल’
उपाध्यक्ष बोगटीको मुटुको चाल र ब्लड प्रेसरमा केही सुधार देखिएको एकीकृत माओवादीका अध्यक्ष प्रचण्डले जानकारी दिए । अस्पतालका डाक्टरसँग छलफल गरेपछि अस्पताल परिसरमै प्रचण्डले पत्रकारसँग भने,‘ विहान मुटुको चाल समेत विग्रको भनेपछि हामी निकै डराएका थियो तर अहिले मुटुको चाल र ब्लड प्रेसरमा केही सुधार भएको डाक्टरहरुले जानकारी दिएका छन् तर समग्रमा फेरी जटिल नै छ ।’ अस्पतालले बोगटीलाई कृतिम श्वासप्रश्वास दिईएको जनाएको छ ।
‘केवल परम्परागत तथा जीवनदायी आषधोपचार मात्रै उपयुक्त’
बोगटीलाई विदेश लैजाने तयारी भएको थियो । परिवारको आग्रहमा एकीकृत माओवादीले उपचारका लागि ‘जुनसुकै ठाँउमा लैजान’का लागि पहल गरेको थियो । एमाओवादीले भारत लैजानका लागि विशेष तयारी गरि मेदान्त अस्पतालमा ‘बुक’ समेत गरेको थियो ।
तर, डाक्टरकै सल्लाहमा रोकिएको थियो । अध्यक्ष प्रचण्डले भने,‘हामीले दिल्लीको मेदान्त अस्पतालमा लैजानका लागि बुक समेत गरिसकेका थियौं तर दिल्लीबाटै डाक्टरहरुले समय लाग्ने र अफ्ठेरो हुन सक्ने भनेपछि हामीले रोक्यौं ।’ स्वास्थ्य अवस्था जटिल भएपछि बोगटीलाई नर्भिक अस्पतालमै राखेर उपचार गर्ने निर्णय भएको थियो ।
अस्पतालले निकालेको विज्ञप्तिमा बोगटीको उपचारका लागि ‘केवल परम्परागत तथा जीवनदायी औषधोपचार मात्रै अपनाउनु उपयक्त हुने’ भनेको छ । यो निकै जटिल अवस्था हो । अस्पतालको विज्ञप्तिमा भनिएको छ,‘ हालको जटिल अवस्थालाई मध्येनजर गर्दै निजको पारिवारिक एवम् पार्टीगत सर–सल्लाह तथा उपचारमा संलग्न चिकित्सकहरुको राय अनुसार उनको जीवन रक्षाका लागि केवल परम्परागत तथा जीवनदायी औषधोपचार मात्र अपनाउनु उपयुक्त हुने बताईएको छ ।’
उपचारमा संलग्न डाक्टर को को ?
सुरुमा गंगालाल हृदय रोग केन्द्रमा नै उपचार गर्ने भनेपनि सिटी स्क्यान हुने अस्पतालमा राख्नु राम्रो हुने सल्लाह अनुसार नर्भिकमा ल्याईएको थियो । उपचारमा वरिष्ठ हृदयरोग विशेषज्ञ प्रा.डा. यादव देव भट्टको नेतृत्वमा रहेको चिकित्सक टोलीले बोगटीको उपचार गरिरहेको छ ।
टोलीका सदस्यमा अमेरीकी बोर्ड सर्टिफाईड स्नायुरोग विशेषज्ञ डा.पंकज जलान, वरिष्ठ श्वासप्रश्वास रोग विशेषज्ञ प्रा.डा. रमेश चोखानी छन् । त्यस्तै नर्भिक अस्पतालका वरिष्ठ हृदयरोग विशेषज्ञ तथा हृदयरोग विभागय प्रमुख डा. भारत रावत र वरिष्ठ स्नायु शल्यचिकित्सक डा. वसन्त पन्त र वरिष्ठ स्नायुरोग विशेष प्रा.डा. जगदीश अग्रवालले समेत बोगटीको स्वास्य अवस्था हेरिरहेका नर्भिक अस्पतालले निकालेको विज्ञप्तिमा उल्लेख छ ।
।