२०७२ मा प्राकृतिक प्रकोप तथा हवाई दुर्घटनाको सम्भावना

311
  •  
  •  
  •  

काठमाडौं, बैशाख १ (ओएनएस) : ज्योतिषीहरुले गर्ने भविष्यवाणीमा कसैले विश्वास गर्छन्, कसैले विश्वास गर्दैनन् । विश्वास गर्ने वा नगर्ने व्यक्तिगत कुरा हुन् । विश्वास नगर्नेले पनि के रहेछ भविष्यवाणी भनेर चासो चाहिँ राख्छन् ।

हरेक वर्ष पात्रो बनाउँदा ज्योतिषीहरुले वार्षिक, मासिक र दैनिक भविष्यवाणी गरेका हुन्छन् । आजदेखि विक्रम सम्बत २०७२ सुरु भएको छ । विक्रम सम्बत हिन्दु पञ्चाङ्गमा आधारित नेपाल तथा भारतको राष्ट्रिय पात्रो हो, जुन प्राचिन हिन्दु परम्परा र वैदिक समय अंकनमा आधारित छ ।

विक्रम सम्बतलाई सवक्रमादित्य राजाले चलाएको सम्बत भन्ने किंवदन्ती छ । ज्योतीषीय दृष्टिबाट २०७१ सालभन्दा २०७२ साल देशका लागि राम्रो हुने देखिएको पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । २०७१ सालमा चन्द्रमा राजा र मन्त्री दुवैको भूमिकामा रहेका कारण देश अस्थिरतामा रुमल्लिएको अध्यक्ष प्राध्यापक डाक्टर रामचन्द्र गौतमले बताए ।

२०७२ सालमा शनिग्रह राजाको भूमिकामा र मँगलग्रह मन्त्रीको भूमिकामा रहने हुनाले गएको वर्षभन्दा राम्रो हुने उनको भनाइ छ । २०७१ को तुलनामा धान, गहुँ, मकै, जौ लगायतका खाद्यान्नको उचित उत्पादन हुने ज्योतिषीहरु बताउँछन् ।

ज्योतिष पण्डित तोयनाथ पन्तद्वारा प्रकाशित पञ्चाङ्ग अनुसार २०७२ सालको वार्षिक फल यस्तो छ :
राजा शनिले मन्त्री मंगललाई खासै राम्रो नगर्ने मन्त्रीले भने राजालाई सामान्य भावना राख्ने प्रवृति होला । समाजमा केही उच्छृँखल गतिबिधि नहोला भन्ने छैन । राज्य सञ्चालनमा राजा र मन्त्रीबीच आपसी समन्वयको कमीले कतिपय राष्ट्रिय हितका विकास निर्माणकार्य अधुरै रहँदा आर्थिक सन्तुलन स्थिर हुन नसक्ला ।

आवश्यकता भन्दा अहमता प्रदर्शन गर्नाले राजनैतिक दल प्रति निराशा छाउलन । तर पनि समग्रमा सन्तोषजनक अवस्था आउला । लुच्चा, लफङ्गा, फटाहाको अग्रसरता घट्ने प्रवलता पनि नभएको होइन । चोरी, डकैती, लुटपाट, हत्या, बलात्कार जस्ता अशोभनीय घटनाहरु पूर्ण रुपमा नियन्त्रणमा नआउला ।

आशालाग्दा केही उद्योगधन्दा खुले पनि बेरोजगारी समस्याको समाधान भईहाल्ने स्थिति देखिंदैन । वैदेशिक सहयोगले कुनै उल्लेखनीय सफलता देखाउन नसक्ला । नयाँ कार्यक्रमको उद्घोष भए पनि पूर्णता भने आर्थिक अभावले सफल होला जस्तो लाग्दैन ।

आधुनिक प्रविधिको विकासले फड्को मार्न थाले पनि संक्रामक तथा प्राणघातक रोगव्याधको समाधानमा स्वास्थ्य विज्ञानको क्षेत्र त्यति सफल नहोलन । धार्मिक स्वतन्त्रताको अनुभूतिमा सबैको ध्यान केन्द्रित रहने प्रवृतिको विकास होला ।

व्यापारिक गतिविधि उच्च बिन्दुमा पुगे पनि ठूलो प्रतिफल भने हासिल हुन नसक्ला । कृषि कार्य, पशु पंक्षीपालन र जलचर प्राणीको कारोवारले जीवन यापनमा सहजता ल्याउला । जग्गाजमिन सम्बन्धिको कारोवारले आर्थिक सन्तुलन सुदृढ गराउला । धान, गहुँ, मकै, जौ आदि खाद्यान्नको उचित उत्पादन भए पनि बजार खुम्चिनाले मूल्य अनियन्त्रित बन्ने संकेत देखिन्छ ।

सुन चाँदी आदि धातु र हिरा, मोती, पन्ना, मणि माणिक्यादिको भाउमा पनि बढोत्तरी नै होला । तापक्रममा प्रतिकूलताले सबैतिर अशान्ति छाउला । बाढी पहिरोको समस्या नआउला भन्न सकिंदैन । भूक्षय, भूस्खलन, भूकम्प आदि दैवीक विपत्ति, स्थल तथा हवाई दुर्घटनाको सम्भावनालाई पनि नकार्न सकिंदैन ।

ज्ञान विज्ञानको क्षेत्र विस्तार भए पनि विद्यार्थी वर्ग नीति र नियममा बाँधिनसक्ने क्षमता घट्ला । कर्मचारी वर्गमा सम्मानका अभिलाशा जाग्ला । कला र साहित्यले समाजमा दर्पणको प्रयत्न गरे पनि त्यस क्षेत्रकाहरुको प्रगतिमा वाधा पर्ला । पत्रकारको सुरक्षामा खासै ध्यान नपुगे पनि आफ्नो पेशालाई मर्यादित बनाउने प्रयत्न गर्लान् ।

श्रमिक वर्गको सुख सुविधामा सम्बन्धित निकायबाट सद्भाव नपाउँदा खिन्नता छाउला । व्यापारी वर्गको उन्नतिमा व्यवधान नआउला भन्न सकिंदैन ।


  •  
  •  
  •