पुल भासियो महेन्द्र राजमार्ग अवरुद्ध

599
  •  
  •  
  •  

महोत्तरी, २९ साउन (ओएनएस) पूर्व–पश्चिम राजमार्ग अन्तर्गत महोत्तरी र धनुषा जिल्लाको सिमा नदी रातु खोलाको पुल गएराती भासिएको छ । पुल भासिएपछि यातायात पूर्ण रुपले अवरुद्ध भएको छ । तीन सय मिटर लामो पुलको ९ पिलर मध्ये एक पिलर भासिएको इलाका प्रहरी कार्यालय बर्दीबासले जनाएको छ ।

महोत्तरीको बर्दिबासपट्टि पुलको पहिलो पिलर नजिक भासिएको र रातीदेखि नै यातायातमा रोक लगाइएको बर्दिबास स्थित जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख तुलसीप्रसाद उप्रेतीले बताए । पुल भासिएपछि राती पौने १२ बजेबाट पूर्व–पश्चिम राजमार्गमा यातायात पूर्ण रुपले बन्द गरिएको ट्राफिक प्रमुख उप्रेतीले जानकारी दिए । ‘मोटरसाईकल सहित साना ठूला सबै खाले सवारी साधन आवत जावतमा रोक लगाइएको छ’ ट्राफिक प्रमुख उप्रेतीले भने, ‘खोलामा ठूलो बाढी आईरहेको र पुल समेत केही भासिएकाले यातायातमा रोक लगाएका हौं ।’

प्राविधिक टोली आएर अध्ययन गरेपछि मात्र यातायात सुचारु गर्नेबारे सोचिने ट्राफिक प्रमुख उप्रेतीले बताए । पुल भासिएपछि यातायात अवरुद्ध भएका कारण पूर्व–पश्चिम राजमार्गमा गुड्ने सयौ सवारी साधन रातु पुलको दुवैतिर लामबद्ध भएका छन् । वर्षौ पूरानो रहेको पुलकै तलपट्टि खोलाबाट ढुंगा गिटी क्रसर उद्योहरुले बालुवा गिटी उत्खनन् गर्दा उक्त पुल भासिएको अनुमान गरिएको छ । उक्त पुल नजिकै रातु खोलामै ढुंगा गिटी क्रसर उद्योग सञ्चालनरत रहेको छ । यता राजमार्ग अबरुद्ध भए पछि बैकल्पिक बाटोको रुपमा बर्दिबास जलेश्वर हुदै जनकपुरबाट ढल्केबरको रुट खोलिएको छ ।

22
गाडी रोकिएपछि भाँचिएको पुलमा पैदल यात्रा हेर्दै यात्रुहरु । तस्बिर ओएनएस

  •  
  •  
  •