काठमाडौंको प्रदुषणले निम्त्याउँदैछ भयावह

218
  •  
  •  
  •  

प्रमोद आचार्य
काठमाडौं, २२ जेठ (ओएनएस) : काठमाडौंको प्रदुषण तत्काल नियन्त्रण गर्न नसके यसले मानव स्वास्थ्यमा भयावह अवस्था सृजना हुने देखिएको छ । धुलोधुवाँका कारण मानिसहरुको मुटु, फोक्सो, आँखामा समस्या देखिएको छ, जुन क्रमिक रुपमा उकालो लाग्दैछ ।
छातिरोग विशेषज्ञसमेत रहेका पूर्वस्वास्थ्य सचिव दिर्घसिंह बमले काठमाडौंको सडक निर्माणकार्य तत्काल सम्पन्न नगर्दा अस्पतालहरुमा रुघाखोकी, टीभी, दम, आँखा र श्वासप्रश्वासको समस्या भएका विरामीहरु दिनप्रतिदिन बढिरहेको बताए ।
‘पहिलेको तुलनामा छाति, आँखा, श्वासप्रश्वासका विरामीहरु बढेका छन्’ बमले भने, ‘यसको कारण धुलोधुवाँ नै हो । तत्काल समाधान नखोजे अवस्था भयावह हुनेवाला छ ।’
प्रदुषण सुचकाङ्क–२०१४ का अनुसार प्रदुषणको हिसाबले काठमाडौं संसारकै चौँथो शहरमा पर्छ ।
उता केही दिन अघि सार्वजनिक ‘इन्भ्यारोमेन्टल पर्फमेन्स इन्डेक्स’को सूची अनुसार स्वच्छताको दृष्टिले १ सय ७८ देश मध्ये नेपाल १ सय ७७ औँ स्थानमा परेको थियो ।
उपत्यकाका तीन ठाउँमा गरिएको वायुको गुणस्तरीयता परीक्षणबाट काठमाडौंको हावा अशुद्ध रहेको देखिन्छ । परीक्षणअनुसार मच्छेगाउँमा मात्र हावाको गुणस्तर स्वास्थ्यअनुकल छ । भक्तपुर र पुतलीसडकमा गरिएको परीक्षणले भने हावा स्वास्थ्य प्रतिकुल देखाउँछ ।
हेर्नुहोस् फागुन महिनामा उपत्यकाका तीन ठाउँमा गरिएको हावाको गुणस्तरीयता परीक्षणको रिपोर्ट । 
हावाको गुणस्तरीयता परीक्षणको रिपोर्टमा पीएम (पार्टिकुलेट म्याटर)मा १२० भन्दा माथि पुगेकोलाई स्वास्थ्य प्रतिकुल मानिन्छ । 
काठमाडौंमा सडक भत्काउने क्रम तीव्र र बनाउने कार्य सुस्त गतिमा चलेकोले धुलोका कारण वायु थप प्रदुषित बनेको छ । यस्तै पुराना सवारीसाधन, इट्टाभट्टा र दिनहुँ घरबाट निस्कने फोहोरले वायु दुर्गन्धित बनाइरहेको छ । झन् लोडसेडिङको बेला चल्ने डिजेल जेनेरेटरहरुले अत्यधिक मात्रामा वायु प्रदुषण हुने गरेको छ ।
२५ लाख भन्दा बढी जनसंख्या रहेको काठमाडौंमा सरकारले धुलोधुवाँ र प्रदुषण रोकी स्वच्छ हावा बहने बनाउन कुनै कदम चालेको पाइँदैन ।
वातावरण विभागका महानिर्देशक डा. युवकध्वज जीसीले प्रदुषणले निम्त्याएको समस्या तत्काल समाधान गर्न कुनै कार्यक्रम तय नभएको बताए । उनले दिर्घकालिन कार्यक्रमहरु भने गरिने स्पष्ट पारे । ‘स्थिति भयावह छ, अहिल्यैको लागि त त्यस्तो कार्यक्रम बनेको छैन ।’ महानिर्देशक जीसीले भने, ‘तर दिर्घकालको लागि वातावरण प्रवद्र्धनात्मक तथा जनचेतनामुलक कार्यक्रम र प्रभावको अनुगमन गर्ने कार्यक्रमहरु तयार गर्दैछौँ ।’
बाटो भत्काउनुभन्दा पहिले धुलोधुवाँले स्वास्थ्यमा पार्ने असर, छिटो निर्माण कार्य सक्ने उपाय, उपयुक्त मौसम लगायतबारे भौतिक निर्माण, वातावरण, स्वास्थ्य मन्त्रालयसँग समन्वय नगर्दा यस्तो अवस्था आएको विज्ञहरु बताउँछन् ।
राष्ट्रिय स्वास्थ्य अनुसन्धान परिषद्का अनुसार हरेक वर्ष १६०० भन्दा बढी नागरिकको प्रदुषणको कारण ज्यान जाने गरेको छ ।
विश्व स्वास्थ्य संगठनको तथ्याङक अनुसार सन् २०१२ मा ७० लाख मानिसको प्रदुषित वायूको कारण ज्यान गएको थियो ।

  •  
  •  
  •