गर्मी बढ्यो राजनीतिक सभाको

38
  •  
  •  
  •  

काठमाडौं २१ भदौ ।
प्रमुख राजनीतिक दलबीच सर्वपक्षीय राजनीतिक सभा गर्ने सहमति भएपछि यसले के गर्छ भन्नेबारे चासो बढेको छ ।

संविधानसभा निर्वाचन बहिष्कार गरेको नेकपा-माओवादीलाई संविधान निर्माण प्रक्रियामा सहभागी गराउने उद्देश्यले सर्वपक्षीय राजनीतिक सभामा दलहरू सहमत भएका हुन् । उसले राजनीतिक सभा वा गोलमेच बैठक माग गर्दै आएको छ ।

संविधानको सहमति गर्ने मिति गुज्रँदै गएका बेला दलहरू राजनीतिक सभातर्फ लागेका छन् । त्यसको कार्यविधि बनाउन कार्यदल बनाइसकेका छन् । संविधानसभा बाहिर रहेको माओवादीलाई संविधान निर्माण प्रक्रियामा सहभागी गराउनु वान्छनीय देखेर दलहरू यता लागेका हुन् ।

तर त्यस्तो सभामा माओवादीलगायत संविधानसभा बाहिर रहेका अन्य शक्ति पनि सहभागी हुनुपर्ने हुन्छ । उनीहरूको सहमति र सुझावका आधारमा संविधानको अन्तरवस्तु तयार गर्ने मनस्थितिमा प्रमुख दल छन् । त्यसो गर्दा सबै शक्तिले स्वामित्व महसुस गर्छन् । ‘संविधान जारी हुँदै धेरैको स्वीकार्यता र स्वामित्व होस् भनेर राजनीतिक सभा गर्नुपर्ने हुन्छ,’ राजनीतिक विश्लेषक श्याम श्रेष्ठको भनाइ छ, ‘यस्तो सभामा भएको सहमतिले संविधान जारी भएपछि द्वन्द्व हुनबाट जोगाउँछ ।’

अन्तभरिम संविधान जारी भएपछि मधेसी जनअधिकार फोरमका अध्यक्ष उपेन्द्र यादवले जलाएका थिए । त्यसमा मधेसीले स्वामित्व ग्रहण नगरेका कारण मधेस आन्दोलन भएको स्मरण उनले गरे । ‘संविधानसभा बाहिर माओवादीलगायत धेरै राजनीतिक शक्ति छन्, संविधान निर्माण प्रक्रियामा उनीहरूको सहभागिता हुनु आवश्यक हुन्छ, राजनीतिक सम्मेलनमार्फत त्यो सम्भव छ,’ उनले भने ।

कांग्रेसको बुझाइ पनि त्यस्तै-त्यस्तै छ । ‘माओवादी चासोलाई बढीभन्दा बढी छलफल गरी निष्कर्षमा पुग्न यो सभा फलदायी हुन्छ भन्ने लागेको छ,’ कांग्रेस महामन्त्री कृष्णप्रसाद सिटौलाले भने, ‘संविधानसभामा नभएको माओवादी संविधान निर्माण होस् भन्ने पक्षमा देखिएको छ । त्यसकारण हामीले सभाको कार्यविधि बनाएर छिटोभन्दा छिटो निष्कर्षमा पुग्न चाहेका छौं ।’ राजनीतिक सभाको कार्यक्षेत्रले संविधानसभाको क्षेत्राधिकारलाई प्रतिकूल असर नगर्ने उनको भनाइ छ । ‘राजनीतिकसभाले संविधानसभाको कामलाई अझ सघाउ पुर्‍याउनेछ,’ थपे, ‘यसमा भएका सममति संविधानसभाभित्र प्रवेश हुनेछन् ।’

एमाले नेता सुरेन्द्र पाण्डे यसलाई सकारात्मक ठान्छन् । ‘संविधान निर्माण प्रक्रियामा माओवादीले पनि स्व्ाामित्व लिन खोज्नु सकारात्मक ठानेर हामी राजनीतिक सभामा सहमत भएका हौं,’ उनले भने, ‘उसल्ााई पनि आफ्नो स्व्ाामित्व छ भन्ने महसुस हुन्छ र सरकारले पनि सबैलाई समेट्न खोजिएको थियो भन्ने अनुभूति गर्न पाउँछ, त्यसैले यसको फाइदा दुवैलाई छ ।’ सभामा भएका निर्णयहरू संविधान सभाले स्वीकार्न पनि सक्ने उनले बताए ।

उनले दलभन्दा बाहिरका शक्तिका कुरा पनि सभामा सुन्न सकिने धारणा राखे । ‘यदि दलभन्दा बाहिरका समूहरू छन् भने तिनका कुरा सुन्न आपत्ति हुँदैन । पर्यवेक्षकका रूपमा राख्न सकिन्छ,’ उनले भने ।

राजनीतिक सभामा पहिले सबै दल र राजनीतिक शक्तिका धारणा केन्दि्रत हुने भएकाले सहमति खोज्न सहज हुने एमाओवादी महासचिव कृष्णबहादुर महराको बुझाइ छ । ‘राजनीतिक सम्मेलनमा सबै दलका धारणा केन्दि्रत हुन्छन्, यसले सहमतिका लागि सहज वातावरण बनाउँछ,’ राजनीतिक सभाको कार्यविधि बनाउन गठित कार्यदका सदस्य महराले भने, ‘सबैलाई संविधान बनाउनुपर्छ भन्ने महसुस भएको छ । संविधान जारी गर्ने उपायको खोजीका लागि सभा गर्न दलहरू सहमत भएका हुन् ।’ संविधानसभाभित्रका दलहरूका लागि राजनीतकि सभा संविधानसभाको सहयोगी हो भने त्यसबाहिरका दलहरूका लागि संक्रमणकाल व्यवस्थापन गर्ने थले हो । ‘मेरो विचारमा राजनीतिकसभा संविधानसभाको सहयोगी हो, विकल्प होइन,’ महराको भनाइ छ, ‘यसमा सहमति भयो भने संविधानसभाबाट संविधान जारी गर्नुपर्छ ।’
कान्तिपुरबाट


  •  
  •  
  •